कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय
नेकपा (माओवादी केन्द्र)ले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
माओवादीको कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। “सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ,” माओवादी सांसद एवं पूर्व सभामुख बाबुराम गौतमले भने।
यससँगै माओवादी मन्त्रीले राजीनामा दिने भएका छन्। आजै राजीनामा दिएर समर्थन फिर्ता लिने निर्णय भएको उनले बताए। प्रदेश सरकारमा माओवादीबाट तीन जना मन्त्री छन्।
नयाँ सत्ता गठबन्धन बनेपछि नेकपा (एमाले) र माओवादी नेताहरू केही दिनदेखि कोशी सरकारबारे छलफलमा थिए। दुवै पार्टीले समर्थन फिर्ता लिने सहमति गरेका छन्। त्यही अनुसार माओवादी संसदीय दलले निर्णय गरेको हो।
दुवै दलले प्रदेश प्रमुखलाई भेटेर बहुमत दाबी गर्ने उनको भनाइ छ। यससँगै विशेष अधिवेशन बोलाउनका लागि निवेदन दिने पनि एमाले र माओवादीको तयारी छ।