नेपथ्यसँगै ‘कोशीको पानीमा’ झुम्यो बिर्तामोड
लोक-रक ब्यान्ड नेपथ्यले पूर्वी नेपालबाट नयाँ वर्षको शुरूआत गरेको छ।
बिर्तामोडको डोमालाल रंगशालामा गएराति आयोजित कन्सर्टमा संगीतप्रेमी झुमेका छन्। नेपथ्यले पूर्वी भेगबाटै संकलित ‘कोशीको पानी यो जिन्दगानी’ बाट कन्सर्टको थालनी गरेको थियो।
त्यस्तै, ‘भेडाको ऊन जस्तो’ र ‘छेक्यो छेक्यो’ सुनाएपछि नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले दर्शकसँग संवाद शुरू गरेका थिए। “बिर्तामोडको यो मञ्चबाट संसारभर फैलिएका नेपालीलाई नयाँ वर्ष २०८१ को शुभकामना दिन चाहन्छु,” गुरुङले दर्शकतर्फ हात फैलाउँदै भने।
त्यसपछि गायक गुरुङले ब्यान्डको पहिलो रेकर्ड गरिएको गीत ‘आँगनैभरि’ सुनाएका थिए। त्यसलाई ‘लामपाते सुरती’ र ‘चरी मर्यो’ गीतले निरन्तरता दिए।
उनले हालै मात्र रेकर्ड गरिएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ गीत गाए। कन्सर्टमा पूर्वदेखि पश्चिमसम्म पैदलयात्रा गर्दै संकलन गरेका गीत प्रस्तुत गरे। उनले कार्यक्रमको अन्त्य भने सधैं जस्तै नेपाली राष्ट्रिय झन्डाको महिमागान ‘रातो र चन्द्रसूर्जे’ बाट गरेका थिए।
कन्सर्टमा गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र कीबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।