गण्डकीमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर
खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गरिनु असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर भएको छ।
गण्डकीका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कामचलाउ मुख्यमन्त्रीका हैसियतमा आफूलाई नै यथावत् राख्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।
यसअघि गत चैत २५ गते नेकपा (एमाले)का अधिकारी एमालेका २२ सांसदसँगै माओवादीका सभामुख सहित आठ र स्वतन्त्र सांसदको समर्थन देखाएर मुख्यमन्त्री नियुक्त भएका थिए। सभामुखको समर्थनलाई लिएर त्यति वेलै कांग्रेसले विरोध जनाएको थियो। राजीनामा नदिईकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु ‘असंवैधानिक’ भएको कांग्रेसको भनाइ थियो। कांग्रेसले मुख्यमन्त्रीलाई समर्थन गरेका भनिएका ३१ जना प्रदेश सभा सदस्यको हस्ताक्षरको आधिकारिक सनाखत हुनुपर्ने माग गरेको थियो।
पाण्डेले दायर गरेको रिटमा प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारी तथा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ। यस रिटको पेशी भोलिका लागि तोकिएको छ।