भारतमा दुर्घटना, नेपाली गाउँ शोकमा
भारतको नैनीतालमा भएको गाडी दुर्घटनामा सात जना नेपालीको ज्यान गएको खबर आएसँगै बाँकेको फटुवा गाउँ शोकमा डुबेको छ।
अटराम थारू र विनोदकुमार थारू गत पुस १३ मा मजदूरीका लागि बाँकेबाट भारतको मल्लगाउँ, उचाकोटमा पुगेका थिए। उनीहरू ठेकेदारको पछि लागेर भारततिर लागेका थिए।
बाँकेको बैजनाथ गाउँपालिका-८, फटुवा गाउँका अटराम र विनोद एकै परिवारका सदस्य हुन्। उनीहरूका बुबा दाजुभाइ हुन्।
गत माघ १ मा भारत पुगेपछि उनीहरूले फोन गरेका थिए। एउटै फोनबाट दुवै दाजुभाइले पालैपालो परिवारजनसँग कुराकानी गरेका थिए। माघीबारे कुराकानी भएको विनोदकी पत्नी नितु थारू सुनाउँछिन्। “माघी कस्तो भयो, हामीले यतै राम्रो मनायौं,” विनोदले फोनमा भनेका थिए।
उनले कामकाज पनि राम्रै भइरहेको बताएका थिए। “हाम्रो काम राम्रो छ, खानेपानी आयोजनाको पाइप बिछ्याउने काम गर्छौं,” विनोदले फोनमा नितुसँग भनेका थिए, “घरपरिवार राम्रैसँग सम्हाल्नू, धेरै चिन्ता नलिनू। खेतीपाती गर्न जेठ १ मा आउँछौं।”
त्यसपछि कुराकानी नभएको नितु सुनाउँछिन्। “जेठ १ गते कुरेर बसेका थियौं तर अचानक अपत्यारिलो खबर आयो,” नितु भन्छिन्।
विनोदसँगै नौ जना नेपाली चढेको गाडी चैत २७ मा नैनीतालको बेतालघाटमा दुर्घटना भयो। दुर्घटनामा सात जना नेपालीको ज्यान गएको छ। यो खबर आएसँगै फटुवा गाउँ शोकमा डुबेको हो।
यो गाउँका ६ जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु भएका धीरज थारू, उदयराम थारू, विश्राम थारू, तिलकराम थारू, अटराम थारू र विनोद थारू बैजनाथ गाउँपालिका-८ कै भएको वडाध्यक्ष भगन थारू बताउँछन्।
दुर्घटनामा दशरथ थारू र लौटी थारू घाइते भएका छन्। उनीहरू पनि आफ्नै वडाको भएको वडाध्यक्ष भगन बताउँछन्। “पूरै गाउँ शोकमा छ,” उनी भन्छन्, “अहिले भारतबाट शव नेपाल ल्याउने प्रयास भइरहेको छ।”
दुर्घटनामा ज्यान गुमाएका अर्का युवक बर्दियाका हुन्। बाँसगढी नगरपालिका-१ का टोपबहादुर बस्नेत पनि उनीहरूसँगै गाडीमा थिए।
सबै जना नैनीतालबाट घर फर्किरहेको जनाइएको छ। उनीहरूले घर आउँदै छौं भनेर परिवारजनलाई खबर पनि गरेका थिएनन्। “काम राम्रै भएकाले जेठमा आउँछु, खेतीपाती गरेर फेरि फर्किन्छु भनेका थिए,” अटरामकी पत्नी राजकुमारी भन्छिन्, “अहिले घर आउने कुरै थिएन।”
उनीहरूको शव नैनीतालको डीएसबी अस्पतालमा राखिएको छ। बाँकेबाट परिवारजन नैनीताल पुगेका छन्। दुर्घटनामा मृत्यु भएको खबर आएपछि नैनीताल पुगेको विश्रामका छोरा प्रमोद थारूले बताए।
उनीहरू सडकछेउमा खानेपानीको पाइप बिछ्याउने काम गर्दै आएका थिए। काम सकेर भाडाको गाडीमा आउन लागेको वेला दुर्घटना भएको जनाइएको छ।