डढेलोमा घाइते भएका तीनै बालकको ज्यान गयो
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने सुँ सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका तीनै बालकको ज्यान गएको छ।
गत चैत २९ गते डढेलोमा परेका तीनै बालकको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए। जिल्ला अस्पताल, डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको चैत ३० मा मृत्यु भएको थियो।
दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको दाहालले बताए। उपचारका क्रममा काठमाडौंमा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको ज्यान गएको हो। एक बालकको गएराति र अर्काको आज बिहान मृत्यु भएको हो।
गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएको वेला उनीहरू डढेलोमा परी गम्भीर घाइते भएका थिए। उद्धार गरेर अस्पताल पुर्याए पनि बचाउन नसकिएको त्रिपुरासुन्दरी-४ का वडाध्यक्ष रञ्जित बुढाले बताए। डढेलोमा परेर एकै गाउँका तीन बालकको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।
डोल्पामै गत चैत २७ गते ठूलीभेरी नगरपालिका-४ स्थित मष्टा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा चार सैनिक घाइते भएका थिए। उनीहरूमध्ये तीन जनाको मृत्यु भएको थियो।