नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुल्ने
नयाँ वर्षदेखि काठमाडौंका ठमेल र दरमार्ग क्षेत्र चौबीसै घण्टा खुला रहने भएका छन्।
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्र बाहेक सबै क्षेत्र चौबीसै घण्टा खुला रहने जनाएको छ। भगवानबहाल क्षेत्रमा स्थानीयको बसोबास रहेकाले चौबीसै घण्टा खुला गर्न नसकिएको जनाइएको छ।
परिषद्का अध्यक्ष भवीश्वर शर्माले ठमेलभित्र रोजगारी सिर्जना गर्दै व्यवसायलाई चलायमान बनाउन ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा सञ्चालन गर्न लागेको बताए। “जिल्ला प्रशासन कार्यालयको आचारसंहिता बमोजिम कानूनको परिधिमा रहेर ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा सञ्चालन गर्न लागिएको हो,” शर्माले भने।
अध्यक्ष शर्माले ठमेल र दरबारमार्गलाई चौबीसै घण्टा खुलाउन स्थानीय, प्रदेश र केन्द्र सरकारका सुरक्षा निकायसँग सहकार्य गरिसकेकाले ढुक्क भएर व्यापार-व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गरे। ठमेल क्षेत्रभित्र आठ हजार ५०० व्यवसायी रहेको र ६० हजारभन्दा बढीले रोजगारी पाएको उनले बताए।
दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जय अधिकारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउन चौबीसै घण्टा सञ्चालन गर्न लागिएको बताए। दरबारमार्गलाई लामो समयदेखि चौबीसै घण्टा खुलाउने प्रयास भइरहेको र अहिले आएर सार्थकता पाएको अधिकारीको भनाइ थियो।
राजा महेन्द्रको शालिकबाट नारायणहिटी दरबार संग्रहालयसम्म खुला हुने दरबारमार्गमा २०० व्यवसायी रहेको र ६ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेको उनले जानकारी दिए। शहरको वातावरणलाई पर्यटकको अनुकूल बनाउँदै जान सके मात्र लगानी अनुरूप प्रतिफल प्राप्त गर्न सकिने उनको भनाइ थियो।
ठमेल र दरबारमार्गबाट शुरू भएको चौबीसै घण्टा सञ्चालन गर्ने अभियानलाई बिस्तारै देशका विभिन्न शहरमा लगिने जनाइएको छ।