काठमाडौंको विद्यालयमा अमेरिकी सेना आएकै हो?
एमसीसीको विरोध गर्दै आएका केही नेता तथा व्यक्तिले काठमाडौंका विद्यालयमा अमेरिकी सेना आएको भनेर टीकाटिप्पणी गरिरहेका छन्। के साँच्चै अमेरिकी सेना आएको हो?
पूर्व राजा ज्ञानेन्द्र शाह चैत २४ मा जुम्ला सदरमुकाम खलंगा पुगे। खलंगास्थित टुँडिखेलमा अभिनन्दन कार्यक्रम थियो। अभिनन्दन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूले नेपालमा अमेरिकी सैनिक आइसकेको भन्दै भाषण दिए।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लागू भएसँगै अमेरिकी सेना आएको उनीहरूको जिकिर थियो। काठमाडौंका विद्यालयमा अमेरिकी सेना आइसकेको उनीहरूको भनाइ थियो।
के साँच्चै अमेरिकी सेना काठमाडौंका विद्यालयमा आएका हो?
अमेरिकी दूतावासले चैत १ गते बिहानै काठमाडौंको महाराजगन्जस्थित शिवपुरी उच्च माविमा सांस्कृतिक कार्यक्रम देखाउने तालिका थियो। बिहान साढे ८ बजेका लागि तोकिएको सांस्कृतिक कार्यक्रममा जब बर्दी सहित अमेरिकी सैनिक टोली विद्यालय प्रांगणमा आइपुग्यो, सबै अलमलमा परे। “बर्दी सहितका सैनिक देखेपछि हामी के गर्ने, कसो गर्ने भनेर अन्योलमा पर्यौं,” प्रधानाध्यापक प्रकाश सुवेदीले हिमालखबरसँग भने।
अमेरिकी दूतावासले विद्यालयमा यस्तो सांस्कृतिक कार्यक्रम विगतमा पनि गर्दै आएको थियो। तर बर्दी सहित सांस्कृतिक टोली पहिलो पटक आएको सुवेदीको भनाइ छ। अनौपचारिक खालको कार्यक्रम भएकाले कतैबाट पनि स्वीकृति नलिई विगतदेखि नै दूतावासलाई कार्यक्रम गर्न दिने अभ्यास रहेको पनि उनले बताए।
परराष्ट्र मन्त्रालयले भने विद्यालयमा बर्दीधारी अमेरिकी सैनिक टोलीले कार्यक्रम गरेको विषयमा अनभिज्ञता प्रकट गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृतबहादुर राईले मन्त्रालयमा यस विषयमा कुनै जानकारी नआएको बताए। “हाम्रो सेनाले पनि अन्य मुलुकमा गएर यस्ता कार्यक्रम गरिरहेको हुन्छ,” परराष्ट्रका प्रवक्ता राईले हिमालखबरसँग भने, “त्यसैले उनीहरू यहाँ आएर सांस्कृतिक कार्यक्रम गर्नु अनौठो कुरा होइन। यो सामान्य र नियमित प्रक्रिया नै हो।”
बर्दी सहितको विदेशी सैनिकले विद्यालयमा सांस्कृतिक कार्यक्रम गर्न सरकारको अनुमति चाहिने/नचाहिने विषयमा भने राईले केही बताउन चाहेनन्। “यसबारे त मैले पनि बुझ्नुपर्छ,” उनले भने।
विदेशी सैनिक टोली नेपाल आउँदा यहाँको समकक्षी नेपाली सेनाको समन्वयमा परराष्ट्र मन्त्रालय मार्फत प्रक्रिया अगाडि बढाइन्छ। द्विपक्षीय तालीम, संयुक्त सैन्य अभ्यास यसै प्रक्रिया मार्फत हुने गरेका छन्।
शिवपुरी उच्च माविमा भएको कार्यक्रमबारे भने नेपाली सेनासँग समेत समन्वय नभएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए। “हामीलाई यस विषयमा केही थाहा छैन,” भण्डारीले भने, “शायद दूतावासले सरकारसँग सोझै समन्वय गरेको होला।”
सरकारले विद्यालयलाई २०५९ सालमै शान्ति क्षेत्र घोषणा गरेको थियो। तत्कालीन विद्रोही नेकपा (माओवादी)ले विद्यालयमा बर्दीधारी लडाकू सहितको कार्यक्रम गर्दै आएको थियो। त्यति वेला कतिपय ठाउँमा त विद्रोही पक्ष र सुरक्षाकर्मीबीच विद्यालयमै दोहोरो भिडन्त भएको थियो। त्यसपछि सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको थियो।
तर विदेशी सैनिक सहितको टोलीले काठमाडौंको विद्यालयमा सरकारी निकायलाई पत्तै नदिई कार्यक्रम गर्यो। प्रधानाध्यापक सुवेदीका अनुसार कार्यक्रमको अवधि एक घण्टा तय गरिएको थियो। “बर्दी सहितको टोली आएपछि आधा घण्टामै सकायौं,” उनले भने, “नौ जनाको टोली विद्यालयमा आएको थियो।”
कुनै लिखित सहमति विनै विद्यालयले कार्यक्रम स्वीकृत गर्ने गरेको पनि सुवेदीले सहर्ष बताए। “स्कूललाई दूतावासले पत्र पठाएको पनि होइन। खालि फोन फोनमै कुरा भएर कार्यक्रम हुने गरेको थियो,” प्रधानाध्यापक सुवेदीले थपे, “यसपालि पनि त्यही अनुसार भएको हो।” अब भने यस्ता कार्यक्रम गर्न दिंदा ख्याल गरिने सुवेदीको भनाइ छ।
दूतावासले विद्यालयलाई वेलावेला पुस्तक, खेल सामग्री सहयोग गर्ने गरेको पनि सुवेदीको भनाइ छ। “स्टेशनरी सामग्री र पुस्तकालय सम्बन्धी तालीमहरू दिने गरेको छ,” उनले भने।
विद्यालयलाई सहयोग गरिरहेकाले पनि सांस्कृतिक कार्यक्रममा सैनिक टोली नै आउँछ भन्ने आफूहरूले आकलन नगरेको सुवेदीको भनाइ छ। “तर कार्यक्रम सकिएपछि के भएको, किन भएको भन्दै प्रहरी र सेनाको फोन आउन थाल्यो,” उनले भने।
शिवपुरी उच्च माविमा सांस्कृतिक कार्यक्रम त भयो तर त्यसैलाई लिएर सामाजिक सञ्जालमा अमेरिकी सेना आएको भन्दै टीकाटिप्पणी गरिएको थियो। अहिले राप्रपाका नेताहरूले पनि त्यसै विषयलाई एमसीसीसँग जोडेर आलोचना गरिरहेका हुन्।
* शीर्षक परिवर्तन गरिएको छ। - सं.