फेरि रोकियो काठमाडौंको फोहोर, प्रभावित क्षेत्रका बासिन्दाद्वारा अवरोध
बञ्चरेडाँडा ल्यान्डफिलसाइट प्रभावित क्षेत्रका बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध गरेका छन्।
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका बासिन्दाले अवरोध गरेका हुन्। बञ्चरेडाँडा ल्यान्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति (नुवाकोट-धादिङ) ले यसअघिका सहमति कार्यान्वयन तथा मानवबस्तीरहित ल्यान्डफिलसाइट विकास क्षेत्र घोषणाको माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको हो।
समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेश गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहोर विसर्जनमा रोक लगाइएको बताए। आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको ढुंगानाले बताए।
विगतमा भएका सहमति कार्यान्वयन नभएसम्म अवरोध जारी रहने उनले बताए। “फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिँदैनौै,” ढुंगानाले भने।
बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौं र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार ५०० टन फोहर विर्सजन हुने गरेको छ।