कांग्रेसले भन्यो- गण्डकीमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक
गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असहमति जनाएको छ।
राजीनामा नदिईकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु ‘असंवैधानिक’ भएको कांग्रेसको भनाइ छ। कांग्रेस संसदीय दलका तर्फबाट प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पठाइएको पत्रमा समर्थन गरेका भनिएका ३१ जना प्रदेश सभा सदस्यको हस्ताक्षरको आधिकारिक सनाखत हुनुपर्ने माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।
सभामुख पद तटस्थ हुने भन्दै सरकार गठनको जोडघटाउमा सभामुखको प्रयोग असंवैधानिक भएको कांग्रेसको भनाइ छ। “अहिले गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको हाम्रो ठहर छ,” सचेतक न्यौपानेले भने। यसका विरुद्ध सर्वोच्च अदालत जाने उनको भनाइ छ।
प्रदेश प्रमुख भट्टले नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका छन्। संविधानको धारा १६८ (२) बमोजिम अधिकारी मुख्यमन्त्री बनेका हुन्।
यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र)का आठ (सभामुख सहित) र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जनाको समर्थनमा मुख्यन्त्रीमा दाबी गरेका थिए। ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री बन्न ३१ सांसदको समर्थन चाहिन्छ।
दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने सरकार गठनको प्रक्रियामा सामेल छैन। प्रदेश सभाका कांग्रेसका २७ सांसद छन्।