छामेरै मोटरसाइकल मर्मत
एकाएक आँखाको ज्योति गुमाएका सुदर्शन ढकाल हातले छामेकै भरमा मोटरसाइकल मर्मत सम्भार गर्छन्, ग्यारेज चलाएर मनग्य आम्दानी पनि गरिरहेका छन्।
हेटौंडा उपमहानगरपालिका-३, बसामाडीका ५४ वर्षीय सुदर्शन ढकाल दृष्टिविहीन हुन्। तर २७ वर्ष भयो, उनले छामेकै भरमा मोटरसाइकल मर्मत गर्दै आएका छन्। “केही समस्या स्टार्ट गरेपछि आवाजबाट पत्ता लाग्छ, केही छामेर पत्ता लाग्छ,” सुदर्शन भन्छन्।
स्टार्ट भएपछिको आवाजले नै कहाँ के बिग्रिएको भन्ने सजिलै थाहा पाउँछन् उनी। तर कुनै कुनै मोटरसाइकल चाहिं स्टार्ट नै नहुने समस्या भएर ल्याइएको हुन्छ। त्यस्तोमा भने फलामहरू छामेर समस्या पत्ता लगाउने गर्छन्।
मोटरसाइकलका ससाना पार्टपुर्जा पनि उनी कसैको सहयोग विनै जडान गर्न सक्छन्। “एउटा पार्ट अन्त फिट हुँदैन, छामेरै सही ठाउँमा पुगिन्छ,” उनले भने।
मोटरसाइकलमा वायरिङको समस्या छ भने चाहिं सुदर्शनलाई तारको रङ पहिचान गर्न नसक्दा गाह्रो हुन्छ। यस्तो वेला ग्राहक, श्रीमती वा छोरा जो नजिक छन्, उसैलाई सोध्छन्।
सुदर्शन जन्मजात दृष्टिविहीन भने होइनन्, २०५३ सालमा आँखाको ज्योति गुमाउनुअघि उनले ११ वर्षसम्म आँखाले हेरेरै मोटरसाइकल मर्मत गरेका थिए।
सुदर्शन पढाइमा कमजोर थिए, कक्षा ९ उत्तीर्ण हुन सकेनन्। त्यसैले १६ वर्षको उमेरमै उनले जापानी गाडी मर्मत गर्न सिकेका थिए। उनले तालीम पनि लिएका होइनन्, क्याटलग हेरेर आफैं सिकेका हुन्। त्यति वेलैको सीपले आजसम्म उनको घर धानिंदै आएको छ। नयाँ होस् वा पुरानो मोडलको मोटरसाइकल, उनलाई फरकै पर्दैन।
यसरी गुम्यो आँखाको ज्योति
घटना २०५३ सालको हो, त्यति वेला ढकाल होन्डा कम्पनीमा कार्यरत थिए। यो कम्पनीले नयाँ ब्रान्डको मोटरसाइकल भर्खरै बजारमा ल्याएको थियो।
कम्पनीको हेटौंडा शाखाबाट धरानका लागि १२ थान मोटरसाइकल लैजानुपर्ने भयो। यो कामका लागि सुदर्शन र उनका साथीहरू खटिए। हेटौंडाबाट धरान जाने क्रममा सप्तकोशी नदीको पुल नजिक सडकको लच्कामा सुदर्शनभन्दा अगाडि गुडिरहेको कारले एक्कासि ब्रेक हान्यो, रातो ब्रेकलाइट बल्यो, उनको आँखाले देख्नै छोड्यो।
धन्न मोटरसाइकल चलाउन अनुभवी भएकाले उनी दुर्घटनामा भने परिहालेनन्। जसोतसो बाटोको किनारमा लगेर मोटरसाइकल रोके।
सुदर्शनका साथीहरूबीच तरहरा पुगेर खाजा खाने सल्लाह हेटौंडामै भइसकेको थियो। त्यसैले उनलाई उछिनेर अघि बढेका साथीहरू तरहरामै उनलाई पर्खिरहेका थिए। यता सुदर्शन भने कोशीबाट अघि बढ्नै सकेका थिएनन्। त्यति वेला सञ्चार सुविधा पनि अहिले जस्तो थिएन, साथीहरू फर्केर उनलाई खोज्दै आए। धन्न भेटे पनि।
सुदर्शन सडकको सेतो धर्को र गाडीको रातो ब्रेकलाइट बाहेक अरू देख्नै नसक्ने भएका थिए। “हामी साथीहरू मिलेर तरहरासम्म पुग्यौं,” सुदर्शन भन्छन्।
यसपछि सुदर्शनले दिउँसो मात्र धमिलो देख्ने र राति पटक्कै नदेख्ने भए। २०५६ सालमा काठमाडौंको तिलगंगा अस्पतालमा आँखा जाँच गराउँदा आँखाको नसा सुकेको र यसको उपचार नहुने जानकारी पाए।
“आँखामा कुहिरो लागे जस्तो हुन्छ, यो कुहिरो काट्ने औषधि पाए आँखा देख्थें होला जस्तो लाग्छ,” उनी भन्छन्, “अहिले छामेरै सबै काम गर्छु, कहिले आफ्नै आँगन-पिंढीमा ठक्कर खान्छु, तर सम्हालिंदै छामेर सबै काम गर्छु।”
हुन त उनले आश मारिसकेका छैनन्। दुई वर्ष पहिले उनले भारतको बरेली पुगेर आँखा जँचाएका थिए। तर त्यहाँ पनि उपचार भएन। अहिले पनि जिल्लामा आँखा शिविर भयो भने उनी धाइहाल्छन्।
श्रीमती पनि मिस्त्री
पूर्व-पश्चिम राजमार्गको आडैमा भएको घरमा पाली हालेर सुदर्शनले ढकाल मोटरसाइकल वर्कशप सञ्चालन गरिरहेका छन्। उनलाई पत्नी कमला अर्याल ढकालले पनि काममा सघाइरहेकी छन्।
श्रीमान्ले आँखाको ज्योति गुमाएपछि काममा सघाउन मिलोस् भनेर कमलाले २०६४ सालमा घरेलु तथा साना उद्योगबाट मोटरसाइकल मर्मत तालीम लिएकी थिइन्। कमलासँगै छोरा राजीवले पनि यही सीप सिके।
आफूलाई मोटरसाइकल मर्मत गर्न र चलाउन दुवै सिक्न मन भए पनि चलाउन भने सिक्न नपाएको कमला सुनाउँछिन्। “हामी तीनै जना मोटरसाइकल मर्मतको सबै काममा पोख्त छौं,” उनी भन्छिन्, “चलाउन चाहिं म जान्दिनँ, बाटो (राजमार्ग)मा ट्रायल गर्न परे छोराले गर्छ।”
ग्यारेजमा सुदर्शन मर्मतको पाटो सम्हाल्छन्। मर्मतपछि शुल्क लिने, आवश्यक पार्टपुर्जा किन्ने काम कमला सम्हाल्छिन्। कहिलेकाहीं कामको चाप हुँदा भने दुवै जना मर्मतमा भिड्छन्। आफू नहुँदा कतिपयले श्रीमान्लाई मर्मत शुल्क नै नदिई हिंड्ने गरेको कमला बताउँछिन्।
राजीव भने घरमा कमै हुन्छन्। उनी प्रायः पूजापाठ, तिथिश्राद्ध, सप्ताह, महायज्ञतिरै व्यस्त हुन्छन्। छोराको सानैदेखिको रुचि कर्मकाण्डमा भएपछि ढकाल दम्पतीले छोरालाई महेश गुरुकुल देवघाटमा संस्कृत पढाएका थिए। तर उताको कामबाट फुर्सद हुनासाथ राजीव बाआमालाई सघाउन पुगिहाल्छन्।
“सेतो पोशाक लगाएर सफा आसनमा बसेर, धूपको वासनामा काम गर्ने पण्डित हो छोरो, यो कालो मोबिल र गह्नाउने मट्टीतेलमा लतपतिएर ग्यारेजको काम के गर्ला र भन्ने लागेको थियो,” सुदर्शन भन्छन्, “शुरूशुरूमा त फोहोर माने जस्तो पनि गर्यो, तर सजिलै यसमा पनि रत्तियो।”
सीपलाई कहिल्यै सानोठूलो भन्न नहुने सुदर्शनको भनाइ छ। “मैले यो सीप नजानेको भए अहिले आँखा नदेख्दा तनावकै कारण मर्थें होला,” उनी भन्छन्। ढकाल परिवार अहिले मोटरसाइकल मर्मतबाटै मासिक ५० हजार रुपैयाँ बचत गर्छ।