खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।
आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मिलिजुली सरकारको मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद ढकालले बताए।
उनी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र गरी ३१ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनले मुख्यमन्त्री दाबी गर्न प्रदेश सभा सभामुखको पनि समर्थन बुझाएका थिए।
उनलाई एमालेका २२, माओवादीका सभामुख सहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले समर्थन जनाएका हुन्।सभामुखलाई गणना नगर्दा बहुमत पुग्दैन।
यसअघि कोशी प्रदेशमा सभामुखको हस्ताक्षरमा मुख्यमन्त्री बन्दा सर्वोच्च अदालतले उद्धव कार्कीको नियुक्ति बदर गरेको थियो। उनी सभामुखको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री बनेका थिए।
त्यस्तै, गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद छन्। राप्रपाले कसैलाई पनि समर्थन नगर्ने जनाउँदै आएको छ।
प्रदेश प्रमुखको कार्यालयले आजै अपराह्न ३ बजे शपथ ग्रहणको कार्यक्रम रहेको जनाएको छ।