कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन्।
प्रदेश सभाका एक चौथाइभन्दा बढी सदस्यको अनुरोधमा प्रदेश प्रमुख खापुङले विशेष अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जनाएका छन्। आउँदो वैशाख ६ गते दिउँसो १ बजे विशेष अधिवेशन बोलाइएको हो।
यसअघि चैत २६ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का ५२ सांसदले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका थिए। मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिंदै उनीहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।
त्यही दिन प्रदेश सरकारले पनि संसद्को नियमित अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिश गरेको थियो। मन्त्रिपरिषद्ले आउँदो जेठ ११ गते अधिवेशन बोलाउन सिफारिश गरेको थियो।
प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश सभा सदस्यको निवेदनका आधारमा विशेष अधिवेशन आह्वान गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोशी प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइभन्दा बढी प्रदेश सभा सदस्यहरूको मिति २०८०/१२/२६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम संवत् २०८१ वैशाख ६ गते बिहीबार दिनको १ बजे कोशी प्रदेश सभा हल, विराटनगरमा कोशी प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ।’