इलाममा २० जनाको उम्मेदवारी
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम-२ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजनीतिक दलका १२ जना र स्वतन्त्र आठ जनाले उम्मेदवारी दिएका छन्। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने सबै पुरुष छन्।
इलाममा राजनीतिक दलबाट नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा (एमाले)का सुहाङ नेम्वाङ, नेकपा (एकीकृत समाजवादी)का जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का श्यामबहादुर दर्जी, मंगोल न्याशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले उम्मेदवारी दिएका छन्।
त्यस्तै, राप्रपाका लक्ष्मी गुरुङ, राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलका जयवन्तविक्रम शाह, नेपाली जनता दलका रेशमबहादुर सुनार र न्याशनल रिपब्लिक पार्टीका धनराज राना मगरले पनि उम्मेदवारी दिएका छन्।
उपनिर्वाचनमा अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, डकेन्द्रसिंह लिम्बू, डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो। निर्वाचन आयोगले उम्मेदवारका विरुद्ध चैत २५ मा उजुरी दिने समय तोेकेको छ। त्यसपछि चैत २६ गते उजुरीमाथि जाँचबुझ गर्ने भएको छ।
त्यस्तै, चैत २७ गते उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ। त्यही दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने चुनाव चिह्न प्रदान गरिनेछ।
आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।
निर्वाचन आयोगका अनुसार गत निर्वाचनको तुलनामा उपनिर्वाचनका लागि इलाम ४२२ जना र बझाङमा ६३८ मतदाना बढेका छन्। अहिले इलाम २ मा एक लाख १५ हजार ८८९ मतदाता छन् भने बझाङ १ ‘क’ मा ६१ हजार ६४८ मतदाता छन्।
यो पनि पढ्नुहोस् : बझाङमा १२ जनाले दिए उम्मेदवारी