सुनसरीमा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय अपील
सुनसरीका जनप्रतिनिधि र राजनीतिक दलले सामाजिक एकता र सद्भाव कायम राख्न अपील गरेका छन्।
प्रदेश सभा सदस्य, नगरपालिकाका मेयर तथा गाउँपालिका अध्यक्ष र राजनीतिक दलका प्रमुखले संयुक्त अपील जारी गरी संयम अपनाउन आग्रह गरेका हुन्। उनीहरूले सामाजिक सद्भावमा खलल पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि अपील गरेका छन्।
“मिश्रित बसोबास रहेको हाम्रो नेपाली समाज एकआपसमा आपसी भाइचारा कायम गरी बस्दै आएकोमा पछिल्लो घटनाक्रमलाई लिएर केही अराजक तत्त्वले सामाजिक सद्भाव बिथोल्न खोजेकोप्रति हामी सबै राजनीतिक दल खेद व्यक्त गर्दछौं,” अपीलमा भनिएको छ, “सबै धर्म एवं सम्प्रदायबीच आपसी एकता, सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न र हाल घटेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”
सामाजिक सञ्जालमा प्रचार गरिएका अभिव्यक्तिका कारण सुनसरीका केही स्थानमा झडप भएका छन्। जसले गर्दा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।
यस्तो अवस्थामा सामाजिक सद्भावमा खलल पुग्ने अभिव्यक्त नदिन राजनीतिक दल र जनप्रतिनिधिले अनुरोध गरेका हुन्। उनीहरूले अपीलमा भनेका छन्, “सामाजिक सञ्जालमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भाव खलल पुर्याउने किसिमका अभिव्यक्ति तथा सामग्रीहरू पोस्ट गरेको पाइएकाले यस प्रकारका गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरिन्छ।”