सकारात्मक काम गर्नेहरूलाई समाजले मृत्युपछि पनि सम्झिरहन्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सकारात्मक काम गरेर जानेहरूलाई मृत्युपछि पनि समाजले सम्झिरहने बताएकी छन्।
शिक्षक दुर्गा दाहालको ७२औं जन्मजयन्तीको अवसरमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति, धनकुटाले काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यसका लागि आधारभूत तहकै शिक्षा राम्रो बनाउनुपर्ने बताइन्। “हाम्रो शिक्षा गुणस्तरीय छैन, पाठ्यक्रम गुणस्तरीय छैनन्,” मन्त्री चौधरीले भनिन्, “आधारभूत शिक्षा आधारभूत विद्यार्थीले सिक्ने ‘चाइल्ड सेन्ट्रिक मेथोडोलोजी’ हो कि ‘टिचर सेन्ट्रिक’ हो, त्यसमा हामीले ध्यान दिन आवश्यक छ।”
युनिसेफ मार्फत ‘चाइल्ड सेन्ट्रिक मेथोडोलोजी’ का सन्दर्भमा केही समय काम गरेको स्मरण गर्दै उनले आधारभूत विद्यालयमा पढाइने सामग्री कमजोर रहेको उल्लेख गरिन्। विद्यालयको सुधार गर्नैपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
स्मृतिसँग आफ्नो पनि व्यक्तिगत भावना जोडिएको उल्लेख गर्दै मन्त्री चौधरीले ‘इनोभेटिभ’ क्षेत्रमा काम गर्नेहरूलाई सम्मान गर्ने परिपाटी बसाल्नुपर्ने बताइन्। आफ्ना स्वर्गीय पति दिनेश चौधरीको स्मृतिमा प्रतिष्ठान स्थापना गरी सामाजिक क्षेत्र, दिनेश स्मृति पोलिटेक्निकल र आधारभूत सामुदायिक विद्यालय मार्फत शिक्षा क्षेत्रमा काम गरिरहेको मन्त्री चौधरीले बताइन्। उनले भनिन् “सकारात्मक काम छाडेर जानेहरूलाई समाजले मृत्युपछि पनि सम्झिरहन्छ।”
एउटा मान्छेको भिजनले धेरै काम गर्ने बताउँदै मन्त्री चौधरीले भनिन्, “म समाज कल्याण परिषद्मा काम गर्थें। तर दिनेशजीले तिमीले यो काम गरेमा भविष्यमा सचिवसम्म पुगौली, तर गाउँ फर्कियौ भने भगवती चौधरी र दिनेश चौधरी जस्ता हजारौं व्यक्तिको उत्पादन गर्न सक्छ्यौ भन्नुहुन्थ्यो। त्यसैले जागीरबाट राजीनामा दिएर गाउँ फर्किएँ र आज कैयौंलाई रोजगारी दिन सक्षम भएकी छु।”
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको विभागीय प्रमुख डा. डम्बर चेम्जोङलाई सम्मान गरिएको छ। सम्मान ग्रहणपछि बोल्दै चेम्जोङले धनकुटाको सामान्य गाउँमा पढेर आएको व्यक्तिले अमेरिकाबाट विद्यावारिधि र नर्वेबाट एमफिल गर्न पाउनु निकै ठूलो उपलब्धि भएको उल्लेख गर्दै सबैले यस्तै अवसर पाउने वातावरण सिर्जना गर्नुपर्ने बताए।
जागीरपछिको जीवन आफ्नै गाउँमा गएर आधारभूत तहको शिक्षामा लगानी गर्ने प्रतिबद्धता उनले जनाए। उनले दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिलाई ५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्।
स्वर्गीय दाहाल धनकुटामा शिक्षक आन्दोलन तथा सहकारी अभियानका अगुवा थिए।