एक वर्षमा आगलागीबाट १०२ जनाको मृत्यु
गत वैशाखदेखि यही चैतको तेस्रो सातासम्म देशभर आगलागीबाट १०२ जनाको मृत्यु भएको छ।
देशका विभिन्न क्षेत्रमा यस अवधिमा तीन हजार ७९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा १०२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। आगलागीबाट यस अवधिमा चार हजार ७२५ परिवार प्रभावित भएका छन्।
यस्तै, आगलागीबाट दुई अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणकी प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिइन्। उनले बीचमा पानी परेका कारण आगलागीका घटना घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गरेकी छन्।
यस वर्ष जाजरकोट भूकम्प बाहेक विपद्मा परी मृत्यु हुने सबैभन्दा बढी आगलागीबाट रहेका छन्। सोही अवधिमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ। सर्पदंशबाट २०, हिमपहिरोमा परेर १२, जनावरको आक्रमणबाट ४३, वन डढेलोबाट पाँच जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ।
वैशाखयताका विपद्जन्य घटनामा ४७७ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ।