सिंहदरबारमा दाहाल र ओलीबीच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार भएको भेटवार्तामा मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। यससँगै संघीय संसद्को अधिवेशन लगायत विषयमा छलफल भएको छ।
प्रधानमन्त्री दाहालसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधि सभाको बैठक चल्न नसकेको बताए। सरकारले बिजनेश नै नदिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो कि भन्ने प्रश्नमा ओलीले भने, “कांग्रेसले चल्न नदिएर हो।”
गृहमन्त्री रवि लामिछाने र सहकारीमा भएको हिनामिनाको विषयमा छानबिनका लागि संसदीय समिति गठनको माग गरी कांग्रेसले संसद्मा विरोध जनाउँदै आएको छ। सत्ता गठबन्धन भने संसदीय समिति नबनाउने पक्षमा छ।