दृष्टिविहीन दम्पती जसले स्थायी शिक्षकमा नाम निकाले
खोटाङमा दृष्टिविहीन दम्पतीले शिक्षक सेवा आयोगले लिएको स्थायी अध्यापन अनुमति परीक्षा उत्तीर्ण गरेका छन्।
केपिलासगढी गाउँपालिका-५, सप्तेश्वरका उमेश राई र उनकी श्रीमती सूर्यमाया लिम्बूले प्राथमिक तहमा नाम निकालेका हुन्। मंगलबार गाउँपालिकाबाट उनीहरूले पदस्थापना पत्र लिएका छन्। जस अनुसार राई केपिलासगढी-२ खार्ताम्छास्थित शुक्रजित माविमा र लिम्बू केपिलासगढी-३ बासपानीको मनोकामना आधारभूत विद्यालयमा सिफारिश भएका छन्।
यी दम्पतीले लेखक सहयोगी राखेर परीक्षा दिएका थिए। उनीहरूको २०७७ सालमा विवाह भएको थियो।
यसअघि राई विगत एक वर्षदेखि भगवती मावि बेलबारीमा राहतमा कार्यरत थिए। त्यसअघि उनले दृष्टिविहीनलाई पढाउने पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरानमा सात वर्ष काम गरेका थिए। लिम्बू भने पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्यापन गर्थिन्।
यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११, खार्मीका ३० वर्षीय भक्त विश्वकर्माले पनि स्थायी प्राथमिक शिक्षकमा नाम निकालेका छन्। आठ वर्षको उमेरमा आँखाको ज्योति गुमाएका विश्वकर्माले गत असोज १३ गते सञ्चालित लिखित परीक्षामा कक्षा १० मा अध्ययनरत नवराज भट्टराईलाई लेखक सहयोगी राखेर परीक्षा दिएका थिए।
विश्वकर्माले सोमबारै शिक्षा विकास तथा समन्वय समिति खोटाङबाट नियुक्ति लिइसकेका छन्। पहिलो पल्ट आयोगको परीक्षा दिएका उनले एकैसाथ खुला, दलित र अपांग समूहतर्फ नाम निकालेका थिए।
उनी व्याख्यान, प्रश्नोत्तर र छलफल विधिबाट कक्षा सञ्चालन गर्ने बताउँछन्। “घरमा तयारी गरेर कक्षामा प्रवेश गर्छु। कक्षामा विद्यार्थीलाई पाठ वाचन गर्न लगाएर पनि सिकाउनेछु,” उनले भने, “जस्तै बोटबिरुवाको विषयमा पढाउने हो भने बोटबिरुवा लगेर जरा, काण्ड (हाँगा), पात, फूल लगायत देखाएर पढाउन सकिन्छ। मसँग ट्यूशन पढाएको अनुभव पनि छ।”
विश्वकर्माका अनुसार उनी आठ वर्षको हुँदा टाउकाको पिलो फुटाउने क्रममा आँखाको नसा बिग्रेकाले ज्योति गुमाउनुपरेको थियो।
शैक्षिक योजना र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत विश्वकर्मा विगत दुई वर्षदेखि दिक्तेल इंग्लिस बोर्डिङ स्कूलमा संगीत शिक्षकका रूपमा समेत कार्यरत छन्। साइनो कला केन्द्र, खोटाङका अध्यक्ष समेत रहेका उनका ६ वटा गीत रेकर्ड भइसकेका छन्।