‘मुकाम रणमैदान’ नियालेको समीक्षा नियाल्दा
तात्कालिक लेखनपद्धति बुझ्नु वा नबुझ्नु अलग कुरा भयो। आजका पाठकले त्यस्तो पद्धति नबुझ्ने हुनाले त्यसलाई परिवर्तन गर्नु बेग्लै कुरा हो। पुरानो कुरा बुझाउनुपर्छ तर त्यो बुझाउनका लागि तैंले पनि पुरानो पद्धति अनुसार नै पढ्नुपर्छ भन्नु हठ हो।
‘मुकाम रराामैदान’ नियाल्दा शीर्षकमा मेरो किताबबारे समीक्षा गरिदिनुभएकोमा विद्वान् महेशराज पन्त र प्रकाशन गर्ने हिमालखबरप्रति हार्दिक आभार प्रकट गर्दछु।
समीक्षामा पन्तज्यूले मेरो किताबको मूल्यांकन जसरी गर्नुभएको छ त्यसबाट मैले हौसला पाएको छु। मेरो क्षमताका सीमाले गर्दा जेजस्ता गल्ती भएका छन् ती औंल्याइदिनुभएकोमा उहाँप्रति आभारी छु। अर्को संस्करणमा सच्याउने प्रण गर्छु।
समीक्षामा उठाइएका केही विषयबारे स्पष्ट पार्नुपर्ने अनि जानकारी दिनुपर्ने भएकाले ती कुरा लेख्ने जमर्को गरेको छु।
पन्तज्यूले भन्नुभएको छ- ‘मलाई खट्केको कुरा के छ भने, नेपाल-अंग्रेज युद्धको विषयमा ३०० पृष्ठको सिंगो पुस्तकमा पूर्वपीठिकाका रूपमा एउटा छुट्टै अध्याय नलेखिनु।’ प्राज्ञिक कर्मका लागि यो चाहिन्थ्यो होला, तर मेरो यो कर्म प्राज्ञिक नभएकाले मैले यसो गरिनँ।
‘अमरसिंहले सरकारी पैसा मासे भन्ने कुरामा केही न केही सत्यता अवश्य होला भनी तर्क गर्न कता कता मन लाग्छ,’ पन्तज्यूले लेख्नुभएको छ। मैले पाएका कागजले सरकारी पैसा मासेको भन्ने कुरा असत्य देखिने हुनाले मैले त्यसो लेखेको हुँ।
तर्क गर्न मन लाग्नुपर्छ। यस्तै तर्कले थप कुरा खोज्न र सत्यको नजिक पुग्न प्रेरित गर्छ। पन्तज्यूको तर्कलाई पुष्टि गर्ने प्रमाण आएमा म मेरो कुरा सच्याउँछु। हाललाई उहाँको तर्क र यत्तिकै विश्वास नगर्ने विद्वान्को बानीको आदर गर्छु।
उति वेला अपवादका रूपमा सौरमान पनि चलाइन्थ्यो भन्ने पन्तज्यूको कुरामा कोही असहमत हुनु हुँदैन। पन्तज्यूले चान्द्रमानलाई सौरमानमा कसरी बदलिएको हो भनी बताइदिएको भए हुन्थ्यो भन्नुभएको छ। यो कुरा त्यति महत्त्वपूर्ण नलागेर मैले उल्लेख गरेको थिइनँ। जुन यसप्रकार छ : पुरानो पात्रो खोजेर र त्यसमा तिथि गणना गर्ने मेरो क्षमता छैन। त्यसैले यो काम कसरी गर्ने होला भनेर निकै खोजी गरें। पन्तज्यूसँग पनि मैले यस विषयमा कुरा गरेको थिएँ। उहाँले ‘पछि हेरौंला न’ भन्नुभएको थियो। तर धेरै समय लाग्ने यो काममा उहाँलाई गुहार्न आँट मैले गरिनँ। यस्तैमा एउटा साइट फेला पारें। त्यसमा चान्द्रमान, सौर्यमान र ग्रेगोरियन मिति हुँदो रहेछ। पूर्णिमामा छापिएकामध्ये २०/२२ वटा चिठीमा उल्लेख भएका चान्द्रमानलाई मैले त्यही साइटका सहायताले सौर्यमानमा बदलें र पूर्णिमामा छापिएका सौर्यमानसँग दाँजेर हेरें। यसो गर्दा सबै मिलेको पाएँ। बार र ग्रेगोरियन पात्रोसँग मिल्छ कि मिल्दैन भनेर पनि हेरें। ती पनि मिलेको पाएपछि मैले त्यसलाई भरपर्दो ठानें। ती साइटहरू यहाँ छन्
१
२
३
पन्तज्यूले भन्नुभएको छ, ‘आकरबाट उद्धरण गर्दा जस्ताको तस्तो उद्धरण गर्नु अन्वेषकको धर्म हो। आकरका केही कुरा कालान्तरमा दुर्बोध्य हुँदा शोधकले मूलको वाक्य नखजमज्याई टिप्पणीमा वा अन्त कतै कुरा खुलस्त पार्ने चलन छ। तर यहाँ उद्धरणचिह्नभित्रै आकरका मूल वाक्यसँगसँगै ग्रन्थकारको तर्फबाट थपिने प्रक्रिया (ए-ऐ पृ.) अन्वेषणपद्धतिभित्र पर्दैन। यसैगरी कागजातका वर्णविन्यासलाई प्रचलित रूपमा परिवर्तित गर्नु (ऐ-ओ पृ.) पनि अन्वेषकको धर्म होइन।’
एकदमै सही। मेरो पेशा पत्रकारितामा पनि यसो गर्न पाइँदैन। तर मलाई समस्या के थियो भने, जस्ताको तस्तै राख्दा त्यो आमपाठकले पढिसक्नु र बुझिसक्नु हुँदैन। यस्तो अवस्थामा मूल पाठको सार खिचेर लेखिदिनुपर्छ, उद्धरण चिह्नभित्र राख्नु हुँदैन। तर उद्धरण चिह्नभित्र नराख्दा कुन कुरा स्रोतले भनेको र कुन कुरा मैले भनेको भन्ने नछुट्टिने भयो। अनुच्छेद बदल्दा हुन्छ कि भनेर पनि हेरें, त्यसो गर्दा धेरै ठाउँमा अनुच्छेद जथाभावी बदल्नुपर्यो। त्यसैले मैले मेरो भाषामा लेखेका कुरालाई पनि उद्धरणभित्र राख्नुपरेको हो। त्यसैले मैले किताबमा यस्तो अनुरोध गरेको छु- ‘...यस किताबमा उद्धरण चिह्नभित्र राखिएका जानकारी स्रोतबाट लिएर जस्ताको तस्तै राखिएका हुन् भन्ने नठानिदिनुहोला। जस्ताको तस्तै सामग्री चाहिएमा तिनका स्रोत हेरिदिनुहोला।’
पाठकलाई सजिलो हुने गरी लेख्दा पनि स्रोतको र मेरो भनाइ छुट्टिने विधि थाहा भएका दिन त्यही विधि अवलम्बन गर्छु।
पन्तज्यूले भन्नुभएको छ, ‘वास्तवमा हाम्रा भाषामा त्यस्तो खालका चिह्न (उद्धरण, पूर्णविराम, अर्धविराम र विस्मयादिबोधक चिह्न) को प्रयोगै नगरीकन भावबोध हुने हुनाले...।’ बौद्धिक जगत्को कुरा म भन्न सक्दिनँ तर आममान्छेले बुझ्ने गरी लेख्नुपर्ने मेरो पेशामा चाहिं यो कुरा सोच्न पनि सक्दिनँ।
त्यसपछि उहाँले लेख्नुभएको छ, ‘तात्कालिक लेखनपद्धति नबुझेको त देखिई नै हाल्यो, त्यसमाथि पुराना लेखको सम्पादन गर्दा उचित न्याय नगरेको पनि स्पष्ट भयो।’
तात्कालिक लेखनपद्धति बुझ्नु वा नबुझ्नु अलग कुरा भयो। आजका पाठकले त्यस्तो पद्धति नबुझ्ने हुनाले त्यसलाई परिवर्तन गर्नु बेग्लै कुरा हो। पुरानो कुरा बुझाउनुपर्छ तर त्यो बुझाउनका लागि तैंले पनि पुरानो पद्धति अनुसार नै पढ्नुपर्छ भन्नु हठ हो। नयाँ पुस्तालाई पुराना कुरा दिंदा नयै शैलीमा दिनुपर्छ। उद्धरणभित्र राख्दाका हकमा फेरबदल गर्न हुँदैन भन्ने कुराबारे माथि नै सहमत भइसकेको छु।
मूल पाठ बाहिरको, स्पष्टीकरण खण्डको एउटा प्रसंगमा उहाँले लेख्नुभएको छ- ‘...त्यस्ता विषयमा लेख्दा ‘नेपाली कमान्डरहरूले यी दुई गार्डनर दाजुभाइ भएको उल्लेख गरेका छन्। जोन पेम्बलका अनुसार यी दाजुभाइका छोरा हुन्’ (औ पृ.) लेखी टारिएको छ। कुन चाहिं नेपाली कमान्डरको कुन चाहिं पत्रमा यो कुरा आएको छ, जोन पेम्बल (विसं १९९८ मा जन्म)को दि इन्भेझन् अफ् नेपाल् (अक्स्फोर्डः क्लारेन्डन प्रेस, ईसं १९७१)को कति पृष्ठमा यो कुरा छ भनी खुलाइएको भए राम्रोसँग जान्न खोज्नेलाई अझ सजिलो हुन्थ्यो।’
यति धेरै सानामसिना कुराको स्रोत खुलाउन थाल्दा किताबमा मूल पाठभन्दा स्रोत धेरै होला भन्ने डर लागेर त्यसो गरेको हुँ।
विद्वान्हरूले त्यसो गर्ने चलन रहेछ। यहाँ म उही जोन पेम्बलले आफ्नो किताब (Pemble, John. 1971. The Invasion of Nepal. Oxford University Press.) को ‘एब्रिभियशन’ राखेको पृष्ठमा लेखेका केही वाक्यतिर ध्यानाकर्षण गराउँछु। उनले लेखेका छन्- ‘छापिएका सामग्रीबाट तथ्यांक र उद्धरण लिंदा तिनको स्रोत उल्लेख गरेको छु र राजनीतिक रूपले महत्त्वपूर्ण स्रोत पनि उल्लेख गरेको छु। सैनिक अनि जीवनीसँग सम्बन्धित र विशेष खालका स्रोत जान्न चाहने विशेषज्ञहरूलाई लन्डन विश्वविद्यालयको सिनेट हाउस पुस्तकालयमा राखिएको टाइपस्क्रिप्ट संस्करण हेर्न निम्ता दिन्छु।’
पेम्बलको यो किताब उनको पीएचडी थिसिस हो। अध्ययन र अनुसन्धानका कडा नियम पालना गरेर तयार गरिएको सामग्रीलाई किताब बनाउँदा त सबैका सबै जानकारीका स्रोत खोल्नुपर्दो रहेनछ, त्यस्ता स्रोत आफूले पीएचडी गरेको विश्वविद्यालयमा राखिदिंदा हुँदो रहेछ भने प्राज्ञिक जगत्का कठोर नियम पालना गरेको दाबी नगर्ने म बबुराले झिनामसिना जानकारीको स्रोत किताबमा नदिएको कुरालाई ‘टारिएको‘ भन्न मिल्ने देखिएन।
पन्तज्यूको यो भनाइ आएपछि मैले असामान्य खालका जानकारीका स्रोत समेत भएको संस्करण तयार गर्न आवश्यक ठानेको छु। समयले साथ दिएमा यस्तो संस्करण तयार गरी त्यसको एकप्रति राखिदिन कुनै पुस्तकालयलाई अनुरोध गर्नेछु। यो काम नभइन्जेल यस्ता जानकारीको स्रोत खोज्न मलाई सम्पर्क गर्ने कष्ट गर्नुपर्ने भयो। तालीम, छलफल र कक्षा जस्ता सामूहिक रूपमा गर्ने काम बाहेक अरूलाई थाती राखेर पनि यस्तो जानकारी दिने गरिआएको छु, गरिरहनेछु।
पादटिप्पणी राख्ने प्राज्ञिक चलन आमपाठकलाई अनुकूल नभएकाले दोहोरिने भए पनि पाठकलाई सजिलो हुने तरीका उपयोग गरेको छु। प्राज्ञिक वर्गका लागि यो कुरा पक्कै बिझाउँछ। मेरो ध्यान आमपाठकलाई नबिझाओस् भन्नेमा गएको छ। पादटिप्पणी हेर्न अप्ठ्यारो हुनुभन्दा दोहोरिनु उपयुक्त हुने ठानेको छु।
यस्तै, मण्डला मूल लडाइँको कुरा नभएकाले त्यसको भौगोलिक अवस्थिति खुलाउन जरुरी नदेखेको हुँ। पत्ता लगाउन नसकेका केही बाहेक अरू ठाउँको अवस्थिति खुलाएको छु।
माइला गुरुज्यूको पद मात्र नदिई खोजमेल गरेर नाम दिएको हुन्थ्यो भन्ने चाहनाको सम्मान गर्छु तर नाम नभए पनि खासै फरक नपर्ने अवस्थामा नाम खोज्ने काममा अति धेरै मेहनत गर्न जाँगर चलेन। त्यो शक्ति सार्थक काममा लगाएँ।
अहिलेको अफगानिस्तान पहिले काबुल थियो, त्यही नाम चलाएको भए हुन्थ्यो भन्नु सोह्रै आना ठीक हो। तर मैले किताबभर पुरानो नामका सट्टामा हाल प्रचलित नाम चलाउने शैली अपनाएको छु। पुरानै नाम चलाएको भए ‘नेपाल’ होइन ‘गोरखा’, ‘काठमाडौं’ होइन ‘कान्तिपुर’ आदि भन्नुपर्थ्यो।
पन्तज्यूले ‘डिभिजन’ र ‘फर्सावर्दार’ भन्ने शब्दको अर्थ खुलाएको छैन भन्नुभएको छ। यी लगायतका केही शब्दका अर्थ मैले विश्वस्त हुने गरी फेला पारिनँ। फर्सावर्दारको उदाहरण लिऊँ- सामान्य रूपले हेर्दा फर्सा भनेको बन्चरो र वर्दार भनेको धारी अर्थात् बन्चरे हो। बन्चरो त दाउरा काट्ने पो हुन्छ, सिपाही हुन्छ?
मैले भेटेका चिठीमा यो पदको एक जना भेटेको छु। ती हुन् कोकिल। नेपाली कागजात अझ उनैले लेखेका अर्जीमा समेत उनको थर छैन। लडाइँ थामिएपछि लेखेको एउटा अर्जीमा उनले आफ्नो पद फर्सावर्दार लेखेका छन्। अंग्रेजसँगको दोस्रो लडाइँमा कोकिललाई अहिलेको अमलेखगन्जभन्दा माथिको चुरेमा खटाइएको थियो। उनको काम थियो- अक्टरलोनीले नेतृत्व गरेको डरलाग्दो सेनालाई रोक्नु। बन्चरे सिपाहीलाई यति ठूलो जिम्मेवारी दिइन्छ त?
कोकिलका हाकिमहरू प्राण शाह, रणवीर सिंह थापा र दलभञ्जन पाँडेले चाहिं लडाइँको मुखमा उनलाई सुबेदार भनेका छन्। अंग्रेजका कागजातमा उनलाई तोपखाना प्रमुख (र उनको थर खवास) भनिएको छ। कोकिलका कमान्डरले खटाएको कोकिल समेत भएको ४२५ जनाको टोलीमा पाँच वटा तोप थिए। यस हिसाबले कोकिल तोपखाना प्रमुख हुन सक्ने देखिन्छ तर अंग्रेजले तोपखानाको प्रमुख र नेपाली कमान्डरहरूले सुबेदार भनेको सिपाहीले आफैं लेख्दा चाहिं आफूलाई फर्सावर्दार किन भने? यसको लाक्षणिक अर्थ थियो होला।
जुन दिनसम्म मेरा यी प्रश्नको विश्वसनीय उत्तर पाउँदिनँ त्यस दिनसम्म म फर्सावर्दार भनेको यसो हो भन्दिनँ। नेपाल-अंग्रेज लडाइँबारे लेख्न बस्दा म स्पष्ट थिएँ- यो काम गर्दा यस विषयबारे सोध्न सकिने सबै प्रश्नको उत्तर दिने महान् तर मानव जातिले थाम्न नसक्ने दायित्त्वबोधले म ग्रसित हुन्नँ।
मैले अर्थ दिन चाहेर पनि दिन नसकेको अर्को शब्द हो ‘कुप’। यो शब्द लडाइँ थाम्नु वा बन्दूक बिसाउनु भन्ने अर्थमा प्रयोग भएको छ। तर यो शब्द कसरी आयो भन्ने मलाई थाहा भएन। यो कुरा खोज्दा म महान् दायित्त्वले ग्रस्त हुन आँटेको थिएँ। तर आफूले आफैंलाई सम्झाएँ- यो लडाइँबारे लेख्ने म पहिलो मान्छे होइन र अन्तिम मान्छे पनि होइन। पहिले कसैले यसबारे बताइसकेको पनि हुन सक्छ अथवा यो कुरा बताउन सक्ने मान्छे भोलि निस्कला। यो शाश्वत सत्य विद्वान् पाठक र समीक्षकले बुझ्नुभएकै छ। त्यसैले उहाँहरूले मलाई यो विषयसँग सम्बन्धित सबै प्रश्नको उत्तर दिने भारबाट मुक्त गरिदिनुहुनेछ।
मैले उल्लेख गरेको एउटा शब्द ‘धनुषी’ बारेमा पन्तज्यूले भन्नुभएको छ- ‘गोरखाली विजययात्रा नाउँले प्रकाशित एउटा टिपोटमा ‘धनुकि कम्पनि’ पाल्पाको लडाइँको प्रसंगमा आएको कुराको सम्झना अहिले मलाई भयो (दिनेशराज पन्तद्वारा सम्पादित, काठमाडौंः खिलशर्म-राजीवलोचनजोशीस्मारकप्रतिष्ठान, २०७०, ५७ पृ.)। मुकाम रराामैदानमा मूल दस्तावेजबाट सम्बद्ध अंश उतारी नदिइएकाले त्यस्तो सैन्यको नाउँ ‘धनुषी’ हो कि गोरखाली विजययात्रामा लेखिए जस्तै ‘धनुकि’ हो भन्ने प्रश्न उठ्न गएको छ।’
मेरो विचारमा पन्तज्यूका मनमा यो प्रश्न उठ्नु नपर्ने हो। त्यसको कारण यस्तो छ : उहाँले मेरो किताबको समीक्षामा लेख्नुभएको छ- ‘विसं २०२३ मा वीर पुस्तकालयबाट शाहकालीन ऐतिहासिक चिठ्ठीपत्र संग्रह भन्ने नामले शंकरमान राजवंशी (विसं १९८१-२०५६)को सम्पादकत्वमा दुई भागमा कागजात छापिए। तिनमा पहिलो भागमा परेका सबै पत्र र दोस्रो भागमा छापिएकामध्ये पहिलो पत्र अंग्रेजसँगको नेपालको सम्बन्ध वा नेपाल-अंग्रेज युद्धको विषयमा छन्।’
त्यही दोस्रो भागको पहिलो चिठीमा पाल्पाकै प्रसंगमा ‘धनुषी’ भन्ने शब्द परेको छ। त्यो चिठी त्यही धनुषी कम्पनीका कमान्डर कर्णेल उजीरसिंह थापाले अर्थात् आधिकारिक व्यक्तिले, त्यति नै वेला अर्थात् १८७२ मार्गवदि ११ मा लेखेका हुन्। दिनेशराज पन्तद्वारा सम्पादित गोरखाली विजययात्रामा परेको टिपोट घटना भएको समयभन्दा धेरै पछि लेखिएको हो, कुनै आधिकारिक व्यक्तिले लेखेको होइन। नाम सार्न समेत नजान्ने व्यक्तिले लेखेको टिपोट हो त्यो। त्यसमा कतै मिति गल्ती छ, कतै नाम गल्ती सारेको छ भनेर सम्पादकले उल्लेख गर्नुभएको छ। त्यसैले त्यहाँ उल्लेख भएको ‘धनुकि’ र २०२३ सालमै छापिएको, आधिकारिक व्यक्तिले लेखेको चिठीमा उल्लेख भएको ‘धनुषी’ मध्ये कुन सही हो भनी शंका गर्नै पर्दैनथ्यो। प्रथम दृष्टिमै शंका गर्नुपर्ने कागजात आधिकारिक कागजातसँग बाझियो भने आधिकारिक कागजात नै सही ठहरिन्छ भन्ने कुरा मैले भनिराख्नुपर्ने होइन।
पन्तज्यूले उल्लेख गर्नुभएको दिनेशराज पन्तले सम्पादन गरेको किताब छापिएकै वर्ष- २०७० साल फागुन १६ गते- सो किताबका सम्पादक र जनकराज सापकोटाको लेख कान्तिपुर दैनिकमा छापिएको छ- ‘१९८ वर्षअघिको पत्र’ शीर्षकमा।
त्यसमा उहाँहरूले उजीरसिंह थापाले लेखेको पत्रको अंश समेत उद्धृत गर्नुभएको छ जसमा ‘धनुकि’ होइन ‘धनुषी’ शब्द परेको छ। यी सामग्री विद्वान् महेशराज पन्तज्यूले पढ्नुभएको थिएन भनी म कल्पना गर्न सक्दिनँ।
‘धनुषी’ र ‘धनुकि’ को अलमल भएको प्रसंगमा म त्यही सम्पादकीयको शीर्षक उद्धृत गर्न चाहन्छु : सिङ न पुच्छरको हल्लाबाट सावधान!
‘मुकाम रराामैदानमा मूल दस्तावेजबाट सम्बद्ध अंश उतारी नदिइएकाले’ भनी उहाँले किताब लेखकमाथि प्रमाणस्वरूप मूल दस्तावेजबाट सम्बद्ध अंश उतार्नुपर्ने भार थोपरिदिनुभएको छ। यसरी मूल दस्तावेजबाट सम्बद्ध अंश उतार्ने हो भने किताब कत्रो र कस्तो हुँदो हो भनी मैले हिसाब निकालेको छु। त्यस किताबमा मैले ५२६ ठाउँबाट जानकारी लिएको रहेछु। पन्तज्यूले भन्नुभए झैं सम्बद्ध अंश (एउटा ठाउँबाट २० शब्दको मात्र अंश) उतारिदिने हो भने पनि साढे १२ हजार शब्द उतार्नुपर्दो रहेछ। मेरो विचारमा यसो गर्नु भनेको शब्दलाई बर्बाद पार्नु मात्र हो।
अर्को कुरा, लेखकको दायित्त्व आफूले लिएको जानकारी कहाँबाट लिएको हो भनी स्रोत बताइदिनेसम्म हो। मैले धनुषी कम्पनीको प्रसंग भएका, पाल्पा र सल्यानबाट कमान्डरहरूले लेखेका धेरै वटा चिठीका मिति र ती चिठीका हुलिया उल्लेख गरेको छु। कसैलाई कुनै कुराको शंका लाग्यो वा त्यस विषयमा थप जान्ने इच्छा लाग्यो भने स्रोत हेर्ने जिम्मा उसको हो।
तर नेपालको ज्ञानको भण्डार भर्न जीवन दिनुभएका र आफूसँग भएका जानकारी उदार दिलले बाँड्नुहुने पन्तज्यू जस्ता विद्वान्हरूलाई ‘स्रोत हेर्ने जिम्मा तपाईंको हो’ भन्दिनँ। उहाँहरूको उमेर र उहाँहरूप्रतिको श्रद्धाले गर्दा उहाँहरूलाई ‘मेरोमा आउनुस् ती सामग्री म देखाउँछु’ पनि भन्दिनँ। सामग्री बोकेर उहाँहरूले तोकेका (काठमाडौं उपत्यकाभित्रका) ठाउँमा, दुवै पक्षलाई अनुकूल समयमा हाजिर हुन तयार छु।
युवा र यस क्षेत्रमा काम गर्छु भन्न चाहनेलाई राष्ट्रिय अभिलेखालयको अधीनमा भएका स्रोतसम्म आफैं पुग्नुस् भन्छु। अभिलेखालयका सामान्य नियम पूरा गरेपछि ती सामग्री हेर्न पाइहाल्नुहुन्छ। तर परराष्ट्र मन्त्रालयको अधीनमा रहेका सामग्रीसम्म आफैं पुग्नुस् भन्न मन लाग्दैन किनभने त्यहाँसम्म पुग्ने प्रक्रिया अव्यावहारिक र युवाहरूको उत्साह मार्ने खालको छ। त्यसैले उहाँहरू मकहाँ आउनुभयो भने मैले सारेर ल्याएका सामग्री हेर्न र पढ्नसम्म दिन्छु।
मैले ‘बक्सी’ शब्दलाई ‘भँडारे’ भनी उल्लेख गरेको छु। यसबारे पन्तज्यूले लेख्नुभएको छ, ‘‘बख्शी’ शब्दको मूल अर्थ सेनामा तलब बाँड्ने कर्मचारी भन्ने हुने र प्रधानसेनापतिसँग उसको काम गाँसिएको हुने हुनाले यस ओहदाको परिभाषा ‘बक्सी (भँडारे)’ भनी गर्दा अलि अर्थापकर्ष हुन गएको छ।’’
यसलाई म दुई वटा उदाहरणबाट प्रस्ट पार्न चाहन्छु। पहिलो : मुकाम रराामैदानमा उल्लेख भएका शेरउड बक्सी थिए। यो कुरा कर्णेल मबीले आफ्नी जहानलाई लेखेको चिठीमा उल्लेख गरेका छन् (Kelly, Sophia (ed.). 1857. The Life of Mrs. Sherwood. Darton & Co., page 453)। पृष्ठ ४५२ मा शेरउडकी जहानले बक्सी भनेको ‘पेमास्टर’ हो भनेर लेखेकी छन्। शेरउडको काम कर्णेल मबी अन्तर्गत रहेर नालापानीमा खटिएका सैनिकलाई तलब बाँड्नु थियो। यसको अर्थ उनी भँडारे नै हुन्। प्रधानसेनापतिसँग हेलमेल हुने हैसियताका थिएनन्।
नेपालतर्फ के चलन थियो त्यो पनि हेरौं।
अमरसिंह थापाले पाल्पाको श्रीनगरबाट १८६८ साल मिति श्रावण सुदि ६ रोज ६ मा चढाएको अर्जी (सार्वजनिक नभएका परराष्ट्र मन्त्रालयका कागजात, १ सि. १६४, ७५/२२१) अनुसार राजाले बम शाह, काजी बहादुर भँडारी, बक्सी दशरथ खत्रीलाई यस्तो आदेश दिएका रहेछन्- गढकुमाउ, डोटी, जुम्लासम्म मान्छे पठाएर बढिया ठूला लडाकी चाखुरा खोजेर पठाऊ।
यो चिठीको बेहोरा हेर्दा दशरथ खत्री काठमाडौं बाहिर रहेका कुनै पल्टनका बक्सी थिए। उनी प्रधानसेनापतिसँग उठबस गर्ने हैसियतका देखिंदैनन्।
त्यसैले अर्थापकर्ष हुन गएको दोषको भागी कोही छ भने त्यसो गर्ने त्यति वेलाका मानिस हुन्। त्यसबारे अहिले आएर लेख्ने म होइनँ।
पन्तज्यूले आफूले छापेका चिठीको उल्लेख गरेन, मूल स्रोतको मात्र उल्लेख गर्यो भनी लामो गुनासो गर्नुभएको छ। हो, मैले जुन सामग्रीको मूलप्रति नै भेटेको छु ती सामग्रीको मूल स्रोत मात्र उल्लेख गरेको छु। जस्तै, पूर्णिमामा छापिएको कुनै चिठीको मूलप्रति भेटेको रहेछु भने त्यसको मूलप्रति मात्र उल्लेख गरेको छु। कुनै कागजातका प्रतिलिपि जस जसले छपाएका छन् ती सबैको उल्लेख गर्नुपर्छ भन्नु न्यायोचित होइन। पन्तज्यूले भने झैं गर्ने हो भने लेखक र पाठकको के हविगत हुन्छ हेरौं- मानिलिऊँ, राष्ट्रिय अभिलेखालयमा कुनै एउटा चिठी फेला पर्यो र त्यसलाई उद्धृत गर्नुपर्यो। लेखकले त्यो मूल सामग्रीलाई उद्धृत गरेर मात्र पुगेन ‘आफूभन्दा अगाडिका गवेषकको चर्चा’ गर्न अर्थात् मान राखिदिन उसले त्यो सामग्रीका नक्कल यसअघि कस कसले छापेका छन् भनी धुइँपाताल गरी खोज्नुपर्यो किनभने एउटा गवेषकको नाम दिने अरूको नदिने गर्न भएन। खोज्दै जाँदा उसले १५ जना गवेषकले त्यस सामग्रीको नक्कल छपाएको भेट्यो। अनि मूल स्रोतका ठाउँमा मूल स्रोतको नक्कल छपाउने १५ जनाको विवरण दिनुपर्यो। अर्थात्, किताबमा साइटेशनको लामो ताँती लगाउनुपर्यो।
यो काम प्राज्ञिक जगत्मा पनि नहुनुपर्छ। अग्रज गवेषकले आफूभन्दा पछाडिका गवेषकबाट मौलिक सामग्रीको जस खोज्नु जायज हो तर सक्कलप्रतिको नक्कल प्रकाशित गरेको जस खोज्नु व्यावहारिक होइन। मुकाम रराामैदानमा एउटा चिठीको नक्कल छापिएको छ। कसैले त्यो चिठीलाई उद्धृत गर्न चाह्यो भने त्यसको साइटेशनमा मेरो नाम लेख्नु पर्दैन/हुँदैन। सोझै मूल सामग्रीलाई मात्र साइट गरे हुन्छ/गर्नुपर्छ।
विद्वान्हरूले बनाइदिएको बाटोमा सजिलो गरी हिंड्न पाएका म जस्ता मानिसले बाटो बनाइदिनेको गुण बिर्सनु हुँदैन भन्ने मलाई लाग्छ। महेशराज पन्त (र दिनेशराज पन्त) ज्यूहरूले यसबारेमा मौलिक कृति नदिनुभएको भए म मुकाम रराामैदान लेख्न सक्दैनथें। पूर्णिमामा छापिएका ती पत्रहरूले त्यति वेलाका अक्षर र तिनको अर्थ बुझ्न मलाई कसरी मद्दत गरे भन्ने कुरा मैले ऐतिहासिक कागजात खोज्दाको रोमाञ्चक यात्रा मा उल्लेख गरेको छु।
मैले यो किताब लेख्न सहयोग लिएका उहाँहरूका कृति सन्दर्भ सामग्रीमा राखेको छु।
मुकाम रराामैदान प्रेसमा पठाएपछि एउटा प्रकाशनले महेशराज पन्तज्यूका बारेमा लेखिदिन भनेको थियो। ढाड दुखेर कम्प्युटर चलाउन नसक्ने भएका र दुखाइ कम गर्ने समेतका औषधिले लठ्याएका वेला अरू कुनै काम गर्न सकेको थिइनँ। तर महेशराज पन्तका बारेमा लेख्न भनेपछि मैले सुतिसुतीकन कागजमा लेखेर त्यसको फोटो खिचेर पठाएको थिएँ। त्यो कतै छापियो वा छापिएन थाहा भएन। त्यसको अन्त्य मैले यसरी गरेको थिएँ- महेशराज पन्त जस्ता साँच्चैका विद्वान्ले... आफूले मात्र लेखेर/अनुसन्धान गरेर समाजलाई योगदान गर्दैनन् अरूलाई पनि यसो गर्न प्रेरणा, हौसला र मार्गनिर्देशन दिन्छन्। त्यसैले महेशराज पन्तको कीर्ति अरूको भन्दा विशिष्ट छ।
‘मुकाम रराामैदानमा पहिलो पटक उद्धृत वा चर्चित कागजातको पूरा पाठ परिशिष्टमा कतै दिइएको भए यस विषयमा बढी खोज गर्न खोज्नेहरूलाई सजिलो हुन्थ्यो’ भनी पन्तज्यूले उल्लेख गर्नुभएको छ जुन सोह्रै आना जायज छ। ती कागजात हेर्न मैले जुन भुक्तमान खप्नुपर्यो अरूले त्यही भुक्तमान खप्नुपर्यो भने लेखनको काम अघि बढ्दैन्। मैले गरेको त्यो मेहनतबाट अरू अनुसन्धानकर्ताले फाइदा उठाउन पाउँदैनन्। त्यसैले ती कागजातको छुट्टै किताब निकाल्न मन लागेको छ। यस्तो किताब छापेको पैसा उठ्दैन भन्ने थाहा हुँदाहुँदै पनि किताब छाप्ने प्रकाशक भेटिनुभएको छ तर समस्या के छ भने ती कागजात मेरा सम्पत्ति होइनन्, त्यसैले मैले छाप्न पाउँदिनँ।
राष्ट्रिय अभिलेखालयको स्वामित्वमा भएका कागजात छाप्न त अनुमति पाइएला भन्ने आशा छ तर परराष्ट्र मन्त्रालयको स्वामित्वमा रहेका सामग्री छाप्न मलाई रोक लगाइएको छ (यसरी रोक लगाएको पत्र सार्वजनिक गर्न मन लागेको थिएन तर यस्तो आग्रह मलाई बारम्बार आउने गरेको र त्यसो गर्न अर्थात् आफूले भेला गरेका सामग्री अरूलाई दिन मैले कन्जुस्याइँ गरे जस्तो देखिने हुनाले मलाई त्यसो गर्न रोक लगाउने पत्र सार्वजनिक गरेको छु)।
यो नाजायज रोक कुनै दिन हट्ला र ती कागजात प्रकाशित गर्न थप मेहनत गर्न पाउँला भनी म कम्मर कसेर बसेको छु। तर ज्ञानसँग डराउने सत्ताबाट शासित हुनुपर्ने हाम्रो हालको अवस्था नफेरिएसम्म पन्तज्यूको अनि समग्र विद्वद्वर्गको यो चाहना पूरा हुन असम्भव छ।
अहिलेलाई यत्ति भनूँ- यसो गर्ने अवसर मिलोस् भनी मलाई आशीर्वाद दिनुहोस्। समाजको उन्नतिका लागि नि:स्वार्थ ढंगले गुणस्तरीय काम गर्ने तपाईंहरू जस्ता विद्वान्को आशीर्वाद कलियुगमा पनि लाग्न सक्यो भने म यो काम गर्न पाउँला!
यो पनि,
‘मुकाम रणमैदान’ नियाल्दा
ऐतिहासिक कागजात खोज्दाको रोमाञ्चक यात्रा