किसानले पाएनन् दूधको भुक्तानी, फेरि आन्दोलनमा उत्रिने चेतावनी
दूधको भुक्तानी नपाएका दुग्ध किसानले फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
गत फागुनमा सरकारले केन्द्रीय दुग्ध सहकारी संघसँग सहमति गरेको थियो। कृषि मन्त्रालय अन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौतामा चैत २१ गतेसम्म पुस मसान्तसम्मको दूधको बक्यौता भुक्तानी गर्ने सहमति भएको थियो। तर अझै पनि किसानले भुक्तानी पाएका छैनन्।
तत्काल दूधको भुक्तानी नपाए आन्दोलनमा उत्रिने जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरले जनाएको छ। मकवानपुरमा मात्रै किसानको ४८ करोड रुपैयाँ उठ्न बाँकी रहेको अध्यक्ष हरिप्रसाद कँडेलले बताए।
सरकारले गरेको सहमति अनुसार चैत मसान्तभित्र दूधको भक्तानी गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, किसानबाट उत्पादित दूध निरन्तर बिक्री हुने व्यवस्था मिलाउनुपर्ने, दुग्ध उत्पादक किसानलाई दिंदै आएको अनुदान निरन्तर पाउने व्यवस्था गरिनुपर्ने र पशु बीमालाई सहकारी संस्था मार्फत गर्ने व्यवस्था गरिनुपर्ने संघले माग राखेको थियो। त्यसमा सरकारले सहमति जनाएको थियो।
तर अहिलेसम्म सहमति कार्यान्वयन नभएको संघले जनाएको छ। चैत मसान्तभित्र माग सम्बोधन नभए दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्ता गर्ने सरकार र निजी दुग्ध उद्योगी विरुद्ध निर्णायक आन्दोलनमा उत्रिने अध्यक्ष कँडेलले बताए।