पर्यटनले परिवर्तन हुँदै कर्णालीको परिचय
रारा र शे-फोक्सुन्डोले चिनिंदै आएको कर्णालीमा प्रवर्द्धन हुन थालेका नयाँ गन्तव्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेका छन्।
कर्णाली भन्नासाथ रोग, भोक, अशिक्षा र गरीबी रहेको क्षेत्र बुझिन्छ। पछिल्लो समय भने कर्णालीको यो चिनारी बिस्तारै परिवर्तन हुन थालेको छ र पर्यटकीय गन्तव्यका रूपमा चर्चा हुने क्रम शुरू भएको छ। कर्णालीवासी पनि सम्भावनाको खानीका रूपमा चिनाउने कोशिशमा छन्।
हुन पनि कर्णाली प्राकृतिक सुन्दरतासँगै पर्यटनको प्रचुर सम्भावना भएको प्रदेश हो। पूर्वाधारको विकास हुन नसक्दा भने अधिकांश पर्यटकीय स्थल ओझेल परेका छन्। त्यसैले कतिपयले कर्णाली सुनलाई सिरानी हालेर नुनको खोजीमा हिंडिरहेको छ भन्ने गरेका छन्।
पर्यटनको विकासका लागि कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरे पनि सोचे अनुसार पर्यटक भित्र्याउन सकेन। अझै पनि कर्णाली प्रदेशको समग्र पर्यटकीय योजना बन्न सकेको छैन। कर्णालीको पर्यटनबारे अध्ययन गरिरहेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यापक ऐश्वर्य ढकाल पर्यटन प्रवर्द्धनका लागि सरकारी क्षेत्रबाट पहल हुनुपर्ने बताउँछन्।
कर्णालीमा पर्यटनको सम्भावना भए पनि प्रवर्द्धनमा समस्या रहेको उनको भनाइ छ। “पर्यटकलाई खानबस्नको समस्या छ। सूचना केन्द्र समेत छैन,” ढकाल भन्छन्, “कर्णालीमा कति पर्यटक आउँछन् भन्ने तथ्यांक पनि छैन।”
प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने उनको बुझाइ छ। यससँगै नयाँ पदमार्ग निर्माण, यातायातको सहज पहुँच पुर्याउनुपर्ने उनी बताउँछन्।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत निरज श्रेष्ठ पनि कर्णालीका पर्यटकीय गन्तव्यको प्रवर्द्धन हुन नसकेको स्विकार्छन्। त्यसैले प्रदेश सरकारले ‘घुमौं कर्णाली’ सँगै विभिन्न प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्न थालेको उनको भनाइ छ।
पर्यटन पूर्वाधार विकास नहुँदा कर्णाली ओझेल परेको पर्यटन व्यवसायी पनि बताउँछन्। त्यसैले रारा ताल र शे-फोक्सुन्डो बाहेक कर्णालीका पर्यटकीय गन्तव्यले पर्यटकलाई आकर्षित गर्न सकेका छैनन्।
कर्णालीका प्रमुख पर्यटकीय गन्तव्य
रारा ताल : कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य हो, मुगुको रारा ताल। बर्सेनि हजारौं पर्यटक रारा पुग्ने गरेका छन्। रारा पुग्ने पर्यटकले यसको सुन्दरताको वर्णन गर्दै गीत, कविता, गजल आदि लेख्ने गरेका छन्। २०२० चैत महीनामा रारा ताल पुगेका राजा महेन्द्रले पनि कविता लेखेका थिए। उनले यसलाई स्वर्गकी अप्सरा उपनाम दिएका थिए।
सफा, सुन्दर र निर्मल अनुहारमा गाढा नीलो आकृति लिएको रारामा वरिपरिका सल्ला, धूपीका रूखको मनमोहक दृश्य देख्न सकिन्छ। सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर टुक्रुक्क बसे जस्तो देखिने दृश्यले आगन्तुकलाई मन्त्रमुग्ध पार्छ। चराको चिरबिर आवाजले मोहित बनाउँछ।
समुद्री सतहदेखि दुई हजार ९७२ मिटरको उचाइमा रहेकोे रारा आन्तरिकसँगै बाह्य पर्यटकको पनि रोजाइमा पर्दै आएको छ। २०६४ सालमा यसलाई रामसार क्षेत्र घोषणा गरिएको थियो। पाँच किलोमिटर लामो, तीन किलोमिटर चौडा यो ताल १६७ मिटर गहिरो छ।
रारा तालसँगै रारा राष्ट्रिय निकुञ्ज पनि पर्यटकीय गन्तव्य हो। निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन्।
काँक्रेविहार : यो कर्णालीको ऐतिहासिक महत्त्व बोकेको गन्तव्य हो। काँक्रेविहारमा रहेका भग्नावशेषलाई पुरातत्त्व विभागबाट उत्खनन गराएर पुनर्निर्माण गरिएको छ। शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर राखिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
कर्णालीको प्रवेशद्वार सुर्खेतको वीरेन्द्रनगरबाट १० मिनेट गाडीमा हुइँकिएपछि काँक्रेविहार पुगिन्छ। यो तेह्रौं शताब्दीमा बनाइएको आकलन छ।
हिन्दू र बौद्ध धर्मावलम्बीले पूजाआजा गर्ने काँक्रेविहार धार्मिक सहिष्णुताको नमूनाका रूपमा पनि रहेको छ। यहाँ दुवै धर्मसँग सम्बन्धित मूर्ति पनि राखिएका छन्।
बुलबुले ताल : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित बुलबुले ताल पश्चिम नेपालकै चर्चित पर्यटकीय स्थल हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुलबुले ताल २४ बिघा क्षेत्रफलमा फैलिएको छ। जमीनमुनिबाट बुलबुल गर्दै निस्कने पानीलाई संकलन गरी बनाइएको ताल हो, बुलबुले। यहाँ १० वटा धाराबाट पानी बग्ने व्यवस्था गरिएको छ।
यसरी बगेर गएको पानीलाई अर्को भागमा जम्मा गरेर अर्को ठूलो ताल बनाइएको छ। तालको वरिपरि निर्माण गरिएको आकर्षक उद्यानले पर्यटकलाई आकर्षित गर्दै आएको छ। वीरेन्द्रनगर नगरपालिकाले यस तालमा डुंगा सञ्चालनको तयारी गरेको छ।
रङ बदलिने ताल : सल्यानको बनगाँड कुपिन्डे नगरपालिका-८ मा रहेको कुपिन्डे ताल रङ बदल्ने तालका रूपमा परिचित छ। याम अनुसार तालमा पानीको रङ नै बदलिने स्थानीय बासिन्दा बताउँछन्। जसले गर्दा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
ताललाई चारैतिरबाट पहाडले घेरेको छ। यहाँबाट चाखुरे र सिस्ने हिमाल अवलोकन गर्न सकिन्छ। करीब दुई किलोमिटर लामो, २५० मिटर चौडा र ५२ मिटर गहिराइ भएको तालमा डुंगा सयर गर्न सकिन्छ।
अग्लो झरना : कर्णालीको अर्को पर्यटकीय गन्तव्य कालीकोटको पचाल झरना हो। सदरमुकाम मान्माबाट गाडीमा करीब तीन घण्टाको यात्रा गरी चार घण्टा पैदलयात्रा गरेपछि भेटिन्छ, पचाल झरना । बाह्रै महीना निरन्तर पानी बगिरहने यस झरनाले आगन्तुकलाई मोहित बनाउँछ।
यो देशकै अग्लो झरनामा पर्छ। यसको उचाइ ३८१ मिटर छ। भौतिक पूर्वाधार निर्माण र यातायातको सहज पहुँच भएमा यो प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ।
शे-फोक्सुन्डो : डोल्पाको शे-फोक्सुन्डो ताल देशका प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ। उत्तरी डोप्लामा अवस्थित यो ताल रमणीय छ। यो ताल ४.८ किलोमिटर लामो, १.६ किलोमिटर चौडा र १४५ मिटर गहिरो छ।
यस तालमा पुग्न शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र भएर यात्रा गर्नुपर्छ। विशेष गरेर चैतदेखि जेठसम्म र भदौदेखि कात्तिकसम्म शे-फोक्सुन्डो घुम्ने उपयुक्त समय हो।
पञ्चकोशी ज्वाला : दैलेखको दुल्लु नगरपालिकास्थित पञ्चकोशी ज्वाला क्षेत्र पवित्र तीर्थस्थल मानिन्छ। यस क्षेत्रमा नित्य प्रज्वलित ज्वाला भएकाले ज्वाला तीर्थ पनि भनिन्छ। पानीमाथि आगोको ज्वाला भएकाले पनि आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्।
दुल्लु : दैलेखको दुल्लुमा नेपाली भाषाको पहिलो अभिलेख छ। शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र दैलेख आउने पर्यटकका लागि पहिलो रोजाइमा पर्छन्। दुल्लु क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्व बोकेको क्षेत्र पनि हो।
नेपाली भाषाको उत्पत्तिका हिसाबमा पनि दुल्लुको शिलालेख महत्त्वपूर्ण छ। यो सबैभन्दा पुरानो शिलालेख मानिन्छ। साथै, १४१४ सालमा पृथ्वी मल्लले बनाएको सात हात लामो कीर्तिस्तम्भ पनि यसै क्षेत्रमा छ।
राउटेदेखि कला-संस्कृतिसम्म
प्राकृतिक सुन्दरता मात्र होइन, हिमाली जनजीवन, कला-संस्कृति, वेशभूषाले यो क्षेत्र धनी छ। खसहरूका कुलदेवता मष्टोको उत्पत्ति पनि मानसरोवर क्षेत्र भएर कर्णाली हुँदै अन्यत्र फैलिएको विभिन्न खोज तथा अनुसन्धानले देखाएका छन्।
वीरेन्द्रनगर उपत्यकामै थारू संस्कृतिको अवलोकन गर्न सकिन्छ। थारू समुदायबाट सञ्चालित होमस्टे नयाँ गन्तव्य बन्न थालेका छन्।
त्यस्तै, लोपोन्मुख फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको जीवनपद्धति पनि अध्ययन तथा अनुसन्धान गर्नेहरूको रोजाइमा पर्न थालेको छ। राउटे समुदायको बसोबास कर्णालीमै छ।
डुलौं देश शृंखलाका थप सामग्री :