अर्जुनको शतकले पनि जोगिएन नेपाल, आयरल्यान्डसँग ६९ रनले पराजित
एकदिवसीय शृंखलाको अन्तिम खेलमा पनि नेपालको ‘ए’ टोली आयरल्यान्ड वुल्भ्ससँग पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल आयरल्यान्डसँग ६९ रनले पराजित भएको हो। आयरल्यान्डले दिएको २८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.४ ओभरमा २१५ रनमै समेटिएको छ।
नेपालका लागि अर्जुन कुमालले शतक प्रहार गरे। उनले ११८ बलमा १४ चौका प्रहार गर्दै १०२ रन बनाए।
त्यस्तै, अर्जुन साउदले ३६, नरेन भट्ट र रूपेश सिंहले १५-१५ तथा देव खनालले ११ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
आयरल्यान्डका लागि बेन ह्वाइटले पाँच, गेभिन होएले चार र म्याथ्यु फोस्टरले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको आयरल्यान्डले नौ विकेटको क्षतिमा २८४ रन बनाएको थियो। आयरल्यान्डका लागि प्रारम्भिक ब्याटर स्टेफनले शतक प्रहार गरे। उनले १२९ बलमा आठ चौका र दुई छक्काको मद्दतले १०७ रन बनाए।
त्यस्तै, पेटर मूरले ४४, म्याथ्यु हमफेयर्सले २३, मोर्गन टपिङले २१, फिन ह्यान्डले २०, बेन ह्वाइटले १९ र गेभिन होएले १४ रन बनाए।
नेपालका लागि रिजन ढकाल र रञ्जित कुमारले तीन-तीन तथा विकास आग्री र शहाब आलमले एक-एक विकेट लिए।
यससँगै एकदिवसीय शृंखला आयरल्यान्डले जितेको छ। तीन खेलको शृंखलामा नेपालले एउटा खेल पनि जित्न सकेन।