विश्वासको मत लिंदै लुम्बिनीका मुख्यमन्त्री, केन्द्रको निर्णय कुर्दै एकीकृत समाजवादी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिंदै छन्।
आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा महराले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनले जानकारी दिए। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र एक स्वतन्त्र सहित ४८ सांसदको समर्थनमा महरा गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री महराले हिमालखबरसँगको कुराकानीमा आफूलाई मुख्यमन्त्रीमा समर्थन गरेका दलहरूसँग भएको छलफल र सहमति अनुसार विश्वासको मत लिन लागेको बताए। विश्वासको मतपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको पनि उनले बताए।
यद्यपि एकीकृत समाजवादीले सत्तारूढ दलहरूबीच भएको सहमति कार्यान्वयन नहुँदासम्म महरालाई विश्वासको मत नदिने बताएको छ। पार्टीका लुम्बिनी प्रदेश कार्यालय सचिव सुदन खनालले सरकार गठन हुनुअघि सत्तारूढ दलहरूबीच भएको सहमति कार्यान्वयन नभएको हुँदा अहिलेको अवस्थामा महरालाई विश्वासको मत नदिने बताए।
“सरकार गठन हुँदा विश्वासको मत दिनु अगाडि नै नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने सहमति भएको थियो,” खनालले भने, “तर सरकारमा सहभागी नगराउँदै अहिले नै विश्वासको मत लिन लागेको हुँदा हाम्रो पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।”
आज ११ बजे बस्ने पार्टीका केन्द्रीय नेताहरूको बैठकले विश्वासको मत दिने/नदिनेबारे टुंगो लगाउने पनि उनले बताए।
केन्द्रबाट निर्णय नआएको खण्डमा विश्वासको मतका लागि पहिलो शर्त मन्त्री नियुक्त गरिनु नै रहेको उनले बताए। “नत्र प्रतिपक्षमा बस्न तयार छौं,” खनालले भने। उनका अनुसार एकीकृत समाजवादीलाई सामाजिक विकास मन्त्रालय दिने लिखित सहमति भएको थियो।
लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीका एक जना सांसद छन्। रुपन्देहीकी भगवती अधिकारी समाजवादीकी समानुपातिक प्रदेश सभा सदस्य हुन्।
अधिकारीले पनि केन्द्रबाट कुनै निर्देशन नआएकाले हालको अवस्थामा मुख्यमन्त्री महरालाई विश्वासको मत दिन नसकिने बताइन्।
सरकार गठनपूर्व बहुमत पुर्याउन आफूलाई सामाजिक विकासमन्त्री बनाउने लिखित सहमति भए पनि नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेपछि आफ्नो पार्टीलाई मुख्यमन्त्री महराले वास्ता नगरेको उनको गुनासो छ।
यता, मुख्यमन्त्री महराले सरकारलाई समर्थन गरेका सबै दललाई समेटेर अगाडि बढ्न तयार भएको बताएका छन्। “केन्द्रमा बनेको समीकरण अनुसार प्रदेशमा पनि सोही दलहरूको समर्थनमा लुम्बिनी प्रदेशमा मेरो नेतृत्वमा सरकार गठन भएको छ,” मुख्यमन्त्री महराले भने, “प्रदेश सरकार गठन गर्नु अगाडि सत्तारूढ दलहरूको बीचमा जे सहमति भएको छ, त्यो कार्यान्वयन हुन्छ, सबै दलको प्रतिनिधित्व हुने गरी सरकारमा सहभागी गराउँछौं पनि।”
प्रदेशको समीकरण अनुसार हाल एकीकृत समाजवादीले विश्वासको मत नदिए पनि महरालाई खासै फरक पर्दैन। ८७ सांसद रहेको लुम्बिनी प्रदेश सभामा सरकार गठनका लागि ४४ जना सांसदको आवश्यकता पर्छ। हाल महरालाई एकीकृत समाजवादीको एक सहित ४८ सांसदको समर्थन छ।
यस्तै, स्रोतका अनुसार मुख्यमन्त्री महरा सबै दललाई भाग पुर्याउनकै लागि १० मन्त्रालयलाई फुटाएर १२ बनाउने तयारीमा छन्। एमालेलाई चार, माओवादीलाई मुख्यमन्त्री सहित तीन, नागरिक उन्मुक्तिलाई दुई, जनता समाजवादी पार्टीलाई एक, एकीकृत समाजवादी पार्टीलाई एक र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने लिखित सहमति भएको एक सांसद बताउँछन्।
महराले पहिलो चरणमा एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिरलाई मन्त्री बनाएका छन्। तर उनीहरूलाई कुनै जिम्मेवारी दिइएको छैन।