नुन किन्न पनि नागरिकता अनिवार्य
हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले १० किलोग्राम नुन किन्न नागरिकता पेश गर्नु परिरहेको छ।
सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन बिक्री गर्दै आएको छ। उनीहरूलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए।
एक जनाबाट १० किलो नुनको ९० रुपैयाँ लिने गरिएको छ। “प्रतिकिलो नौ पर्छ। एक बोरामा पचास प्याकेट नुन हुन्छ,” कार्यालय प्रमुख लामाले भने, “पूरै बोरा ४५० रुपैयाँमा बिक्री हुँदै आएको छ।”
प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेश गरेपछि नुन किन्न पाइन्छ। सदरमुकाम सिमकोटमा तीन पालिका सहित जिल्लाभरका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताको आधारमा १० किलो वितरण गर्न थालिएको उनको भनाइ छ।
लामाका अनुसार आर्थिक वर्ष २०८०/८१ का लागि जिल्लामा एक हजार ५०० क्विन्टल नुन आइपुगेको छ। जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर बिक्री गरिने उनले बताए।
झन्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई नुन वितरण गरिएको गाउँपालिकाले जनाएका छन्। चंखेली गाउँपालिकामा ३८७, सर्केगाडमा ४८५, अदानचुलीमा ४८५ र ताँजाकोटमा ४०० क्विन्टल नुन वितरण भएको उनले बताए।
जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको लामाले बताए। चंखेली–५ को नेप्का र उत्तरी नाम्खा–६ को लिमीमा मात्रै ढिके नुनको प्रयोग हुँदै आएको कर्पोरेशनको तथ्यांक छ। -रासस