हट्यो माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा
काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म लगाइएको निषेधाज्ञा शनिबारदेखि हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौंको आजको सिफारिश अनुसार माइतीघर मण्डलदेखि बानेश्वरसम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित गरिन्छ।”
यसअघि काठमाडौंका विभिन्न स्थानमा दुई महीनासम्मका लागि भेला, जुलूस, प्रदर्शन, धर्ना, घेराउ, अनशन जस्ता विरोधका कार्यक्रम नगर्न आदेश जारी गरिएको थियो। त्यसलाई लम्ब्याउँदै लगिएको थियो। यस विरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ।
यस्तै, गृह मन्त्रालयले सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्ष्यित आक्रमण गर्ने प्रवृत्ति विरुद्ध सरकारले कडा नीति लिने जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी विभिन्न मुद्दा र मागमा हुने आन्दोलनका क्रममा उच्छृंखल गतिविधि गरी सार्वजनिक सम्पत्ति तोडफोड र सुरक्षाकर्मी लक्ष्यित आक्रमण गर्ने प्रवृत्ति विरुद्ध सरकारले कडा नीति लिने चेतावनी दिएको हो।
नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने र तोकिएका निषेधित क्षेत्र कम गर्ने कार्य भइरहेको समेत जनाएको छ। मुलुकी देवानी संहिता, २०७४ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जरिवाना सहितको कारबाही हुने मन्त्रालयले जनाएको छ।