द्वन्द्वकालको कथामा जेबीले ल्याए ‘मारीखोलाको ढुंगो’
जेबी दर्लामीको उपन्यास मारीखोलाको ढुंगो सार्वजनिक भएको छ। लेखक दर्लामीले यो उपन्यासको कथा-कालमा जन्मिएकी ईभा काफ्लेलाई पुस्तक हस्तान्तरण गर्दै पब्लिकेशन नेपालयको आरशालामा कृति लोकार्पण गरिएको हो।
नेपालमा संकटकाल हुँदा जन्मिएकी, काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत ईभाले सशस्त्र द्वन्द्वबारे आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुंगो’ पढ्दाको अनुभूति सुनाएकी थिइन्। आफ्नो उपन्यासबारे नयाँ पुस्ताबाट मन्तव्य सुन्न पाउँदा दर्शकदीर्घामा बसेका लेखक दर्लामी आँसु पुछिरहेका थिए।
समाजविज्ञानको विद्यार्थी भए पनि आफूहरूले द्वन्द्वकालबारे पढ्न नपाएको बताउँदै ईभाले चिन्दै नचिनेको देश हामीले कसरी बनाउने भन्ने प्रश्न गरिन्। “देशले विगतमा के भोग्यो? हामी कहाँबाट आयौं? अहिले कहाँ छौं? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ,” उनले पठन अनुभव सुनाउँदै भनिन्, “नेपाली किताब पढ्नै सक्दिनँ जस्तो लाग्थ्यो, तर मलाई यो उपन्यासको मीठो भाषाले बोलायो, हाम्रो देशको वास्तविक धड्कन सुनायो।”
आफ्नो पुस्तक विमोचनका लागि दुई दिनअघि मात्र बुटवलबाट काठमाडौं आइपुगेका लेखक दर्लामीले आफ्नो बाल्यकाल र लेखन यात्राको अनुभव बाँडे। अहिले पनि बाटोघाटो र बिजुली नपुगेको अर्घाखाँचीको सिलिङखोलामा जन्मेका उनले मारीखोलाको ढुंगो उपन्यास लेख्दाको अनुभव पनि सुनाए।
“घर नजिक स्कूल नभएको र आमालाई छोड्न नसक्ने आफ्नै भावुक स्वभावले गर्दा मैले स्कूल तह पनि पूरा गर्न सकिनँ। पढ्ने वेला पढ्न नपाएको भोकले हुन सक्छ, मलाई शब्दसित गहिरो प्रेम छ,” उनले भने, “म जस्तो विकटमा बसेर लेख्नेको किताब कसले छाप्ला र भन्ने ठानेको थिएँ, तर म गलत ठहरिएँ।”
आफूले केही भोगेको, केही देखेको र केही महसूस गरेको समयलाई उपन्यासमा इमानदारीपूर्वक उतारेको उनले बताए।
दर्लामीका यसअघि दुई उपन्यास र शोधमूलक पुस्तक नेपालको राजनीतिमा अर्घाखाँची प्रकाशित छन्।
द्वन्द्वकालमा केही समय प्रत्यक्ष संलग्न हुन पुगेका दर्लामीको यो कथावाचनलाई प्रथम पुरुष दृष्टिबिन्दुमा भनिएको छ।
पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले नेपाली समाजको संघर्ष, सपना र यथार्थ चित्रण गर्ने आख्यान र गैरआख्यान दुवै विधाका पुस्तक प्रकाशन गर्दै आएको बताउँदै मारीखोलाको ढुंगोले आफूहरूको प्रकाशन सूचीलाई थप सबल बनाएको खुशी साटिन्।
१३४ पृष्ठको उपन्यासको मूल्य ३४५ रुपैयाँ छ। देशभरका पुस्तक पसलमा उपलब्ध यो पुस्तक विश्वभरका पाठकले अमेजनबाट खरीद गर्न सक्ने र थुप्रै डट कमबाट यसको इबूक पनि किन्न सकिने पब्लिकेशन नेपालयले जनाएको छ।