लुम्बिनी प्रदेशलाई चिनाउने १४ पर्यटकीय स्थल
सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको धनी लुम्बिनी प्रदेशलाई प्राकृतिक र धार्मिक गन्तव्यले पनि परिचित गराएका छन्।
लुम्बिनी प्रदेश धार्मिक, सांस्कृतिक, ऐतिहासिकसँगै प्राकृतिक सम्पदाले पनि भरिपूर्ण छ। तराईको बुद्ध जन्मस्थल लुम्बिनीदेखि धौलागिरि हिमशृंखलाको पुथा हिमाल यही प्रदेशमा पर्छ।
यो प्रदेश संस्कृतिका हिसाबले पनि धनी छ। यहाँ छुट्टै मौलिक वेशभूषा, कला, संस्कृति, रहनसहन भएका समुदायको बसोबास छ।
धार्मिक तथा ऐतिहासिक स्थल पनि यो प्रदेशका सम्पत्ति हुन्, जहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।
लुम्बिनीका १४ पर्यटकीय गन्तव्य
बुद्ध जन्मस्थल लुम्बिनी : रुपन्देहीमा अवस्थित बुद्धको जन्मस्थल लुम्बिनी विश्वसम्पदा सूचीमा सूचीकृत छ। बौद्ध धर्मावलम्बीसँगै हिन्दू धर्मावलम्बीले पनि लुम्बिनीलाई पवित्रस्थलका रूपमा लिने गरेका छन्।
माया देवी मन्दिर। तस्वीर: सग्लो समाज
लुम्बिनीमा विभिन्न देशका कला, संस्कृति झल्कने गुम्बा पनि निर्माण गरिएका छन्। मायादेवी मन्दिर लुम्बिनीको अर्को आकर्षण हो। दैनिक सयौं पर्यटक लुम्बिनी क्षेत्रको भ्रमणमा आउने गरेका छन्।
तिलौराकोट : कपिलवस्तुको तिलौराकोट अर्को धार्मिक तथा सांस्कृतिक महत्त्वको पर्यटकीय स्थल हो। सदरमुकाम तौलिहवाबाट तीन किलोमिटर उत्तरमा पर्ने तिलौराकोटमा गौतम बुद्धले २९ वर्ष बिताएका थिए। यहाँ ऐतिहासिक दरबारका भग्नावशेष छन्। तिलौराकोटलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ।
कपिलवस्तुको तिलौराकोट।
जगदीशपुर ताल : कपिलवस्तुकै अर्को पर्यटकीय गन्तव्य जगदीशपुर ताल हो। मानवनिर्मित जगदीशपुर ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
यो १२८ प्रजातिका चराचुरुंगी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरको वासस्थान पनि हो। विश्वसम्पदा सूचीमा सूचीकृत तालमा हिउँदमा साइबेरिया, रूस, चीन, मंगोलिया तथा मध्यएशियाबाट समेत चरा आउने गरेका छन्।
जगदीशपुर जलाशय। तस्वीर : द ट्राभलर डुअ
रानीमहल : लुम्बिनी प्रदेशको ऐतिहासिक पर्यटकीय गन्तव्य हो, पाल्पाको रानीमहल। कालीगण्डकी नदीको उत्तरतिर विशाल चट्टानमाथि पश्चिमी कला शैलीमा निर्माण गरिएको छ।
जनरल खड्गशमशेर राणाले पत्नी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका हुन्। १९५० सालमा शिलान्यास भएको रानीमहल निर्माण गर्न चार वर्ष लागेको अभिलेख छ। पाखा तथा छहराको बीचमा रहेको रानीमहल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ।
रानीमहल।
रेसुंगा क्षेत्र : गुल्मीको रेसुंगा क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको छ। सदरमुकाम तम्घासदेखि ६ किलोमिटर टाढाको रेसुंगाबाट हिमशृंखलासँगै तराईको समथर भूभाग पनि अवलोकन गर्न सकिन्छ। विशेष गरेर धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखलाका रोमाञ्चक दृश्यावलीको मजा लिन पाइन्छ। यस क्षेत्रमा गणेश, शिव, विष्णु, सिद्धबाबाको मन्दिर स्थापना गरेपछि धार्मिक पर्यटन पनि प्रवर्द्धन भएको छ।
सुपादेउराली : अर्घाखाँचीको सुपादेउराली मन्दिर धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण छ। सदरमुकाम सन्धिखर्कबाट ४७ किलोमिटर दक्षिणमा पर्ने सुपादेउराली बाइसे-चौबीसे राज्यका वेला खाँचीकोटका राजाले बनाएको उल्लेख छ। यहाँ पुगेपछि मनोकामना पूरा हुने जनविश्वास छ।
सुपादेउराली मन्दिर।
स्वर्गद्वारी मन्दिर : धार्मिक पर्यटनका लागि अर्को प्रमुख गन्तव्य हो, प्यूठानको स्वर्गद्वारी मन्दिर। यो नेपालका प्राचीन मन्दिरमध्ये एक मानिन्छ। पौराणिक कालमा पाण्डव स्वर्ग जाँदा त्यही बाटो भएर गएको किंवदन्ती छ।
ब्रह्मा र ऋषिले तपस्या गरेको यस पुण्यभूमिका अग्निखण्ड, गुफा, महाप्रभु, गाईको दर्शन गर्नाले रोगव्याधि नलाग्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ। विशेषगरी वैशाख पूर्णिमा, उँभौली पर्व तथा बुद्धजयन्तीमा मेला लाग्ने गर्छ।
स्वर्गद्वारी मन्दिर। तस्वीर: उर्मिला गम्वा थारू/हिमालखबर
जलजला : रोल्पाको थवाङस्थित जलजला क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हो। समुद्री सतहदेखि तीन हजार ५७६ मिटर उचाइमा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। धार्मिक हिसाबले पनि जलजला परिचित छ।
पुथा र सिस्ने : पूर्वी रुकुममा रहेका पुथा र सिस्ने हिमाल लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन्। सात हजार २४६ मिटर उचाइको पुथा र पाँच हजार ८४९ मिटरको सिस्ने आरोहणका लागि आन्तरिकसँगै बाह्य पर्यटक पनि आउने गरेका छन्।
पुथा हिमाल।
बाँके राष्ट्रिय निकुञ्ज : पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको बाँके राष्ट्रिय निकुञ्ज ५५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। बाघको वासस्थानका रूपमा परिचित निकुञ्जमा विभिन्न प्रजातिका वन्यजन्तु, चराचुरुंगीको पनि अवलोकन गर्न सकिन्छ।
गाभर उपत्यका : बाँकेकै गाभर उपत्यका अर्को पर्यटकीय गन्तव्य हो। विशेषगरी होमस्टेले गाभर उपत्यकालाई परिचित बनाएको छ। होमस्टेमा पाइने अर्गानिक तथा रैथाने खानपिन र मौलिक कला, संस्कृतिले पर्यटकलाई आकर्षित गर्दै आएको छ।
गाभर भ्याली। तस्वीर: ठाकुर पौडेल
बर्दिया राष्ट्रिय निकुञ्ज : देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ, बर्दिया राष्ट्रिय निकुञ्ज। साढे पाँच दशकअघि शाही शिकार आरक्षका रूपमा स्थापना गरिएको संरक्षित क्षेत्रलाई पछि राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो। यहाँ बाघ, गैंडा, हात्ती, घडियाल, डल्फिन लगायत जीवजन्तु संरक्षित छन्।
बर्दिया राष्ट्रिय निकुञ्जमा देखिएको बाघ।
डल्ला होमस्टे : बर्दियाको डल्ला होमस्टे देशभरि नै परिचित छ। त्यसैले आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा पनि पर्दै आएको छ। संरक्षणका लागि नमूना बनेको डल्ला होमस्टेमा बेलायती राजकुमार ह्यारी पनि पुगेका थिए।
डुलौं देश शृंखलाका थप सामग्री :