लुम्बिनीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महरासँगै तीन जना मन्त्रीले शपथ लिएका छन्।
आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) सहित ४८ सांसदको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन्।
उनीसँगै तीन जना मन्त्रीले पनि आइतबार शपथ लिएका छन्। एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बनेका छन्। उनीहरूको जिम्मेवारी तोकिन बाँकी छ।