नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडीबीको आकलन
एशियाली विकास ब्यांकले यस वर्ष नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत रहने आकलन गरेको छ।
एशियन डेभलपमेन्ट आउटलूक २०२४ सार्वजनिक गर्दै ब्यांकले गत वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको हो। गत आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भएको थियो। यद्यपि राष्ट्रिय तथ्यांक कार्यालयले यसको आधिकारिक तथ्यांक सार्वजनिक गरिसकेको छैन।
केही दिनअघि विश्व ब्यांकले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो। राष्ट्रिय तथ्यांक कार्यालयले केही सातापछि यस वर्षको आर्थिक वृद्धिदरको आकलन सार्वजनिक गर्नेछ।
अर्थतन्त्रमा माग खुम्चिएका कारण आर्थिक गतिविधिमा शिथिलता आएको व्यवसायीले बताउँदै आएका छन्। भन्सार विभागको तथ्यांकले यस वर्ष गत वर्षको तुलनामा आयात संकुचित भएको देखाएको छ।
एशियाली विकास ब्यांकले यस वर्ष नेपालको मूल्यवृद्धि दर ६.५ प्रतिशत रहने आकलन गरेको छ।
ब्यांकका अनुसार दक्षिणएशियामा सबैभन्दा धेरै आर्थिक वृद्धिदर भारतको हुनेछ। यस वर्ष भारतको अर्थतन्त्र सात प्रतिशतले बढ्ने ब्यांकको प्रक्षेपण छ। बाङ्लादेशको अर्थतन्त्र ६.१ प्रतिशतले वृद्धि हुने अनुमान छ।