राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) सांसद विमला घिमिरे निर्वाचित भएकी छन्।
बुधबार राष्ट्रिय सभा उपाध्यक्षका लागि भएको निर्वाचनमा घिमिरेले ३९ मत पाइन्। उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लागयतका सांसदले मत दिएका हुन्।
उनलाई राष्ट्रिय सभाकाे उपाध्यक्षमा निर्वाचित गरियोस् भनेर सांसद दुर्गा गुरुङले प्रस्ताव गरेकी थिइन्। पक्षमा ३९ मत परेपछि उक्त प्रस्ताव बहुमतले पारित भएको अध्यक्ष नारायण दाहालले घोषणा गरेका हुन्।
घिमिरेको विपक्षमा १६ मत पर्यो। नेपाली कांग्रेसका सांसदले विपक्षमा मतदान गरेका थिए।
त्यस्तै, नेपाली कांग्रेसबाट राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार विष्णुदेवी पुडासैनीले १६ मत पाइन्। उनलाई नेपाली कांग्रेसका सांसदले मतदान गरेका हुन्।
उनलाई राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित गरियोस् भनेर सांसद भगवती न्यौपानेले प्रस्ताव राखेकी थिइन्। १६ मत मात्रै परेपछि उक्त प्रस्ताव अस्वीकृत भएको सभामुख दाहालले घोषणा गरेका थिए।
उनको विपक्षमा ३९ मत परेको थियो। एमाले, माओवादी, एकीकृत समाजवादी र जसपा लगायतका सांसदले विपक्षमा मतदान गरेका थिए। मतदानमा ५५ सांसद सहभागी थिए।
यसअघि माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी थिइन्। रिक्त उपाध्यक्ष पदका लागि आज निर्वाचन भएको हो।