असहमतिका स्वरहरूको खोजी
समाजमा दुईपक्षीय बुद्धिजीवी हुन्छन्- सत्तापक्षीय र जनपक्षीय। लेखिका थापर जनपक्षीय बुद्धिजीवी हुन्।
प्राचीन भारतीय इतिहासको ज्ञाता मानिने रोमिला थापरको पुस्तक भोइसेस अफ डिसेन्टले वेदकालीन भारतदेखि सत्याग्रहसम्मका विचारहरूलाई स्थापित इतिहासको विरुद्धमा उभ्याएको छ। पुस्तक थापरले नेमिचन्द मेमोरियल लेक्चर र भीएम ट्राकुन्डे मेमोरियल लेक्चरमा व्यक्त गरेका दुई प्रवचनमा आधारित छ।
जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक थापरले भोइसेस अफ डिसेन्टमा वेदकालीन भारतमै ‘अरू’ हरूको उपस्थिति भएको दाबी गरेकी छन्। थापरले महाभारतका व्यास र दासीको छोरालाई ‘अरू’ को रूप बताएकी छन्। वैदिक कालमा ब्राह्मण बाबु र दासी आमाका सन्तानलाई उनले असहमतिको स्वरको रूपमा लिएकी छन्।
यस्तै, पुस्तकको भाग २ र ३ मा उनले जैन र बौद्धलाई अनीश्वरवादी गैरवैदिक धर्मका रूपमा व्याख्या गर्दै भौतिकवादी चार्वाक् र लोकायत दर्शन पनि प्राचीनकालमा असहमतिको प्रभाव भएको तर्क गरेकी छन्।
बौद्ध धर्ममा ईश्वरको अवधारणा नभए पनि ब्राह्मणहरूले पछि बुद्धलाई विष्णुको नवौं अवतारको रूपमा लिएका थिए। महाभारत र गीतामा सत्यका लागि हिंसालाई अनुमति दिइएको भए पनि जैन र बौद्ध धर्मले हिंसालाई अनुमति दिंदैन।
यस्तै, पुस्तकमा १५ र १६औं शताब्दीको असहमति भक्तिवादी धारालाई भनिएको छ। ‘भारत छोडो’ आन्दोलनमा सन् १९४० को दशकमा बेलायती साम्राज्य विरुद्ध लड्दै गर्दा आधुनिक राष्ट्रवादको जन्म भएको थियो। यस नागरिक अवज्ञा र असहयोग आन्दोलन नै आधुनिक असहमति भएको लेखकको निचोड छ।
हिन्दूत्व र हिन्दू राष्ट्रको राष्ट्रवादी विचारले अहिले भारतलाई शासन गरिरहेको बताउँदै समकालीन सन्दर्भमा नयाँ दिल्लीको साहिनवागमा नागरिक संशोधन कानून र राष्ट्रिय नागरिक दर्ता प्रक्रियालाई लिएर भएको आन्दोलनलाई उनले असहमतिको उदाहरण भनेकी छिन्।
तर पुस्तकमा सन् १९७५ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको आपत्कालका बारेमा बहस गरिएको छैन। यस आपत्कालमा प्रायः सबै विपक्षी दलका नेताहरूलाई गिरफ्तार गरिएको थियो। यस विरुद्ध भएको विरोध आधुनिक भारतको प्रमुख असहमति थियो।
अहिले तेस्रो पटक प्रधानमन्त्री बन्ने उद्देश्यसाथ अगाडि बढिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति असंख्य असहमतिका स्वरहरू गुन्जिएका छन्। अल्पसंख्यक, दलित, इसाई र इस्लाम धर्मावलम्बीहरूका विरुद्ध ज्यादती भएको घटना स्पष्ट छ। हिन्दूत्वको राजनीति गर्ने मोदीले भारतमा धर्मलाई राजनीतिमा मिसाएका छन्। भारत जस्तो बहुजातीय, बहुभाषिक, बहुसंस्कृति र बहुधार्मिक देशको पहिचानलाई धमिल्याएका छन्।
त्यसैले पुस्तकमा सरकारको तजबिजीको विरुद्ध त्यहाँको उच्च अदालतले दिएका फैसलाहरूलाई पनि समावेश गरी विमर्श गरिएको भए न्यायिक असहमतिले पनि स्थान पाउने थियो।
भनिन्छ समाजमा दुईपक्षीय बुद्धिजीवी हुन्छन्- सत्तापक्षीय र जनपक्षीय। लेखिका थापर जनपक्षीय बुद्धिजीवी हुन्। समाज विज्ञानको शैलीमा भन्ने हो भने उनी प्रसिद्ध प्यालेस्टिनी लेखक तथा प्राध्यापक एडवर्ड सइद परम्पराकी बुद्धिजीवी हुन्।
यस्तै, जातप्रथा विरुद्ध भीमराव अम्बेडकरको एननीहिलेशन अफ कास्ट र अशोक वाजपेयीको इन्डियन डिसेन्ट्स : थ्री थाउजेन्ड इयर्स अफ डिसेन्ट्स, डाउट एन्ड आर्गुमेन्टले पनि भारतको असहमतिको इतिहासलाई बुझाउन मद्दत गर्दछन्।
पुस्तक : भोइसेस अफ डिसेन्ट, लेखिका : रोमिला थापर, प्रकाशक : सिगुल, मूल्य : ४९९ भारु., पृष्ठ : २०५