पार्टीले २० सीट जित्दा मौका नपाएका कँडेल १० सांसदकै बलमा मुख्यमन्त्री
२०७४ सालमा २० सीट जितेर एमाले कर्णाली प्रदेश सभाको सबैभन्दा ठूलो दल बन्दा पनि मुख्यमन्त्री बन्न नसकेका यामलाल कँडेल अहिले पार्टीका १० सांसदकै बलमा सरकारको नेतृत्वमा पुगेका छन्।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेललाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले मंगलबार मुख्यमन्त्री नियुक्त गरेका छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा कँडेल मुख्यमन्त्री बनेका हुन्।
तीन दशकअघि प्रतिनिधि सभा सदस्य निर्वाचित भएर काठमाडौं आएका कँडेल देश संघीय संरचनामा गएपछि भने कर्णाली फर्किएका थिए। २०७४ सालको निर्वाचनमा उनले कर्णाली प्रदेश सभा सदस्यको टिकट रोजेका थिए, जसको एउटै उद्देश्य थियो- मुख्यमन्त्री बन्ने।
प्रदेशमा उनकै नेतृत्वमा एमाले चुनावमा होमिएको थियो। कँडेल कर्णालीका सबै क्षेत्र पुगेर जितका लागि प्रयास पनि गरेका थिए।
त्यस निर्वाचनमा एमाले कर्णालीमा बहुमत नजिक पनि पुग्यो। ४० सदस्यीय प्रदेश सभामा एमालेले २० सीट जितेको थियो। तर केन्द्रको राजनीतिले अर्कै मोड लियो, उनी मुख्यमन्त्री बन्नबाट वञ्चित भए।
त्यति वेला एमाले र माओवादीबीच गठबन्धन बनेको थियो। सत्ता साझेदारी गर्दा कर्णाली सरकारको नेतृत्व माओवादीको भागमा पर्यो। माओवादीबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने।
एमाले र माओवादी एकीकरण भएपछि त पाँचै वर्ष शाहीलाई मुख्यमन्त्री बनाउने तय भयो। एउटै पार्टी भएपछि हटाउन सकिने कुरै भएन। तैपनि कँडेलले मुख्यमन्त्री हुने प्रयास जारी राखे। २०७७ असोज २५ मा मुख्यमन्त्री शाही विरुद्ध अविश्वास प्रस्ताव ल्याए। तत्कालीन नेकपाका १८ जना सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
तर संसदीय दलको बैठकमा एमालेबाट निर्वाचित सांसद नै विभाजित भए। माधवकुमार नेपाल पक्षका सांसदले मुख्यमन्त्री शाहीलाई समर्थन गरे। संसदीय दलको बैठकले अविश्वास प्रस्ताव अस्वीकृत गर्यो।
२०७७ फागुन २३ मा सर्वोच्च अदालतको आदेशबाट एमाले र माओवादी ब्युँतिए। त्यसपछि २०७८ वैशाख १ मा प्रदेश सभामा मुख्यमन्त्री शाही विरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता गरियो। तर एमालेकै चार सांसदले ‘फ्लोर क्रस’ गरेर शाहीका पक्षमा मतदान गरे। फेरि पनि कँडेलको मुख्यमन्त्री बन्ने सपना अधूरै रह्यो।
प्रदेश सभाको पहिलो कार्यकालमा मुख्यमन्त्री बन्ने प्रयास सफल नभएपछि कँडेलले दोस्रो कार्यकालमा पनि कोशिश गरे। २०७९ सालको निर्वाचन लगत्तै एमाले र माओवादी गठबन्धन बन्यो। त्यति वेला उनलाई मुख्यमन्त्री बनाउन माओवादी नेताहरू पनि तयार भएका थिए।
केन्द्रमा एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुखमा पाँच वर्षकै लागि भागबन्डा भएको थियो। माओवादीको भागमा मुख्यमन्त्री र एमालेको भागमा सभामुख परेको थियो। कँडेलले आधा आधा कार्यकाल मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरेका थिए। माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्मा पनि यसमा तयार थिए।
तर एमालेसँगको गठबन्धन भत्काएर माओवादी कांग्रेससँग मिल्यो। कँडेलले गरेको सहमति पनि दुई महीनामै भत्कियो। फेरि पाँच वर्ष सरकारको नेतृत्व गर्न नपाउने पक्का जस्तै ठानेर बसेका थिए।
तर गत फागुन २१ गते एमाले र माओवादीबीच पुनः गठबन्धन भएपछि उनको मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। यस पटक प्रदेशका माओवादी नेताले सहमति नजनाए पनि केन्द्रबाट अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले दबाब दिएपछि मुख्यमन्त्री शर्माले राजीनामा दिएका थिए।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। गठबन्धनमा रहेका माओवादीका १३, एमालेका सभामुख सहित १० र एकीकृत समाजवादीका एक गरी २४ सांसद छन्। प्रदेश सभामा कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्।
को हुन कँडेल?
कँडेल २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन्। उनी २०४९ सालमा वीरेन्द्रनगरको मेयर बनेका थिए। त्यसपछि २०५१ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
२०५५ सालमा उनी मन्त्री पनि बने। त्यति वेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री भएका थिए।
२०५६ सालको प्रतिनिधि सभा सदस्यमा भने उनी पराजित भए। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि भएको २०६४ सालको निर्वाचनमा उनी संविधानसभा सदस्य निर्वाचित भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित हुन पुगे।