गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिए शपथ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आइतबार शपथ लिएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री अधिकारीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्। नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता अधिकारी आइतबार नै मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र सांसदले समर्थन गरेका थिए।
गण्डकी प्रदेश सकारमा दुई जना मन्त्री पनि नियुक्त भएका छन्। माओवादीबाट हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका हुन्। दुवै जनाले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई जिम्मेवारी दिन बाँकी छ।
नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। कांग्रेसका प्रदेश सभामा २७ सांसद छन्।
मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई लिएर कांग्रेसले असन्तुष्टि जनाएको छ। यस विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने भएको छ।
नवनियुक्त मुख्यमन्त्री अधिकारीले एमालेका २० सांसदसँगै माओवादीका सभामुख सहित आठ र स्वतन्त्र सांसदको समर्थन देखाएका थिए। सभामुखको समर्थनलाई लिएर कांग्रेसले विरोध जनाएको हो।
यसअघि कोशी प्रदेशमा पनि सभामुखको हस्ताक्षर गराएर उद्धव थापा मुख्यमन्त्री बनेका थिए। सर्वोच्च अदालतले असंवैधानिक भन्दै नियुक्ति बदर गरेको थियो।