मध्याह्नसम्म इलाममा चार जनाको उम्मेदवारी दर्ता
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि इलाम-२ मा शनिबार मध्याह्नसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म मंगोल न्याशनल अर्गनाइजेशनका मनिकुमार लिम्बू, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, डाकप्रसाद गौतमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले बताए।
अन्य राजनीतिक दलले उम्मेदवारी दर्ताको तयारी गरेका छन्। नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा (एमाले)बाट सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूले उम्मेदवारी दिने भएका छन्।
प्रतिनिधि सभा सदस्यका लागि आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। त्यसका लागि आज बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।