कांग्रेसबाट डम्बर खड्काले दिए इलाममा उम्मेदवारी
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम-२ मा नेपाली कांग्रेसबाट डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस नेता तथा कार्यकर्ता सहित शनिबार अपराह्न प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका खड्काले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै खड्काले गत निर्वाचनमा थोरै मतले पराजित भएको उल्लेख गर्दै यस पटक इलामका मतदाताले अत्यधिक बहुमतले जिताउने बताए।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा एमाले उम्मेदवार सुवास नेम्वाङ निर्वाचित भएका थिए। नेम्वाङले ३० हजार २० मत पाएका थिए भने खड्काले २९ हजार ९०६ मत पाएका थिए।
नेम्वाङको निधन भएपछि रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। त्यसका लागि आज बेलुका ५ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ।
अहिलेसम्म सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्याम दर्जी र नेकपा (एकीकृत समाजवादी)का जीतबहादुर राईले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू उम्मेदवारी दर्ता गराउने तयारीमा छन्।