लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्।
प्रदेश सभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ सांसदले मत दिए।
उनलाई नेकपा (एमाले)का २९, नेकपा (माओवादी केन्द्र)का १०, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टी (जसपा)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र स्वतन्त्र सांसद खड्क बस्नेतले मत दिएका हुन्।
त्यस्तै, उनको विश्वासको मतको विपक्षमा २८ मत पर्यो। नेपाली कांग्रेस र जनमत पार्टीका सांसदले विपक्षमा मतदान गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भने तटस्थ बसे।
उनी चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए। नयाँ गठबन्धन बनेपछि कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।