सशस्त्र प्रहरी गोदाम आगलागी घटनाको छानबिन गर्न समिति गठन
काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुंगलस्थित सशस्त्र प्रहरी बलको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले बताए।
के कारणले आगलागी भयो? आगलागीबाट के कति क्षति भयो? लगायतका विषयमा छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको उनले बताए। समितिमा विज्ञ पनि भएकाले छानबिनपछि मात्रै यकीन जानकारी दिन सकिने उनको भनाइ छ।
हालको प्रारम्भिक अनुसन्धानमा विद्युत् चुहावट भएर नै आगलागी भएको आकलन गरिएको प्रवक्ता खड्काले बताए। उनका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री गोदाममै राख्ने गरिएको थियो।