इलाममा एमालेबाट सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम-२ मा नेकपा (एमाले)बाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्।
बाजागाजा सहित शनिबार दिउँसो प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धीरेन्द्र शर्मा रमण रहेका छन्।
उम्मेदवारी दर्ता गराउनुअघि उनले राष्ट्रिय विभूति तथा शहीदहरूको शालिकमा माल्यार्पण गरेका थिए। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै इलामका जनताको माया र आशीर्वाद पाउने बताए। “इलामका जनताले मलाई गर्ने माया र भरोसाले उम्मेदवारी दर्ता गरेको छु,” उनले भने।
२०७९ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम-२ बाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए। उनको निधन भएपछि प्रतिनिधि सभा सदस्य पद रिक्त छ।
इलाम-२ मा आउँदो वैशाख १५ गते निर्वाचन हुँदै छ। त्यसका लागि आज बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार अहिलेसम्म जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप), नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का श्याम दर्जी र नेकपा (एकीकृत समाजवादी)का जीतबहादुर राईले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवारमा डाकप्रसाद गौतम र डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराएका छन्।