धार्मिक पर्यटकले पछ्याउने मधेशका १० गन्तव्य
नेपाल र भारतका धार्मिक पर्यटकको रोजाइमा पर्दै आएको मधेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई टिकाउन भने नयाँ योजना ल्याउन आवश्यक छ।
धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण मधेश प्रदेश आन्तरिक तथा बाह्य पर्यकटको रोजाइमा पर्दै आएको छ। विशेष गरेर भारतीय पर्यटक मधेशको भ्रमणमा आउने गरेका छन्। तर आन्तरिक तथा बाह्य पर्यटकलाई टिकाउन सकस छ।
मिथिला भोजपुरी र बज्जिका भाषाको क्षेत्र मधेश प्रदेशमा मठमन्दिर लगायत धार्मिक स्थलको बाहुल्य छ। घुमफिरमा आउने अधिकांश पर्यटकको धार्मिक भ्रमण हुने गरेको छ।
मधेशका आठै जिल्लामा धार्मिकस्थल छन्। जानकी, गढीमाई, कंकालिनी, छिन्नमस्ता भगवती, राजदेवी, सलहेश फूलबारी, लक्ष्मीनारायण, पारसनाथ मन्दिर प्रमुख आकर्षण हुन्। जानकी मन्दिर विश्वभरका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो। सबैभन्दा धेरै पर्यटक जानकी मन्दिरकै भ्रमणमा आउने गरेका छन्।
मधेशको पर्यटन विकासका लागि धार्मिक पर्यटनमै जोड दिनुपर्ने मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनीताकुमारी यादव बताउँछन्। पर्यटकलाई लामो समय टिकाउन नसकिएको बताउँदै मन्त्री यादव भन्छिन्, “मधेशका धार्मिक महत्त्व रहेका पर्यटकीय स्थानलाई विकास गरेर पर्यटकको सहज पहुँच र बसाइँको वातावरण निर्माणका लागि प्रयास गरिरहेका छौं।”
अन्य प्रदेशमा जस्तो प्राकृतिक रूपमै निर्मित पर्यटकीय गन्तव्य नभए पनि धार्मिक पर्यटनलाई नै मधेशले ‘क्यास’ गर्नुपर्ने उनको भनाइ छ। यसका लागि गुरुयोजना बनाएर अघि बढ्ने मन्त्री यादव बताउँछिन्।
मधेशका १० पर्यटकीय गन्तव्य
जलेश्वर शिव मन्दिर : महोत्तरीको सदरमुकाम जलेश्वरनाथस्थित प्राचीन शिव मन्दिर अर्को महत्त्वपूर्ण गन्तव्य हो। यो मन्दिर राजा जनकको समयदेखि नै अस्तित्वमा रहेको अभिलेख भेटिएका छन्। राम र सीताको विवाह हुँदा प्रयोग गरिएको माटो यही मन्दिरबाट लगिएको जनविश्वास छ।
मन्दिरमा रहेको एउटा ताम्रपत्रको शिलालेख अनुसार मन्दिरलाई व्यवस्थापन गर्न १८६९ सालमा राजा गीर्वाणयुद्धविक्रम शाहले २७५ बिघा जग्गा प्रदान गरेका थिए। नेपालसँगै भारतबाट पनि श्रद्धालु मन्दिरमा पुग्ने गरेका छन्।
सलहेश बगैंचा : सिरहाको लहान नजिकै रहेको सलहेश फूलबारी अर्को पर्यटकीय गन्तव्य हो। यहाँ हरेक वर्ष वैशाख १ मा ठूलो मेला लाग्ने गरेको छ। बगैंचामा सलहेश महाराज तथा मालिनीको मन्दिर छ। मन्दिरमा गरेको भाकल पूरा हुने जनविश्वास छ।
सलहेश अर्थात् राजा जयवर्द्धन सैलेश लोककल्याणकारी राजाका रूपमा प्रख्यात थिए। उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका नायकका रूपमा लिइन्छ। दुसाध र दनुवार समुदायले देवताका रूपमा पुज्छन्।
छिन्नमस्ता भगवती : सप्तरीको प्राचीन छिन्नमस्ता भगवतीको मन्दिर प्रख्यात शक्तिपीठ हो। राजविराज बजारबाट करीब १० किलोमिटर दक्षिणमा पर्ने यो मन्दिरमा वर्षभरि नै श्रद्धालुको घुइँचो लाग्छ। नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालु आउने गरेका छन्।
सन् १०९७ मा मुस्लिम शासकले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव ज्यान बचाएर पाटलीपुत्र (पटना) हुँदै मिथिला आइपुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरेको किंवदन्ती छ। उनै नान्यदेव वंशको पाँचौं पुस्तामा शक्रसिंह देव राजा भए। शक्रसिंह नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी पुगेका थिए।
त्यति वेला जंगलले ढाकिएको यस क्षेत्रमा भेटिएको भगवतीको प्रतिमालाई कुलदेवीका रूपमा स्थापना गरी आफ्नै नामबाट देवीको नाम शक्रेश्वरी राखेको पाइन्छ। शक्रेश्वरीको शिर नभएकाले बिस्तारै छिन्नमस्ता भन्न थालिएको पुजारी बताउँछन्।
जनकपुरधाम : जनकपुरधाम मधेशको प्रमुख पर्यटकीय गन्तव्य हो, विशेष गरेर जानकी मन्दिर। भारतको लोहागढका सन्त शुरकिशोर दासले १५औं शताब्दीमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएको भनाइ छ। यो मन्दिर सन् १९११ मा भारतको टिकमगढकी राजकुमारी वृषभानुद्वारा निर्माण गरिएको हो।
त्यति वेला मन्दिर निर्माण गर्दा नौ लाख रुपैयाँ खर्च भएको संस्कृतिविद्हरू सुनाउँछन्। त्यसैले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ।
मंगलबाबा मन्दिर : हिन्दू र मुस्लिम समुदायकाले पूजा गर्ने मन्दिर हो, मंगलबाबा मन्दिर। सर्लाहीको सदरमुकाम मलंगवा पनि मंगलबाबाको नामबाट रहन गएको पाइन्छ। मलंगवामा रहेको यस मन्दिरमा हिन्दू र मुस्लिम सुमदायले पूजा गर्ने भएकाले धार्मिक सद्भावका रूपमा पनि हेर्ने गरिएको छ।
सर्लाहीमा शितलामाई, शिव, सन्तोनगोपाल मन्दिर लगायत धार्मिकस्थलसँगै प्राकृतिक स्थल पनि प्रख्यात छन्। भरत ताल प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको छ। बागमती नगरपालिका वडा नं. ४ र १२ मा रहेको यो ताल १२१ बिघामा फैलिएको छ। बोटिङ गर्न र पिकनिकका लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।
सिम्रौनगढ : बारा सदरमुकाम कलैयाबाट करीब २२ किलोमिटरको दूरीमा रहेको सिम्रौनगढ देशका प्रख्यात ऐतिहासिक स्थल हो। यो मिथिला क्षेत्रको राजधानी पनि हो। सिम्रौनगढमा ऐतिहासिक मन्दिर र दरबारका अवशेष छन्।
गढीमाई मन्दिर : बाराकै अर्को महत्त्वपूर्ण स्थल हो, गढीमाई मन्दिर। गढीमाई नगरपालिका-१ स्थित यो मन्दिर संसारभरका हिन्दूमाझ परिचित छ। यस मन्दिरमा पाँच वर्षमा एक पटक मंसीर शुक्ल सप्तमीदेखि महीनादिन मेला लाग्छ। यस मन्दिरमा दिइने बलिले पनि संसारभर परिचित छ। नेपाल र भारतसँगै अन्य देशबाट पनि श्रद्धालु आउने गरेका छन्।
राजदेवी मन्दिर : राजदेवी मन्दिर रौतहटको प्रख्यात धार्मिक स्थल हो। कटहरवनास्थित मन्दिर बाढीले भत्किएपछि २०४० सालमा प्यागोडा शैलीमा नवनिर्माण गरिएको छ। तीनतले मन्दिरमा देवीको प्रतीकका रूपमा चार फुट अग्लो घुँडाको आकारको शिला छ जसलाई चाँदीले बेरिएको छ। त्यसैलाई राजदेवी मानेर पूजाआजा गरिन्छ।
चाँदीले नै बेरेका अन्य शिलालाई बगलामुखी र गुह्येश्वरी पनि भनिन्छ। यस मन्दिरभित्र चामुण्डा भगवती र भीमसेनका शिला पनि छन्। जसको दर्शनका लागि टाढा टाढाबाट श्रद्धालु आउने गर्छन्।
पारसनाथ मन्दिर : देशको आर्थिक नगरीका रूपमा प्रख्यात वीरगन्ज छेउकै सखुवाप्रसौनी गाउँपालिका-५ स्थित पारसनाथ मन्दिर मधेशको अर्को धार्मिक गन्तव्य हो। यही मन्दिरका नामबाट पर्सा जिल्लाको नामकरण भएको हो। यस मन्दिरमा पनि नेपाल र भारतका श्रद्धालु आउने गरेका छन्।
पर्सा राष्ट्रिय निकुञ्ज : पर्सा, मकवानपुर र बारा जिल्लामा रहेको पर्सा राष्ट्रिय निकुञ्ज मधेशको प्रमुख गन्तव्यमध्ये पर्छ। वीरगन्ज नजिकैको यो संरक्षित क्षेत्रमा बाघ, हात्ती र चराचुरुंगीका लागि प्रख्यात छ। निकुञ्ज मुख्यालयबाट गरिने जंगल सफारीमा नजिकबाट वन्यजन्तु अवलोकन गर्न सकिन्छ।
डुलौं देश शृंखलाका थप सामग्री :