किन नघटून् त मान्छे!
घरीघरी खडेरी र अनिकालसँग जुध्दै आएका धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङका बस्ती सरकारले हेर्नै छाडेपछि २० वर्षयता निरन्तर रित्तिंदै छन्।
- तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नं. ३, पहिलेको पञ्चकन्या पोखरी गाउँ विकास समिति। बितेका २० वर्षमा यहाँ ४० प्रतिशत मानिस घटे।
- यहाँभन्दा अलिकति उत्तरपूर्वमा पर्ने थोक्लुङमा योभन्दा बढी अर्थात् ४२ प्रतिशत मानिस घटे।
- दक्षिणमा तमरपूर्व पर्ने धनकुटा जिल्लाको कुरुले तेनुपामा त झन्डै ४४ प्रतिशत मानिस पो घटे।
- पञ्चकन्याको सोझै पूर्व तमरपारि पाँचथरको स्याबरुम्बामा पनि ३० प्रतिशत मानिस घटे।
तमर नदीका उत्तर र दक्षिणमा रहेका धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङका गाउँमा मानिस घट्ने महामारी चलेको छ। यो महामारी केले फैलायो, यकीन गरेर कसैले भन्न सक्दैन। धेरैमध्येको एउटा मुख्य कारण चाहिं खडेरी हो जुन यहाँ बारम्बार लागिरहन्छ।
छथर गाउँपालिकाकी उपाध्यक्ष तारा खरेल ढकालका अनुसार चार-पाँच वर्ष पहिले त्यहाँ निकै ठूलो खडेरी लाग्यो। हुर्किंदै गरेका मकैका बोट सुकेर पराल जस्ता भए। हाहाकार मच्चियो। किसानलाई राहत दिन गाउँपालिकाले तिरो मिनाहा गर्नुपर्यो।
“असारको अन्त्यसम्मै खडेरी लाग्दा यहाँको मुख्य बाली मकै बिग्रियो,” छथर-३, पञ्चकन्या पोखरीका वडाध्यक्ष देउमान लिम्बू भन्छन्।
यो खडेरी २०७५ सालको हो। त्यस वर्ष तेह्रथुममा वर्षभरको औसतको ३६ र बर्खा यामको औसतको ४६ प्रतिशत कम पानी परेको थियो। हिउँदे बाली हुने वेलामा पानी पर्दै परेन। ती दुई महीनामा परेको ५ एमएम पानीलाई पनि के पानी भन्नु!
तेह्रथुमको वर्षा नाप्ने ठाउँ अलि अग्लाइमा भएकाले र अग्लो ठाउँमा बढी पानी पर्ने भएकाले तल्लो भेगमा त्यति पनि पानी नपरेको प्रस्ट हुन्छ।
मुहान नभएकाले यहाँ कुलो खनेर सिंचाइ गर्न पाइँदैन। “बारीको पुच्छरबाट बगेको तमर नदीबाट पानी तानेर सिंचाइ गर्न सकिंदैन,” उपाध्यक्ष ढकाल भन्छिन्। त्यसैले त यो वडामा २०६८ देखि ०७८ सालका बीचमा मात्रै ३१ प्रतिशत मानिस घटे।
छथर गाउँपालिकाकै फाक्चामारा पहिल्यैदेखि सुक्खाले ग्रस्त ठाउँ हो। सिंचाइको सुविधा पहिले पनि थिएन। भएका खोला पनि यता आएर सुके। त्यसैले त्यहाँका हाक्पारे, बतासे, सिङ्जेन, परेवाखोपमा २०७५ सालमा गहत, मास, बदाम, जुनेलो र मकै केही पनि फलेन।
छथर-४ का वडाध्यक्ष पुष्पबहादुर कार्की भन्छन्, “यहाँबाट बसाइँसराइ तीव्र छ। २०७४ सालमा चुनाव भइसकेपछि धेरै मानिस धरान र झापाको दमकतिर बसाइँ गए। पालिकाको पछिल्लो चुनावमा मेरो वडामा दुई हजार ५०० मत खस्नुपर्नेमा एक हजार १२५ मात्र खस्यो।”
कार्कीको वडाबाट २०६८ र २०७८ सालका बीचमा २६ प्रतिशत मानिस घटेका थिए।
तेह्रथुममा जति चर्को गरी नभए पनि त्यस वर्ष छिमेकी जिल्ला ताप्लेजुङ, पाँचथर र धनकुटामा पनि खडेरी पर्यो। जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार त्यस साल धनकुटामा वर्षभरिको औसतको २३ र बर्खा यामको औसतको २८ प्रतिशत कम पानी पर्यो। ताप्लेजुङमा वर्षभरिको औसतको २३ र बर्खाको औसतको २२ प्रतिशत कम पानी पर्यो। पाँचथरमा यही आँकडा क्रमशः २४ र ३१ प्रतिशत रह्यो।
पञ्चकन्याको दक्षिणमा तमर नदीको पूर्वी पाखोमा पर्ने कुरुले तेनुपामा पानी नहुनाले हिउँदे खेती हुँदैन। बर्खा लागेपछि मकै, कोदो, बोडी, दाल हुन्छ। धान तल्लो भेगमा मात्रै रोपिन्छ।
२०७५ सालमा खडेरी परेकाले त्यहाँ बर्खे र हिउँदे दुवै याममा मकै फलेन, हिउँदको शुरूमा पाक्ने कोदो पनि भएन। कुरुले तेनुपाको नजिकै मूलघाटमा रहेको वर्षामापन केन्द्रले त्यहाँ वर्षभरको औसतको २० र बर्खायामको औसतको २४ प्रतिशत कम पानी परेको देखाएको थियो।
त्यस वर्ष त्यहाँका तीन-चार सय परिवारलाई नगद राहत बाँडियो। अरू वेलाको जस्तै त्यति वेला पनि नगद राहतबाट ठोस काम भएन, त्यत्तिकै मासियो।
“हुनेखानेले त मधेशबाट ल्याएर खान्छन्। नसक्नेले पाए मजदूरी गर्ने हो। त्यो नपाए यसो गरौं, उसो गरौं भन्ने उपायै हुँदैन। विकराल अवस्था छ,” चौबिसे गाउँपालिका-३ का वडाध्यक्ष मदन तुम्सा भन्छन्।
वातावरणविद् मधुकर उपाध्याका अनुसार बर्खामा पानी बोकेर यता आएको बादलले महाभारतको डाँडामा पुगुन्जेल प्रशस्त पानी पार्छ तर त्यहाँबाट उत्तर लागेपछि खोंचको गर्मीले गर्दा बादल अझ उकालिन्छ। यसले गर्दा तमर नदी पूर्वदक्षिण बगेको ठाउँका उत्तर र दक्षिणका पाखामा पानी कम पर्छ।
उदाहरणका लागि, मधेशको शिरमा रहेको धरान बजारमा बर्खामा सरदर १६७५ मिमि पानी पर्छ। त्यहाँबाट बादल एउटा डाँडा काटेर १५ किलोमिटर उडिनसक्दै पुग्ने मूलघाटमा धरानको आधाभन्दा कम मात्र पानी पर्छ। मूलघाटबाट ५/६ किलोमिटर उडेर धनकुटामाथि पुग्दा बादल अझ बढी आकाशिइसकेको हुन्छ। त्यहाँ मूलघाटमा परे जति पानी पनि पर्दैन। धनकुटामा धरानमा परेको पानीको ४० प्रतिशत पनि पर्दैन।
त्यसभन्दा पूर्वको अवस्था पनि उस्तै छ। झापाको दमकमा बर्खामा सरदर जति पानी पर्छ, ५२ किलोमिटर सीधा माथि पर्ने तेह्रथुमको म्याङलुङ बजारमा त्यसको झन्डै एकतिहाइ मात्र पर्छ। झापाकै गैंडेमा बर्खामा दुई हजार १२३ मिमि पानी पर्छ। त्यहाँबाट ५० किलोमिटर उक्लँदा पुगिने फिदिम बजारमा त्यसको आधाभन्दा कम पर्छ।
तैतै फिदिम तमर नदीको दक्षिणको अग्लो पहाड नजिक भएकाले त्यहाँ बादलले महाभारतको चिसो डाँडामा छाडेको पानीका अलि धेरै बाछिटा पर्छन् र तमरको उत्तरको औलभन्दा अलि बढी पानी पर्छ।
धनकुटाबाट आठ किलोमिटर उत्तरपश्चिम उक्लँदा पुगिने पाख्रीबासमा धनकुटा बजारको भन्दा झन्डै दुई गुणा पानी पर्छ। फिदिमबाट २५ किलोमिटर उत्तर उड्दा पुगिने ताप्लेजुङ बजारमा फिदिममा भन्दा डेढ गुणा पानी पर्छ।
प्रकृतिको यस्तो प्रकृतिले गर्दा तमरका दुवै किनारका ठाउँ सुक्खा हुन्छन्। त्यसमाथि प्रकृतिको अर्को प्रकृतिले गर्दा पानी सबै वर्ष समान रूपमा पर्दैन। त्यसैले,
- यसै पनि कम पानी पर्ने तेह्रथुममा बितेका ४२ वर्षमा मुख्य बाली लगाउने याम बर्खामा १९ वर्ष औसतभन्दा कम पानी पर्यो।
- धनकुटामा बितेका ७१ वर्षमध्ये ३६ वर्ष बर्खामा औसतभन्दा कम पानी पर्यो।
- मूलघाटमा बितेका ६० वर्षमा ३१ बर्खामा वर्ष औसतभन्दा कम पानी पर्यो।
- पाँचथरमा पानीको रेकर्ड राखिएका ४३ वर्षमा २० वर्ष बर्खामा औसतभन्दा कम पानी पर्यो।
- ताप्लेजुङमा बितेका ६५ वर्षमा ३२ वर्ष बर्खामा औसतभन्दा कम पानी पर्यो।
यसरी खडेरीको समस्या मूलतः तमर नदी किनारका दुवै पाखामा छ। औलमा अझ बढी छ। मान्छे घट्ने महामारी पनि यस्तै ठाउँमा बढी फैलिएको छ।
यो समस्या एक पटकको मात्र होइन। पञ्चकन्याभन्दा अलि उत्तर इवा, सिम्लेकी डिकुरादेवी थपलिया २०१८ सालको खडेरी सम्झन्छिन्। उनी भन्छिन्, “त्यति वेला कस्तै खडेरीमा पनि नसुक्ने मूल भएका थोरै बाहेक सबै खेत बाँझिए।”
केही मानिसले धान नरोपिएपछि खेतमा पनि मकै छर्ने विचार गरेका थिए तर मान्छे मरेका बेला किरिया गर्न धानै चाहिन्छ, मकैले काम दिंदैन भनेर धानै रोप्ने भए। त्यसमाथि उनीहरूलाई के थाहा थियो भने धान रोप्ने वेलामा नपरेको पानी त्यस वर्ष अलि पछि पर्छ। मकै रोप्दा पनि डुबेर पछि मरी नै हाल्छ।
त्यस वर्ष भदौको शुरूमा मात्र पानी पर्यो। असारमा रोपिसक्नुपर्ने बीउ ब्याडमै पसाइसकेको थियो। तैपनि मानिसले त्यही बीउ रोपे। ब्याडमै मुना हालेको धान वेलामा रोपेको धानको दश भागको एक भाग पनि फल्दैन।
त्यस वर्ष इवाका मानिसले नयाँ अनुभव गरे- ब्याडमै फुलेर भदौमै फलेको मध्ये छेउ र भित्तातिरको धान ढुकुर र चरामुसाले खाइसकेका थिए। गराका माझको धान बचेको थियो। त्यो धान कस्तो हुँदो रहेछ भनेर मानिसले भेला गरे। डिकुरादेवीले पाँच पाथी भेला गरेकी थिइन्। त्यसलाई सुकाएर कुट्दा पुरानो धानका जस्ता सग्ला चामल निक्लिए। भात पकाउँदा पनि पुराना धानका चामलको जस्तो गरी बढ्यो।
वर्षाको रेकर्डले पनि डिकुरादेवीले भनेको कुरा सही भएको देखाउँछ। त्यति वेला तेह्रथुम र फिदिममा वर्षाको रेकर्ड राख्ने चलन थिएन। तेह्रथुमको छिमेकी जिल्ला धनकुटामा राखिएको रेकर्ड अनुसार त्यस वर्ष असार ९ र १० गते दुई दिनमा ३८५ एमएम पानी पर्यो। धान रोप्ने र रोपेको धान हुर्कने त्यसपछिका ५६ दिनमा १८० एमएम मात्र पानी पर्यो। दिनैपिच्छे जस्तो पानी पर्नुपर्ने वेलामा लगातार १६ दिनसम्म एक थोपा पनि परेन।
त्यसको चार वर्षपछि त्यहाँ फेरि ठूलो खडेरी पर्यो। त्यसले गर्दा २०२२ सालको अन्त्य र २०२३ सालको शुरूमा महाअनिकाल लाग्यो। इवाका त्यति वेलाका शिक्षक शेरबहादुर इङ्नाम पापो याक्थुङ्वाका अनुसार मानिसले बाँको र केराको गानो काटेर सुकाई पीठो बनाएर भोक टारे झैं गर्नुपर्यो।
यसरी भोकमरी फैलिएपछि त्यस भेगका ह्वाकु, इवा, पोखरी, चुहानडाँडाका बासिन्दा र प्रहरी थानाका प्रतिनिधिको भेला बोलाइयो। जोसँग अन्न बढी छ उसलाई बेच्न अनुरोध गरियो। कसैले पनि बिक्री गर्ने अन्न छ भनेनन्। घर खानतलासी गरौं र लुकाइएका अन्न पैसा दिएर लिई अन्न नहुनेलाई बेचौं भनी छलफल हुँदा प्रहरीले त्यसो गर्न मिल्दैन भन्यो।
त्यसपछि सरकारसँग अन्न माग्ने निधो भयो। शेरबहादुर र अर्का शिक्षक सूर्यप्रसाद कन्दङ्वा धनकुटा गए र बडाहाकिम रत्नबहादुर गुरुङलाई भेटे। बडाहाकिमले एकै वचनमा भने, “चामल धरानमा छ, त्यहींबाट दिउँला, बोक्न मान्छे पठाऊ।”
भोका मान्छे, खेतीका वेला १०/१२ दिन लगाएर धरानबाट चामल कसरी बोक्नु भनेपछि बडाहाकिमले हवाईजहाजबाट ल्याइदिने आश्वासन दिए। खाम्लालुङको लिही ढुंगाको चौरमा चामल खसाइदिए। त्यस वर्ष तेह्रथुमका अरू भाग अनि ताप्लेजुङ समेतमा अनिकाल परेकाले हवाईजहाजबाट चामल खसाइएको थियो। यो चामल ह्वाकु, इवा, पोखरी, चुहानडाँडा, मूलपानी, डाँडागाउँ, सामलालुङ, सम्दु, इसिबु र सिम्ले गाउँ पञ्चायतकाले बाँडेर खाए।
२०२९ सालमा यहाँ फेरि खडेरी पर्यो, अनिकाल लाग्यो। ब्रिटिश शाही वायु सेनाको हर्कुलस विमानले ताप्लेजुङमा २४ मेट्रिक टन, तेह्रथुममा साढे २६ मेट्रिक टन खाद्यान्न खसालिदिएकाले त्यहाँका मानिसले प्राण धाने।
२०२९ सालको चैत र २०३० सालको वैशाखमा नेपालभर सुक्खा र गर्मी भयो। झापा, इलाम र पाँचथर लगायत ठाउँमा मानिसले मकै छर्न पाएनन्। २०३४ सालमा फेरि खडेरी र अनिकाल टुप्लुक्क त्यहाँ पुगे। राष्ट्रिय समाचार समिति (रासस)को समाचार अनुसार धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङको मकै बाली बिग्रियो। मानिसले धान लगाउन पाएनन्। धनकुटा जिल्लामा मकै र धान बाली आधा बिग्रिए। त्यहाँ मात्र पाँच हजार मन अन्न अपुग हुने भयो।
धनकुटाका सात वटा गाउँ पञ्चायतमा बालीनाली एकदमै बिग्रियो। १० वटा गाउँ पञ्चायतमा मकै र कोदो आधा मात्र फल्यो। धान पनि सधैंको भन्दा ३० प्रतिशत कम फल्यो। तेह्रथुमका १२ वटा गाउँ पञ्चायतमा भोकमरी लाग्ने भयो।
सरकारी सञ्चारमाध्यम भएकाले सनसनी नफैलाउने स्वभाव भएको राससले दिएको एउटा समाचार भने सनसनी फैलाउने खालको थियो। उसले लेखेको थियो- खडेरीले ल्याएको अनिकालले गर्दा तेह्रथुमका कति मानिस मधेश पसे। कति धरान-धनकुटा राजमार्गमा कुल्ली काम गर्न थाले। कति मानिस कामको खोजीमा अन्त लागे।
पानी परेका वर्ष त तेह्रथुममा यस्तो हुँदैनथ्यो। त्यसको अघिल्लो वर्ष तेह्रथुममा पठाइएको नेपाल खाद्य संस्थानको २०० मेट्रिक टन चामलमध्ये ५० मेट्रिक टन मात्र बिक्री भएको थियो। बाँकी गोदाममै थन्किएको थियो। तर खडेरी र अनिकाल यतातिर चाँडो चाँडो आउँछन्। त्यसैले २०३६ सालमा आठराईको संक्रान्ति र छथर शुक्रबारे गरी दुई ठाउँमा नेपाल खाद्य संस्थानका दुई वटा डिपो खोलिए।
२०३८ सालमा फेरि खडेरी पर्यो, मानिसले जसोतसो खपे। २०३९ सालमा त्योभन्दा ठूलो खडेरी पर्यो। तेह्रथुममा त्यस वर्षको बर्खामा २५४ एमएम मात्र पानी पर्यो जुन त्यहाँको बर्खाको औसतको ३८ प्रतिशत मात्र हो। त्यहाँ यति थोरै पानी परेको रेकर्ड त्यसअघि थिएन, त्यसपछि पनि छैन। यस्तै गरी ताप्लेजुङमा पनि त्यस बर्खामा जति थोरै पानी रेकर्ड राख्न थालिएका त्यसअघिका ३० वर्षमा परेको थिएन। यसपछि हालसम्म एक पटक मात्र त्यसभन्दा थोर पानी परेको छ। पाँचथर र धनकुटामा पनि त्यस वर्षको बर्खामा औसतभन्दा कम पानी पर्यो।
खडेरीको असर कस्तोसम्म पर्यो भने त्यस वर्ष जेठ-असार (जून)मा मूलघाटमा तमर नदीको बहाव त्यस महीनाको औसत अधिकतम बहावभन्दा आधा तल झर्यो। यसअघि अधिकतम पानी यति थोरै भएको रेकर्ड छैन।
यस्तै गरी साउन-भदौ (अगस्ट) महीनामा अधिकतम बहाव औसत अधिकतमको ४२ प्रतिशत मात्र भयो। भदौ-असोज (सेप्टेम्बर) महीना झन् खराब भयो। त्यस महीनाको अधिकतम पानी औसत अधिकतमको १५ प्रतिशत मात्र भयो। यस महीनामा यति थोरै पानी त्यसअघि पनि बगेको थिएन, त्यसपछि पनि बगेको छैन।
यसरी पानी घट्दा बर्खे बाली बिग्रियो। मनसुन सकिएपछि असोज-कातिक (अक्टोबर) महीनामा पनि तमरमा अधिकतम पानी औसतको ३० प्रतिशत मात्र बगेको थियो। यस महीनामा तमरमा पानीको अधिकतम बहाव यसअघि कहिल्यै यति थोरै थिएन।
तमरका दुवै पाखामा यस्तो खडेरी परेकाले पाँचथरका धेरै भागमा मकैका बोट सुके। मकै बाली ९० प्रतिशत बिग्रियो। धानको बीउ ब्याडमै सुक्यो। ८० प्रतिशत खेतमा धान रोपिएन। तमर किनारका यासोक, रानी गाउँ, स्याबरुम्बा लगायत ठाउँमा फलफूल पनि बिग्रिए। तेह्रथुम, पाँचथरमा मालपोत मिनाहा गरियो। धनकुटाका नौ वटा पञ्चायतका मानिसलाई आधा मालपोत मिनाहा गरियो। यसो गर्दा किसानले रु.४३ हजार मालपोत मिनाहा पाए।
ताप्लेजुङमा अन्नको भाउ जथाभावी नबढोस् भनेर सातापिच्छे दुई मेट्रिक टन चामल कुपन विनै सर्वसाधारणलाई वितरण गर्न थालियो।
त्यस वर्ष तमर किनारका गाउँको भोकमरी टार्न नेपाल खाद्य संस्थानले धनकुटा र इलाममा रिले केन्द्र स्थापना गर्यो। तेह्रथुमका बासिन्दालाई ५,५०० मेट्रिक टन मकै र गहुँ बाँडिने भयो। यस्तै गरी इलामबाट पाँचथरलाई यति नै क्विन्टल गहुँ र मकै दिइयो। तेह्रथुम, पाँचथर र ताप्लेजुङलाई दिइआएको खाद्यान्न छुट्टै पठाइएको थियो।
खडेरी र भोकमरीले सताएका तेह्रथुमका गाउँमा ‘अन्न चाहिन्छ भने धनकुटा बजार जानू’ भन्ने खबर फैलिएपछि हुलका हुल मान्छे भोको पेटको पछाडि रित्तो ढाकर बोकेर धनकुटा बजार गए। त्यस हुलको नेतृत्व गाउँ पञ्चायतका सम्बन्धित वडा सदस्यले गरेका थिए। उनले यी मानिस मेरा वडाका हुन् भनेर चिनाइदिएपछि एक जनालाई १०० केजी अन्न दिइन्थ्यो।
अन्न लिन गएका मानिसले गर्दा धनकुटा बजारमा मेला लागे जस्तो भएको थियो। तेह्रथुमको पूर्वी र उत्तरी भेगका बासिन्दाले आफूले पाएको अन्न तमर किनारको मूलघाटसम्म गाडीमा लगे। त्यहाँ कतिले गहुँ मिलमा पिंधाए। कतिले सिंगै गहुँ घर लगे। तीन/चार दिन लगाएर गहुँको भारी घर पुर्याए।
हिउँदे पानी कम पर्ने हुनाले तेह्रथुम गहुँ लगाउन उपयुक्त ठाउँ होइन। त्यसैले त्यहाँ गहुँ पिंध्ने र त्यसको परिकार बनाउने विधि थिएन। गहुँका परिकार खाने बानी पनि थिएन। तैपनि मकैभन्दा मीठो होला भनेर उनीहरूले गहुँ रोजेका थिए।
कतिले चाहिं अलि नमिठो लाग्ने भए पनि खाइआएको अन्न मकै नै रोजेका थिए।
२०३९ फागुनदेखि २०४० वैशाख २७ गतेसम्म झन्डै दुई हजार ५०० परिवार तेह्रथुमेले धनकुटा गएर मकै र गहुँ बुझेका थिए। यसरी लिएको अन्नको रिन उनीहरूले आफ्नो ठाउँमा काम गरेर चुक्ता गर्नुपर्थ्यो।
जसले गहुँ रोजेका थिए तिनका घरमा भारतीय गहुँ पाक्यो। जसले मकै रोजेका थिए तिनका घरमा चिनियाँ मकै पाक्यो। यसरी दुईतिरका दुई छिमेकीले गर्दा त्यस वर्ष तमर किनारका बासिन्दाको ज्यान बच्यो।
त्यस वर्ष नेपालका धेरै भागमा खडेरी परेको थियो। त्यसैले सरकारले चामल निर्यात गर्न रोक लगायो। पानी र अन्नको भण्डार अनि अन्ननिर्यातक भनेर गर्व गर्ने कृषिप्रधान देश नेपालका बासिन्दाले प्राण धान्न मरुभूमिको देशसँग हात पसार्नुपर्यो। यसो गरेपछि साउदी अरेबियाले पाँच हजार मेट्रिक टन चामल र दुई हजार ५०० मेट्रिक टन गहुँ पठाइदियो।
त्यसको १४ वर्षपछि २०५३ साल चैतमा हामी उही माथि भनिएको पञ्चकन्या गाउँ पुगेका थियौं। सुक्खा खडेरीबारे पञ्चकन्याकी नरमाया तामाङ र पाँचथरको लुकुवाका जयमान लिम्बूसँग कुरा गरेका थियौं।
उनीहरूले भनेका थिए- खेतीपाती गर्न सजिलै छ तर मेहनत गरे जस्तो फल्दैन। पानी परेका वेला खेतबारी चिसो भइन्जेल त बाली राम्रो हुन्छ, नपरेका वेला सुक्खा जर्ती लाग्छ। कुनै अन्न फल्दैन। भगवान्ले पानी बर्साइदिए भने हात थापेर खायो, बर्साइदिएनन् भने दुःख हुन्छ। अब घाम लाग्न थाल्यो। १०, १२, १५ दिनमा जमीन सबै सुक्छ, बोटबिरुवा खत्तम हुन्छन्। हाम्रो ठाउँको मुख्य समस्या यही हो।
“पोहोर र अहिलेको साल चाहिं अलि राम्रो भयो। परार दुई वर्ष त त्यत्तिकै भयो,” नरमायाले भनेकी थिइन्। जयमानले चाहिं भनेका थिए, “पोहोर बर्खा त खेती राम्रो भयो, हिउँदे बाली सुक्यो।”
हो, जयमान र नरमायाले भने जस्तै गरी २०५१ सालको बर्खामा तेह्रथुम र धनकुटामा पानी कम परेको थियो। मुख्य बाली लगाउने याम बर्खाका चार महीनामा धनकुटामा ५४१ एमएम र तेह्रथुममा ६०५ एमएम मात्र पानी परेको थियो। धनकुटा, तेह्रथुम र पाँचथरमा त्यस वर्ष अघिल्लो वर्षको दुई तिहाइ मात्र पानी पर्यो। धान पसाउने र हिउँदे मकै, कोदो, मास, मस्याम हुर्कने वेला असोज ४ देखि तेह्रथुम, धनकुटा र पाँचथरमा एक थोपा पानी परेन।
“वरपरका, खेत भएका ठाउँका मान्छे यहाँ आए भने कस्तो उराठलाग्दो रहेछ तिमीहरूको ठाउँ भन्छन्,” नरमायाले भनेकी थिइन्।
“अलि राम्रो ठाउँमा बस्ने मान्छेलाई यो ठाउँ आँखै लाग्दैन नि! यस्तो ठाउँ रुँगेर बसेका रहेछन् भन्छन्,” जयमानले भनेका थिए।
जयमानले भनेका थिए, “बस्नका लागि त सुखै छ तर के खाने भन्ने समस्या छ। यहाँ धान हुँदैन। अछेताका लागि समेत चामल किन्नुपर्छ। मकै, जुनेलो अलि अलि फल्यो भने त्यसले ५/६ महीना मात्र खान पुग्छ। बाँकी महीना अन्न किन्नुपर्छ, बेसाउनुपर्छ। सम्पत्ति हुनेहरू त जग्गा किनेर अरू ठाउँ सर्न पाउँछन्। हामी सम्पत्ति नहुनेहरू जाऊँ भने कहाँ जानु र? जिजुचेप्जुले रुङेको ठाउँ रुङेर बसेका छौं। नरुङेर के गर्ने त !”
नरमायाले भनेकी थिइन्, “पानी परिदिए त सजिलै छ, पानी नपर्दा यो ठाउँ छाडेर जाऊँ जस्तो लाग्छ।”
पहिले चार साल पानी नपर्दा नरमायाहरूमध्ये कोही माथि लेकको सिंधुवा बजार गए, कोही औलको मधेश झरे। अन्न बेसाए, खाए। “त्यसो नगरेर के गर्नु त? तर त्यसो गर्दा रिनमा चुर्लुम्मै डुबिन्छ। बाख्रावस्तु पालेको छ भने त्यही बेच्यो, छैन भने रिन काढ्यो। रिन पनि पाइएन भने चाहिं मर्यो मान्छे त्यत्तिकै !” नरमायाले भनेकी थिइन्।
त्यस ठाउँमा पहिले जसरी नै घरीघरी खडेरी परिरहन्छ, अनिकाल लागिरहन्छ। फरक के मात्रै छ भने ती ठाउँका मानिसको ज्यान बचाउन सरकारले पहिले जसरी प्रयास गर्न छाड्यो। पहिले यी जिल्लामा धेरै चामल पठाउने नेपाल खाद्य संस्थान (हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड)ले ताप्लेजुङ सदरमुकाम बाहेक यताका अरू सबै ठाउँबाट बिक्री डिपो हटायो। यी ठाउँमा गाडी पुगेको निहुँ पारेर। गाडी पुगे पनि पैसा नहुनेले महंगो चामल किनेर खान सक्दैनन् भन्ने कुराको वास्ता सरकारले गरेन।
यसबीचमा अर्को एउटा कुरा फेरियो। जयमान र नरमाया जस्ता मानिसहरू भन्ने गर्थे, ‘सम्पत्ति हुनेहरू त जग्गा किनेर अरू ठाउँ सर्न पाउँछन्। हामी सम्पत्ति नहुनेहरू जाऊँ भने कहाँ जानु र? जिजुचेप्जुले रुङेको ठाउँ रुङेर बसेका छौं। नरुङेर के गर्ने त !’
त्यसैले पानी नपरेका वेला यो ठाउँ छाडेर जाऊँ जस्तो लागे पनि उनीहरू त्यहीं बस्थे।
उनीहरूका सन्तानका लागि नयाँ अवसर आयो- विदेश गएर काम गर्ने। त्यसैले नेपालका अरू भेगबाट जस्तै तमरका दुईतिरका किनारका गाउँबाट विदेश जाने चलन मडारियो। कति धेरै मडारियो भने यी जिल्ला जनसंख्याका तुलनामा सबैभन्दा बढी कामदार विदेश पठाउनेमध्ये पर्छन्। २०६१ सालदेखि अहिलेसम्म श्रम विभागबाट श्रम स्वीकृति लिएका विभिन्न जिल्लाका कामदारको संख्यालाई ती जिल्लाको जनसंख्यासँग तुलना गर्दा कामका लागि बढी मानिस विदेश पठाउनेमा पाँचथर दोस्रो, तेह्रथुम तेस्रो, धनकुटा छैटौं र ताप्लेजुङ आठौं ठूला जिल्ला भएको प्रस्ट हुन्छ (खोटाङ पहिलो, भोजपुर चौथो, म्याग्दी पाँचौं र लमजुङ सातौंमा पर्छन्।)
“मेरो वडामा कामका लागि युवा विदेश नगएको एउटा पनि घर छैन,” वडाध्यक्ष कार्की भन्छन्।
झापा र धनुषा जस्ता संख्याका हिसाबले धेरै मानिस विदेश पठाउने जिल्लामा मानिस घटेका छैनन् किनभने त्यहाँका मानिस विदेश जान्छन्, फर्केर त्यहीं आउँछन्। तर धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जस्ता ठाउँबाट विदेश गएका मानिस पुर्ख्यौली थलोमा फर्कन रमाउँदैनन्। वडाध्यक्ष लिम्बू भन्छन्, “यसरी विदेश जानेहरूले अलिअलि पैसा भएपछि आफ्ना परिवार बजारमा राख्छन्। अन्त एक टुक्रा घडेरी किन्न सक्ने पैसा कमाएर घर फर्केपछि बसाइँ सर्छन्।”
चौबिसे गाउँपालिकाका उपाध्यक्ष टंकमाया पांगामी भन्छिन्, “चौबिसे गाउँपालिकाका ३ र ४ नं. वडामा पानी नै नभएर बसाइँ गएको भन्ने भनाइ छ। त्यो पनि एउटा कारण हुन सक्छ। त्यस बाहेक राम्रो अवसर खोजेकाले पनि हो मानिस बसाइँ सरेका।”
तर चौबिसेको वडा नं. ३ का वडाध्यक्ष मदन तुम्सा भन्छन्, “यहाँबाट अत्यधिक मानिस बसाइँ सर्नुको कारण यो ठाउँ सुक्खा हुनु हो। यहाँको उत्पादनले मानिसलाई दुई/तीन महीना पनि पुग्दैन। कुरुलेको मान्छे पैसा भएर बसाइँ सरेको होइन, यहाँ बस्नै नसकेर हिंडेको हो। ७०/८० प्रतिशत मानिस यहाँ केही नहुने देखेर नै बसाइँ सरेका हुन्।”
सधैंको खडेरी, सधैंको अनिकाल ! अनि मान्छे नघटून् कसरी!
तमर किनारका बासिन्दा भोकाएका मात्र छैनन्, तिर्खाएका पनि छन्। मानिस घटाउने महामारी फैलाउने तिर्खा र अरू कारणबारे यस शृंखलाको अर्को अंकमा।
(यो रिपोर्ट बारबारा फाउन्डेशनको लेखनवृत्तिअन्तर्गत तयार गरिएको हो। यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)