चितवनमा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट पर्यटक घुमाउन गएका नेचर गाइडको मृत्यु भएको छ।
शनिबार बिहान ११:५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखाको आरुघाट गाउँपालिका-८, पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६, सौरहामा बस्दै आएका ३२ वर्षीय सुवास रेग्मीको मृत्यु भएको हो।
गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १:३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता श्रीराम भण्डारीले बताए। रेग्मीले सौरहाको जंगल वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए।
रेग्मी लाइसेन्सप्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको तिवारीले बताए।
“निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउने गाइडलाई आक्रमण गरेको घटना विरलै हुने गरेको छ,” तिवारीले भने, “नयाँ वर्षको दिन दुःखद घटना भयो।”
नेचर गाइड रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। -रासस