वेस्ट इन्डिजको ‘ए’ टोली वैशाखमा नेपाल आउने, यस्तो छ खेलतालिका
टी-२० क्रिकेट प्रतियोगिताका लागि वेस्ट इन्डिजको ‘ए’ टोली वैशाख दोस्रो साता नेपाल आउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट वेस्ट इन्डिज (सीडब्लूआई)बीच यस सम्बन्धी सहमति भएको छ। विश्वकपको तयारीका लागि नेपाली राष्ट्रिय टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग टी-२० शृंखला खेल्न लागेको हो।
नेपाल र वेस्ट इन्डिजबीच पाँच वटा खेल हुनेछ। सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको छ।
पहिलो खेल वैशाख १५ गते हुनेछ। त्यसपछि दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल वैशाख १९ मा, चौथो खेल वैशाख २० र पाँचौं खेल वैशाख २२ मा हुनेछ। सबै खेल दिउँसो १ बजेबाट शुरू हुनेछन्।
यसअघि नेपाल र वेस्ट इन्डिजले एक खेलमा प्रतिस्पर्धा गरेका छन्। गत वर्ष एकदिवसीय विश्वकपको छनोट चरण अन्तर्गत हरारे स्पोर्ट क्लबमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। त्यसमा वेस्ट इन्डिजले नेपाललाई १०१ रनले पराजित गरेको थियो।
आउँदो टी-२० विश्वकपको लिग चरणमा नेपाल र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछैन। नेपाल समूह ‘डी’ मा छ भने वेस्ट इन्डिज समूह ‘सी’ मा रहेको छ। नेपालले नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। वेस्ट इन्डिजले पपुवा न्यूगिनी, युगान्डा, न्यूजिल्यान्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।