बझाङमा १२ जनाले दिए उम्मेदवारी
प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि बझाङ १ ‘क’ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ वटा राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ। उम्मेदवार ढिलो गरी आएपछि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको निर्वाचन कार्यालयका प्रदेश प्रमुख प्रेमराज भट्टले बताए।
बझाङमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेपाली जनता दलका अशोक सुनार, न्याशनल रिपब्लिक नेपालका कमल घर्ती मगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोरकुमार खड्का, नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का खगेन्द्रबहादुर शाही र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले उम्मेदवारी दिएका छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा (एमाले)का दमनबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह, जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री र जनमत पार्टीका सुशीलादेवी विष्टले उम्मेदवारी दर्ता गराएका छन्।
इलाममा माओवादीले एमालेलाई समर्थन गरे पनि बझाङमा भने सत्ता गठबन्धनमा रहेका सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्।
निर्वाचन आयोगले उम्मेदवार विरुद्ध चैत २५ मा उजुरी दिने समय तोेकेको छ। त्यसपछि चैत २६ गते उजुरीमाथि जाँचबुझ गर्ने भएको छ।
त्यस्तै, चैत २७ गते उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ। त्यही दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने चुनाव चिह्न प्रदान गरिनेछ।
आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।
निर्वाचन आयोगका अनुसार गत निर्वाचनको तुलनामा उपनिर्वाचनका लागि इलाम ४२२ जना र बझाङमा ६३८ मतदाता बढेका छन्। अहिले इलाम २ मा एक लाख १५ हजार ८८९ मतदाता छन् भने बझाङ १ ‘क’ मा ६१ हजार ६४८ मतदाता छन्।
यो पनि पढ्नुहोस् : इलाममा २० जनाको उम्मेदवारी