विपक्षी दलद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध
विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन्।
सहकारीको विषयलाई लिएर गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले शून्य समयको कार्यक्रम शुरू गर्ने बित्तिकै नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विपक्षी दलका सांसदले उठेर विरोध जनाएका हुन्।
सभामुख घिमिरेले सांसदलाई आफ्नो स्थानमा बस्न र छलफलमा सहभागी हुन पटक पटक आग्रह गरेका थिए। सांसदहरूले संसदीय समिति गठनको माग गर्दै नाराबाजी गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका कार्यक्रम हटाएको जानकारी गराएका थिए। त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको आजको बैठक स्थगन गरेका थिए।
प्रतिनिधि सभाको अर्को बैठक २०८१ वैशाख २ गते बिहान ११ बजे बस्ने भएको छ।
यसअघि प्रतिनिधि सभाको बैठकमा बोल्दै विपक्षी दलका सांसदले गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका थिए। उनीहरूले लाखौं सहकारी पीडितको अर्बौं रकम हिनामिना भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताएका थिए।