जाम् है गामतिर
घुम्नुको रमाइलोसँगै देश र समाज पनि बुझिने भएकाले घुमन्तेका लागि ग्रामीण भेगको यात्रा फलदायी हुन्छ, जसले ग्रामीण अर्थतन्त्र सुदृढ पार्न पनि टेवा पुर्याउँछ।
बाल्यकालमा छरछिमेक वा घरछेउकै डाँडापाखातिर डुल्दा हरिमाया गुरुङलाई आमाबुबाले कराउँथे, ‘कति डुलिराखेकी लखरलखर! थपक्क घरमा बस्।’
उनी अनुहार अँध्यारो पारेर चूपचाप बस्थिन्।
आमा बनेपछि उनी पनि छोराछोरीलाई धेरै नडुल्न, घरमै बसेर लेखपढ गर्न अह्राउँथिन्। जंगलबीचको बस्ती र भीरपाखा पनि भएकाले केटाकेटी बाहिर निस्किंदा चिन्ता हुने नै भयो।
सानो छँदा हिंडडुलमा रोकटोक भोगेकी र आफ्ना सन्तानलाई पनि सीमा कोरेकी उनै हरिमाया (५९) अहिले घुमन्तेहरूलाई खुलेर स्वागत गरिरहेकी हुन्छिन्। कास्कीको घान्द्रुकमा होमस्टे चलाउने उनी स्वदेशी-विदेशी पाहुनालाई घरमा वास दिन्छिन्, भान्सामा आफैं पकाएर खुवाउँछिन्।
तीन दशकअघि दुई वटा कोठामा होमस्टे शुरू गरेकी उनको घरमा अहिले २४ जना पाहुना बस्न मिल्ने ठाउँ छ। पछिल्लो तीन दशकमा दशौं हजार घुमन्तेलाई स्वागत गरिसकेकी उनी भन्छिन्, “डुल्ने मान्छे नआए त दिन काट्नै गाह्रो हुन्छ।”
उनी गाउँघरमा घुम्न आउनेलाई सत्कार मात्रै गर्दिनन्, आएका पाहुनाकै संगतले आफू पनि घुमन्ते भएकी छन्। समय निकालेर वेलामौकामा घुम्न निस्किराख्छिन्। मुस्ताङको मुक्तिनाथ, म्याग्दीको घोडेपानी लगायत उच्च पहाडी र हिमाली क्षेत्र, पूर्वको इलामदेखि पश्चिमको दाङसम्म चक्कर लगाइसकेकी छन्। पूर्वी र मध्य तराईमा तीन पटक पुगिसकेकी उनी भारतको दार्जीलिङ, सिक्किम पनि धेरै पटक घुमिसकेकी छन्। “म त इन्डोनेशिया, मलेशिया र सिंगापुर पनि घुमेको छु नि,” उत्साहित हुँदै सुनाउँछिन्।
बाल्यकालमा मामाघरबाट शुरू भएको उनको घुमफिर किशोरावस्थामा रोदीघर र मेलासम्म पुग्यो। हरेक साँझ रोदीघरमा दोहोरी चल्थ्यो। त्यति वेला वल्लोपल्लो गाउँका मठमन्दिर सहित धार्मिक, सांस्कृतिक थलोमा हुने जमघट, पूजापाठ, मेला, जात्रा नै घुमफिरका गन्तव्य हुन्थे।
आधुनिक पर्यटनको शुरूआतअघि यात्रा भनेकै धार्मिक, सांस्कृतिक क्रियाकलापसँग सम्बन्धित थिए। जस्तो- हिन्दू धर्ममा मठमन्दिरको दर्शन र पूजापाठका लागि टाढा टाढासम्म तीर्थ यात्रा गरिन्छ। बौद्ध धर्मावलम्बी गुम्बा र चैत्य धाइरहन्छन्। साउदी अरबको मक्का र मदीना शहर मुस्लिम समुदायका लागि पवित्र मानिन्छ।
इतिहासकार तथा संस्कृतिविद् त मानव सभ्यता र संस्कृति जगेर्नाका लागि पनि यात्रा आवश्यक भएको मान्छन्। संस्कृतिविद् वीणा पौड्याल हाम्रो समग्र चेतनाको उत्पादन नै संस्कृति भएको र संस्कृति यात्रासँग जोडिने बताउँछिन्। प्राकृतिक र सांस्कृतिक सम्पदाबारे जानकारी बटुल्न र संस्कृतिका विविध पक्ष उजागर गर्न यात्रा अत्यावश्यक भएको उनको अनुभव छ। प्राज्ञिक कर्मको सिलसिलामा देश-विदेशको यात्रा गरिरहने उनी भन्छिन्, “पढेको या सुनेको भन्दा घुमेर देखेका कुरा स्मरणमा रहिरहने भएकाले यात्राको प्रभाव जीवन्त हुन्छ।”
उनको भनाइमा स्थलगत पुग्दा संस्कृतिबारे अध्ययन त हुन्छ नै, आफूले प्रत्यक्ष देखेर संकलन गरेका सामग्री विश्वसनीय पनि हुन्छन्। “पुरातत्त्व, कलाकृति, वास्तुकला, मानव जीवनका विभिन्न पक्षबारे जान्न स्थलगत अध्ययन नै प्रमुख स्रोत हो,” पौड्याल भन्छिन्।
धार्मिक र सांस्कृतिक यात्राका साथै संस्कृतिविद् पौड्यालले भने जस्तो खोज तथा अनुसन्धानका लागि यात्रा गर्न थालियो, झन्डै ८०० वर्षअघि। त्यस्तो यात्रा गर्ने खोजयात्रीको सूचीमा मार्को पोलो र क्रिस्टोफर कोलम्बसको नाम आउँछ। मार्को पोलोले सन् १२७१ देखि १२९५ सम्म सिल्करोड हुँदै एशियाको यात्रा गरे। कोलम्बसले त सन् १४९४ देखि १५०४ सम्म स्पेनबाट चार पटक यूरोप-अमेरिका आउजाउ नै गरे, अमेरिकाको खोज गरे।
यही आसपास, इस्वी संवत्को १४औं शताब्दीमा अंग्रेजी शब्द ‘ट्राभल’ प्रयोगमा आएको थियो। यस शब्दको उत्पत्ति फ्रान्सेली भाषाको शब्द ‘ट्राभाइल’ बाट भएको मानिन्छ, जसको अर्थ हुन्छ ‘काम’। कामका लागि नभएर फुर्सदमा रमाउन यात्रामा निस्किने प्रचलन भने रोमबाट शुरू भएको मानिन्छ। धनीमानी रोमनहरू रमाइलोका लागि ग्रीष्मकालमा भिल्लामा बस्न जान्थे।
बिस्तारै यसमा यूरोपेली जोडिए। १७औं शताब्दीको शुरूआतसँगै लन्डन, पेरिस, रोम र भेनिसको यात्रा शुरू गरिएको पाइन्छ। गाडीबाट हुने यात्रा सन् १८४० मा रेल चल्न थालेसँगै व्यापक भयो।
संसारमा पैदलबाट शुरू भएको यात्रा गाडी, रेल, जहाज हुँदै फेरि पैदलमा पुगेको छ। नेपालमा भने पदयात्राको शुरूआत स्वीस भूगर्भविद् टोनी हागनले गरेको मानिन्छ। राणाशासनको वेला सुनखानीबारे अध्ययन गर्न स्वीस सरकारले पठाएको प्राविधिक टोलीको सदस्यका रूपमा उनी पहिलो पटक सन् १९५० मा नेपाल आएका थिए। त्यस बखत विदेशीले काठमाडौं उपत्यका बाहिर यात्रा गर्न सरकारबाट अनुमति लिनुपर्थ्यो। स्वीस टोलीको भूगर्भविद्का रूपमा त्यस्तो अनुमति पाएका उनमा यहाँका ग्रामीण भेग घुम्दा यो ठाउँलाई अझै नियाल्ने भोक बढ्यो।
त्यसपछि संयुक्त राष्ट्रसंघको विज्ञका रूपमा दोस्रो पटक सन् १९५२ जनवरीमा आएपछि त नौ वर्ष नेपालका हिमाल, पहाड र तराईका १४ हजार किलोमिटर पैदल यात्रा गरे। त्यस वेलासम्म नेपालमा हिमाल आरोहण गर्न प्रतिबन्ध नै थियो।
२००७ सालमा प्रजातन्त्र आएपछि भने नेपाल संसारका लागि खुला भयो। यात्रामा लगाइएको बारबन्देज हट्यो। “२००७ मा प्रजातन्त्र आएपछि आरोहणका लागि नेपालका हिमाल खुला भए। त्यही वेला चीनले तिब्बत कब्जा गरेपछि त्यहाँ विदेशीलाई प्रवेश निषेध गरियो,” पर्यटनविद् आङछिरिङ शेर्पा भन्छन्, “तिब्बती मोहडामा रोक लगाइएपछि सगरमाथा चढ्न संसारभरका आरोहीको नजरमा नेपाल पर्यो।”
पर्वतारोहण खुला भएको तीन वर्षपछि अर्थात् २०१० जेठ १६ मा एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला टेके। “सगरमाथाको सफल आरोहणसँगै नेपाल संसारभर चिनियो, पर्यटनका हिसाबले नयाँ युगको शुरूआत भयो,” पर्यटनविद् शेर्पा भन्छन्।
पाँच दशकदेखि देश-विदेशका पर्वतारोहीलाई सगरमाथा लगायत नेपाल र तिब्बतका हिमाल चढाइरहेका पर्वतीय पर्यटनका हस्ती शेर्पा आफूले पनि हिमाल चढेका छन्। हिमाल र हिमाली समुदायबारे जानकार उनलाई प्रवचन दिन तथा कार्यपत्र प्रस्तुत गर्न विभिन्न देशबाट निम्तो आइरहन्छ। यस क्रममा संसारका १०० भन्दा बढी देश घुमिसकेका छन्।
उमेरमा देशका उकाली-ओराली चहारेका ७० वर्षीय शेर्पा घुमफिर नगरी समाज र देश नबुझिने बताउँछन्। “लेखपढले मात्रै पुग्दैन, संसार बुझ्न घुम्नैपर्छ,” उनी उदाहरण दिन्छन्, “हिमालको हावापानी फरक छ, चिसो हुन्छ, अक्सिजन कम हुन्छ भन्ने पढेर थाहा त होला, तर महसूस गर्न हिमाल नचढे पनि हिमाल नजिक पुग्नु त पर्यो।”
धेरै पर्यटकले भ्रमण गर्ने गन्तव्यमध्ये सगरमाथा लगायतका उच्च हिमाल रहेको खुम्बु क्षेत्र पनि एक हो। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांक अनुसार गत वर्ष सन् २०२३ मा ५७ हजार पर्यटक खुम्बु क्षेत्र पुगेका थिए। जसमध्ये ४५ हजार विदेशी थिए। पर्यटकको आगमन हुने क्षेत्रमा आर्थिक गतिविधिसँगै स्थानीय बासिन्दाको जीवनस्तर पनि उकासिन्छ।
पर्यटनविद् शेर्पा चार दशकअघि र अहिलेको खुम्बु र डोल्पो क्षेत्र दाँज्छन्। जसरी अहिले डोल्पा क्षेत्रका बासिन्दा यार्सागुम्बा खोज्न जान्छन्, त्यसरी नै खुम्बु क्षेत्रका बासिन्दा पनि हिमाली पाखा धाउँथे। आलु, फापर, कोदो खेती गरेर जेनतेन गुजारा चलाउँथे। “हेर्दाहेर्दै खुम्बु क्षेत्रको जीवनस्तर यूरोप, अमेरिकाको जस्तो भएको छ,” पर्यटनले खुम्बु क्षेत्रमा ल्याएको समृद्धि सुनाउँदै शेर्पा थप्छन्, “सुन्दर हिमाल भए पनि डोल्पा क्षेत्रका बासिन्दा पेटभरि खानकै लागि संघर्ष गरिरहेका छन्।”
बुढ्यौलीले छोपे पनि पर्यटनविद् शेर्पाले देश-देशावर डुल्न छोडेका छैनन्। चैत अन्तिम साता यो कुराकानी गर्ने क्रममा पनि उनी सोलखुम्बुको सल्लेरी जाने हतारोमा थिए। “कलेज पढ्दा रहरले डुलें, काम गर्न थालेपछि अध्ययन-अनुसन्धानका लागि डुलें,” उनी भन्छन्, “पछिल्लो समय आफ्नो अनुभव सुनाउन डुलिरहेको छु। स्वास्थ्यलाई ध्यानमा राखेर पनि हिंडडुल त गर्नैपर्यो।”
स्वास्थ्यलाई महत्त्व दिएर घुमफिर गर्नेमा पर्छन्, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. गेहराज दाहाल। शारीरिकसँगै मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर घुम्ने गरेको उनी बताउँछन्। उनी चैत दोस्रो साता मात्रै थोराङ-ला पुगेर आए। समुद्री सतहबाट पाँच हजार ४१६ मिटरको उचाइको थोराङ-ला संसारकै अग्लो स्थानको पदमार्गमा पर्ने भन्ज्याङ हो।
डा. दाहाल वर्ष दिनअघि सगरमाथा आधारशिविर पुगेका थिए। डेढ वर्षअघि लाङटाङ क्षेत्रको पदयात्रा गरेका थिए। लाङटाङ पुगेको तीन साताअघि मात्रै भारतको कन्याकुमारीमा थिए। वेलाबखत समय मिलाएर गरिने लामो यात्रा बाहेक हरेक साता बिराएर गरिने हाइकिङले पनि स्फूर्ति थप्ने उनी सुनाउँछन्।
उनी किन यात्रा गर्छन्? “एकोहोरो दैनिकीले शारीरिक र मानसिक रूपमा थाकिन्छ। व्यक्तिगत र व्यावसायिक जीवनमा पनि असर परेको हुन्छ,” उनी भन्छन्, “यात्रा गर्दा नयाँ जीवन शुरू भए जस्तो ताजगी र ऊर्जा मिल्छ।”
डा. दाहालसँगै शिक्षण अस्पतालमा कार्यरत सात-आठ जनाको समूह छ, जो फुर्सद निकालेर घुम्न निस्किहाल्छ। एउटै क्षेत्रमा काम गर्नेहरू घुमफिरमा निस्कँदा व्यावसायिक जीवनका अनुभव आदानप्रदान पनि हुने उनी सुनाउँछन्। दाहाल भन्छन्, “घुमफिर गरेर फर्केपछि काम गर्ने तौरतरीकामा नयाँपन आउँछ।”
घुम्न जाने अनुकूल समय निस्केला भनेर पर्खिए घुमफिरको चाहना अधुरै रहने उनी बताउँछन्। “पढाइ र कामको चापले घुम्न फुर्सदै छैन भन्ने ठान्थें, तर यात्रा गर्न थालेपछि थाहा भयो- समय त निकाल्नुपर्दो रहेछ,” उनी भन्छन्, “सकभर ६ महीनामा नभए वर्ष दिनमा एक पटक त घुम्नैपर्छ।”
गाउँतिर घुम्नुपर्ने सुझाव दिन्छन् उनी। ग्रामीण भेगमा घुम्दा जनजीवन, रहनसहन र सामाजिक अवस्था बुझिने र त्यसबाट सामाजिक भावना पैदा हुने उनको अनुभव छ। दाहालले गाउँतिर घुम्न सुझाव दिनुको कारण ग्रामीण अर्थतन्त्रसँग पनि जोडिएको छ। “शहरबाट गाउँतिर डुल्न जाँदा धेरथोर पैसा गाउँमा पुग्छ,” उनी भन्छन्, “सामान्य जस्तो लागे पनि यसले स्थानीय बासिन्दाको जीवनमा धेरै फरक पार्दो रहेछ।”
बाह्य पर्यटनले देशको आयवृद्धिमा सघाउने भए पनि ग्रामीण भेगका बासिन्दाको आर्थिक अवस्था सुधार्न आन्तरिक पर्यटनले भूमिका खेल्ने अर्थविद्हरू पनि बताउँछन्। पूर्व अर्थसचिव रामेश्वर खनालका अनुसार शहरबाट ग्रामीण भेगमा पैसा पुर्याउन आन्तरिक पर्यटन उपयुक्त माध्यम हो। आन्तरिक पर्यटनबाट ग्रामीण अर्थतन्त्र कसरी बलियो हुन्छ भन्ने बुझाउन उनी जापानको उदाहरण दिन्छन्। “जापानले आन्तरिक पर्यटनबाटै गाउँघरको आर्थिक विकास गरेको हो,” उनी भन्छन्।
जापानीहरू घुमफिरमा निस्किंदा विशेष गरेर शहरबाट गाउँघरतिर जान्छन्। जापानी टाइम्सका अनुसार सन् २०२२ मा देशभित्रै घुमफिर गर्दा कम्तीमा एक रात बस्ने आन्तरिक पर्यटकको संख्या ४५ करोड ३० लाख छ। जबकि जापानको जनसंख्या १२ करोड ५१ लाख मात्रै छ। यसको अर्थ जापानी नागरिक कम्तिमा वर्षमा चार पटक घुमफिरमा निस्कन्छन्।
नेपालले पनि जापानको सिको गर्नुपर्ने बताउँदै खनाल भन्छन्, “आन्तरिक पर्यटनबाट गाउँघरमा व्यापार-व्यवसाय चलायमान हुन्छ, आम्दानी बढ्छ, रोजगारी सिर्जना हुन्छ। हाम्रो देशमा ग्रामीण अर्थतन्त्र सुदृढ पार्दै गरीबी निवारण गर्ने उपयुक्त माध्यम आन्तरिक पर्यटन नै हो।”
आन्तरिक पर्यटनले गाउँघरका ससाना बजारलाई आर्थिक गतिविधिका केन्द्र बनाएको एक उदाहरण हो, मुग्लिन। हेर्दाहेर्दै मुग्लिनमा आर्थिक गतिविधि बढेको र स्थानीय बासिन्दाको जीवनस्तर उकासिएको खनाल सुनाउँछन्।
आन्तरिक तथा बाह्य घुमन्ते चहार्ने बाटोमा पर्ने मुग्लिन जस्तै थुप्रै ग्रामीण बजार आर्थिक गतिविधिका केन्द्र बनेका छन्। आन्तरिक पर्यटकलाई लोभ्याउन सफल केही गाउँ पनि समृद्ध बन्दै गएका छन्। कोशी प्रदेशका हिमाली गाउँ खुम्बु, नाम्चे, भेडेटार, गण्डकीका घलेगाउँ, धम्पुस, घान्द्रुक, सिक्लेस तथा पश्चिम तराईका सौराहा, अमलटारी, डल्ला गाउँ, गाभर भ्याली यसका उदाहरण हुन्।
खनाल आफू पनि धेरै घुमफिर गर्नेमा पर्छन्। झापादेखि कञ्चनपुर र ताप्लेजुङदेखि दार्चुलासम्मका धेरैजसो जिल्ला टेकिसकेका उनी वेलावेला छोटो या लामो यात्रामा निस्किरहेका हुन्छन्। समाज बुझ्न घुम्ने गरेको उनी बताउँछन्। “समाज र ठाउँबारे बुद्धिजीवी र सञ्चारमाध्यमबाट आउने सूचना दोस्रो स्रोत हुन्, वस्तुस्थिति जस्ताको तस्तै आउँदैन,” खनाल भन्छन्, “समाजको अवस्था बुझ्न सकभर प्राथमिक स्रोतसँगै कुरा गर्न घुम्छु।”
शहरिया मध्यम र उच्च वर्गलाई घुम्न गाउँतिर जाने वातावरण बनाउनुपर्ने खनालको भनाइ छ। शहरिया नागरिकलाई गाउँघरतिर डुलाउन सरकारले केही नीतिगत परिवर्तन गर्नुपर्ने हुन्छ। घुमघाम र अर्थ मन्त्रालयमा काम गरेको अनुभवका आधारमा पूर्व अर्थसचिव खनाल ‘ट्राभल लिभ’ र त्यसमा कर छूटको व्यवस्था गर्नुपर्ने बताउँछन्। वर्षमा कम्तीमा एक साता बिदा र भ्रमण खर्चमा कर छूट गर्दा शहरियालाई गाउँतिर आकर्षित गर्न सकिन्छ। “सरकारी कर्मचारीसँगै निजी क्षेत्रलाई पनि भ्रमण बिदाको व्यवस्था गरेर खर्चमा कर छूट गर्नुपर्छ,” खनाल थप्छन्, “निजी क्षेत्रलाई ग्रामीण भेगमा बैठक, गोष्ठी, वार्षिक कार्यक्रम गर्दा हुने खर्चमा कर नलगाउने बित्तिकै शहरबाट गाउँमा ‘इन्कम ट्रान्सफर’ भइहाल्छ।”
अहिले निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी र सशस्त्र प्रहरी गरी झन्डै ६ लाखको हाराहारी पुग्छन्। जसमा निजामती कर्मचारी ८२ हजार ४९६, शिक्षक दुई लाख ९८ हजार ६९, नेपाली सेना ९२ हजार ७५३, नेपाल प्रहरी ७५ हजार ८०० र सशस्त्र प्रहरी ३७ हजार ११९ छन्। निजी क्षेत्रमा १३ लाखको हाराहारीमा कर्मचारी कार्यरत छन्। यो संख्यालाई वर्षमा एक पटक कम्तीमा एक साता अनिवार्य भ्रमण बिदा दिने र आफ्नो घरपायक बाहेकको क्षेत्रमा यात्रा गर्नुपर्ने नियम बनाउने बित्तिकै आन्तरिक पर्यटनले गति लिने खनालको भनाइ छ।
यसको एउटा उदाहरण, हरिमाया गुरुङ सहित २२ परिवारले होमस्टे चलाएको घान्द्रुक पनि हो। यी होमस्टे बाहेक यहाँ सुविधायुक्त ५५ वटा होटल पनि छन्। घान्द्रुकवासीले वर्षमा २० हजार विदेशी सहित एक लाख पाहुनालाई स्वागत गर्छन्। केही दशकअघिसम्म कोदो, फापरको खेतीमा निर्भर भई जीविका चलाउन समेत कष्ट भोगेको गाउँ पर्यटनबाटै समृद्ध बनेको छ।
यहाँका बासिन्दाले सन्तानलाई देश-विदेशका राम्रा स्कूल-कलेजमा पढाइरहेका छन्। पोखरा, काठमाडौं लगायत शहरमा घरघडेरी नजोड्ने कुनै परिवार छैन। हरिमाया भन्छिन्, “पहिले भातभान्सा चलाउनै गाह्रो हुन्थ्यो, अहिले पाहुनाको स्वागतसत्कार गर्दै फुर्सद हुँदैन।”
यस्तो बेफुर्सदीबीच उनी घुमफिर गर्न छाड्दिनन्। अब कर्णाली र सुदूरपश्चिम पुग्ने उनको रहर छ। “संसार हेर्न पाएन भने पैसा कमाएर के गर्नु!” बाल्यकालकै प्रसंग निकाल्दै उनी भन्छिन्, “थपक्क बसिराख्यो भने त संसारै चल्दैन।”
(सम्पादन : जीवन कार्की, भाषा : प्रद्युम्न खनाल)
डुलौं देश शृंखलाका थप सामग्री :