देउवाले बोलाए संसदीय दलको बैठक
सरकारले संघीय संसद्को अधिवेशन अन्त्यका लागि सिफारिश गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो। आइतबार बिहान ८ बजे संसदीय दलको बैठक बस्ने जनाइएको छ।
त्यसअघि देउवाले संसदीय दल कार्यसमितिको बैठक बोलाएका छन्। कार्यसमितिको बैठक बिहान ७ः३० बजे बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ।
गृहमन्त्री रवि लामिछाने र सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न कांग्रेसले संसदीय समिति गठन गर्न माग गर्दै आएको छ। यसका लागि कांग्रेसले संसद्मा विरोध जनाइरहेको छ।
कांग्रेसको विरोध छल्न सरकारले अधिवेशन अन्त्यका लागि सिफारिश गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले वैशाख २ गते राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको छ।