एसीसी प्रिमियर कप : मलेशिया विरुद्ध भिड्दै नेपाल
आजबाट एसीसी टी-२० प्रिमियर कप शुरू हुँदै छ।
प्रतियोगिता अन्तर्गत आज एकै दिन चार खेल हुँदै छन्। ओमानले बिहान ११:४५ मा बहराइनको सामना गर्दै छ भने यही समयमा यूएई र कुवेतबीच पनि खेल हुनेछ। यस्तै, आजै दिउँसो ४:१५ मा नेपाल र मलेशियाबीच खेल हुनेछ। यही समयमा हङकङ र कतार पनि भिड्नेछन्।
नेपाल र मलेशियाबीचको खेल अल अमिरत क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दुई दिनअघि नै १४ सदस्यीय टोली छनोट गरिसकेको छ। जसमा कप्तान रोहित पौडेल, आसिफ शेख, अनिल साह, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतीश जीसी, गुल्सन झा, सन्दीप जोरा, सोमपाल कामी, करन केसी, कुशल मल्ल, ललित राजवंशी र विवेक यादव छन्।
प्रतियोगितामा १० टोली सहभागी छन् जो दुई समूहमा विभाजित छन्। समूह चरणमा शीर्ष दुई स्थानमा आउने टोलीले प्रतियोगिताको सेमिफाइनल खेल्नेछन् र फाइनलमा पुगेर उपाधि जित्ने टोलीले एशिया कप २०२५ मा सहभागिता जनाउनेछ। सन् २०२३ को प्रिमियर कपको उपाधि जित्दै नेपालले एशिया कपमा छनोट भई भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो।
प्रतियोगितामा समूह ‘ए’ मा नेपाल र मलेशिया सहित हङकङ, कतार र साउदी अरेबिया छन्। यस्तै, समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई छन्।