पर्यटकको पर्खाइमा सुदूरका १० गन्तव्य
प्राकृतिक सुन्दरताले भरिपूर्ण सुदूरपश्चिम भौतिक पूर्वाधारसँगै पर्यटकको पर्खाइमा छ।
सुदूरपश्चिम प्रदेशमा पर्यटकीय सम्भावना बोकेका थुप्रै गन्तव्य छन्। आन्तरिक तथा बाह्य पर्यटक पर्यटकीय गन्तव्यमा पुग्ने पनि गरेका छन्।
अझ भारतसँगको खुला नाकाले गर्दा पर्यटकको आगमन पनि बढ्दै आएको छ। भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटक पनि बढिरहेको तथ्यांक छ। भारतीय नागरिकको रोजाइमा त सुदूरपश्चिम परिरहेको छ नै।
प्राकृतिक रूपले सुन्दर गन्तव्यमा पर्यटक टिकाउन भने सकिएको छैन। अझ एक पटक आएका पर्यटक फर्केर विरलै आउने गरेका छन्। “पर्यटकलाई घुम्नका लागि प्राकृतिक सुन्दरतासँगै अन्य आवश्यकता पूर्ति हुने वातावरणले पनि उत्तिकै महत्त्व राख्छ,” कैलाली उद्योग वाणिज्य संघकी कार्यकारी निर्देशक गोमा अधिकारी भन्छिन्, “सुदूरपश्चिममा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार व्यापक भयो तर पूर्वाधारको विकास हुन सकेको छैन। जसका कारण पर्यटक आधा बाटोबाटै पनि फर्केका छन्।”
पर्यटकलाई आकर्षित गर्न गन्तव्यमा पुग्न सहज यातायात, राम्रो बसोबास हुनुपर्ने अधिकारी बताउँछिन्। तर सुदूरपश्चिमका गन्तव्यमा पर्यटकलाई सहज हुने पूर्वाधारको अभाव रहेको उनको भनाइ छ।
पूर्वाधारको विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने व्यवसायीहरू बताउँछन्। त्यसका लागि स्थानीयसँग प्रदेश र संघीय सरकारले पनि योजना ल्याउनुपर्ने उनीहरूको भनाइ छ। “सुदूरपश्चिम प्रदेशको पर्यटन विकासका लागि सरकारले निजी क्षेत्रका लगानीकर्तालाई ऋणमा सहुलियत दिनुपर्छ,” व्यवसायी पुष्प कुँवर भन्छन्।
खप्तड, अपी, सैपाल हिमाल र बडीमालिकाबारे वर्षौंदेखि चर्चा हुँदै आएको छ। तर भौतिक पूर्वाधारको अभाव, यातायातको सुविधा नहुँदा पर्यटक पनि आउन सकेका छैनन् भने स्थानीय बासिन्दाको जीवनस्तरमा पनि परिवर्तन आउन नसकेको कुँवर सुनाउँछन्। उनी भन्छन्, “राज्यले सुदूरपश्चिम क्षेत्रको पर्यटन विकासका लागि नीति बनाउनुपर्छ।”
भौतिक पूर्वाधारको अभाव, यातायातको असुविधा हुँदाहुँदै पनि आन्तरिक तथा बाह्य पर्यटक सुदूरपश्चिमका पर्यटकीय गन्तव्य पुगिरहेका छन्। ती पर्यटकीय गन्तव्यले देशकै ध्यान तानेका छन्।
सुदूरपश्चिमका १० प्रमुख पर्यटकीय गन्तव्य
खप्तड: जैविक विविधताले भरिपूर्ण खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो। डोटी, अछाम, बाजुरा र बझाङको संगमस्थल खप्तड सुन्दर र रमणीय छ।
डोटीको झिग्राना, अछामको साँफे र चौखुट्टे, बझाङको तमेल र बाजुराको काँडाबाट पैदलमार्ग भएर खप्तड पुग्न सकिन्छ। प्रदेश राजधानी धनगढीबाट सार्वजनिक वा निजी यातायातबाट पुग्न सकिन्छ। बझाङको तमेल-दारुगाउँ-ल्वाखडको बाटो र बाजुराको काँडा भएर जाने बाटो अरूभन्दा छोटो पर्छ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण खप्तडले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ। घाँसे मैदान, खप्तड दह, त्रिवेणीधाम यहाँका आकर्षण हुन्। खप्तडको सुन्दरले आगन्तुकलाई मन्त्रमुग्ध बनाउँछ।
२२ वटा पाटन र ५२ थुम्का (दह) रहेको खप्तडमा त्रिवेणीधाम, खापर दह, डाँफेकोट, खप्तडबाबाको आश्रम, केदारढुंगा, नागढुंगा, गणेश मूर्ति लगायत प्राकृतिक तथा धार्मिक सम्पदाले आकर्षण थपेका छन्। खप्तडबाट अपी-सैपाल लगायत हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ।
अपी-सैपाल : अपी र सैपाल सुदूरपश्चिमका अग्ला हिमाल हुन्। दार्चुलामा अवस्थित अपी हिमाल ७,१३२ मिटर अग्लो छ। यो भारत र तिब्बतमा पनि प्रख्यात छ।
सैपाल सुदूरपश्चिमको दोस्रो अग्लो हिमाल हो। यो ७,०३१ मिटर अग्लो छ। यी दुवै हिमाल सुन्दर र मनमोहक छन्। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परे पनि भौतिक पूर्वाधारको अभाव र बाटोघाटोका सहज व्यवस्था नहुँदा प्रवर्द्धन हुन सकेको छैन।
रामारोशन : अछामको रामारोशन गाउँपालिकामा पर्ने रामारोशन ताल आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको छ। यो ताल सुन्दर र मनमोहक छ। रामारोशन क्षेत्रमा अन्य साना-ठूला ताल र पाटन छन्। यस क्षेत्रमा १२ वटा साना ताल र १८ वटा पाटन छन्।
तालसँगै रहेका ठूल्ठूला पाटन मनमोहक छन्। यी पाटनमध्ये किनेमिने सबैभन्दा ठूलो पाटन हो। यसको मध्यभाग भएर कैलाश खोला बग्छ।
बडीमालिका : बाजुरामा पर्ने बडीमालिका प्राकृतिक सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक रूपमा पनि महत्त्वपूर्ण छ। समुद्री सतहबाट चार हजार २१९ मिटरको उचाइमा रहेको बडीमालिकाबाट हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ भने हिउँदमा हिउँ पनि खेल्न पाइन्छ।
बडीमालिकाको सौन्दर्य नै विशाल फाँट हुन्। बडीमालिका मन्दिर तथा फाँटसम्म पुग्ने बाटो भने अप्ठ्यारो छ। सहज बाटोघाटोको सुविधा नहुँदा जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन नसकेको स्थानीय बासिन्दा बताउँछन्।
बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाका दिन मेला लाग्छ। मेला भर्न नेपाल तथा भारतबाट समेत श्रद्धालु आउने गरेका छन्। बडीमालिका मन्दिरमा दर्शन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रख्यात छ। नजिकबाटै बाह्रसिंगेको बथान हेर्न पाइन्छ। यो थोरै क्षेत्रफलमा धेरै पाटे बाघ रहेको संरक्षित क्षेत्र पनि हो।
शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण छ। यहाँ दर्जनभन्दा बढी ताल छन्। तारा, रानी, बठनिया, बाउन्ने, शिकारी, सलगौंडी र बाबा ताल पर्यटकको रोजाइमा पर्ने गरेका छन्।
शैलेश्वरी मन्दिर : डोटी जिल्लाको दिपायल सिलगढीमा पर्ने प्रसिद्ध मन्दिर शैलेश्वरीलाई मान्ने गरिएको छ। सात बहिनी भगवतीमध्ये एक शैलेश्वरी भगवतीको मन्दिरमा दिनहुँजसो पूजाआजा गर्नेको बाक्लो घुइँचो लाग्छ।
शैलेश्वरीमा प्रत्येक १२ वर्षमा लक्ष्यहवन तथा १४४ वर्षमा कोटिहवन महायज्ञ लाग्ने गर्दछ। प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ। शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिर पनि छन्। जसमा हनुमान् कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर र चण्डेश्वरी मन्दिर छन्।
यस मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन पञ्चेबाजा र आफ्नै मौलिक विशेषता सहित भव्य मेला लाग्ने गर्दछ। यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास छ।
उग्रतारा मन्दिर : डडेल्धुरास्थित उग्रतारा मन्दिर धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण छ। डडेल्धुरा सदरमुकाम बागजार नजिकै रहेको मन्दिर प्यागोडा शैलीमा निर्मित छ। मन्दिरमा पूजाआजा गर्न नेपालसँगै भारतबाट पनि श्रद्धालु आउने गरेका छन्।
घोडाघोडी ताल : कैलालीको घोडाघोडी ताल अर्को पर्यटकीय गन्तव्य हो। जैविक विविधताले भरिपूर्ण यो ताल पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको छ। जसले गर्दा पर्यटकको सहज आगमन हुने गरेको छ।
डुंगा सयर गर्दै तालमा पाइने विभिन्न थरीका जलचर र थलचर प्राणीको अवलोकन गर्न सकिन्छ। शान्त, रमणीय र हरियाली वातावरणमा चराहरूको चिरबिर आवाजले मन्त्रमुग्ध बनाउँछ।
भादा गाउँ : कैलालीको धनगढी-१६, भादा गाउँ थारू समुदायको कला, संस्कृति, रहनसहनमा रमाउने पर्यटकको रोजाइमा पर्ने गरेको छ। २०६७ सालमा स्थापना भएको होमस्टेले रौनक थपेको छ। यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक थारू कला तथा संस्कृतिमा रमाउने गरेका छन्।
डुलौं देश शृंखलाका थप सामग्री :