देउवाले बोलाए कांग्रेस संसदीय दल कार्यसमितिको बैठक
नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक बोलाएका छन्।
गृहमन्त्री रवि लामिछानेसँगै देशभरका सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ। यसैलाई लिएर संसद्मा विरोध जनाउँदै आएको छ।
कांग्रेसले चैत २७ गते बस्ने प्रतिनिधि सभाको बैठकअघि संसदीय छानबिन समिति गठन हुनुपर्ने अल्टिमेटम दिएको छ। त्यतिन्जेल समिति गठन नभएमा संसद् चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ।
त्यसअघि चैत २७ गते बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ। बैठकमा संसद्को आगामी बैठकको तयारीका विषयमा छलफल हुने जनाइएको छ।