गएका १९ वर्षमा नौ हिउँद चरम सुख्खा
यो वर्षको हिउँदका तीन महीना देशका अधिकांश भूभाग चरम सुख्खा रहेको आकडा सार्वजनिक भएको छ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबार सार्वजनिक गरेको गत हिउँदको जलवायु सम्बन्धी प्रतिवेदन अनुसार, देशको अधिकांश भूभागमा गत मध्य मंसीरदेखि मध्य माघसम्म चरम सुख्खाको अवस्था निम्तिएको थियो।
विभागले वर्षाको परिमाणका आधारमा सुख्खाको तहलाई वर्गीकरण गर्छ। जसअनुसार, विगतको औसत वर्षाको तुलनामा ३० प्रतिशतभन्दा कम पानी परेमा त्यस्तो स्थितिलाई चरम सुख्खा मानिन्छ। यो वर्षको हिउँदमा विगतको औसतको तुलनामा २०.८ प्रतिशत मात्रै पानी परेको थियो। यो देशभरिका २० मौसम स्टेशनको रेकर्डको सरदर हो।
विगतको औसतको ३० देखि ५० प्रतिशतसम्म पानी परेमा त्यसलाई गम्भीर सुख्खाको स्थिति मानिन्छ। विभागले औसतको ५० देखि ७५ प्रतिशतसम्म पानी परेमा त्यसलाई सुख्खा भनेर वर्गीकरण गर्छ।
हिउँदको तीन महीनामा सरदरमा ६०.१ मिलिमिटर पानी पर्नुपर्ने हो। तर यो वर्षको हिउँदमा १२.५ मिलिमिटर मात्रै पानी परेको थियो। पछिल्ला १९ वर्षको हिउँदमध्ये १३ वर्षका हिउँदमा सरदरभन्दा कम पानी परेको छ। यसमध्ये पनि नौ वर्षका हिउँद त चरम सुख्खा बितेका थिए (हे. ग्राफ)। यसले हिउँदमा सुख्खापन प्रवृत्तिका रुपमा देखापरिरहेको संकेत गर्छ।
देशभरिका जलवायुको तथ्यांकको रेकर्ड राख्ने १११ मौसम स्टेशनमध्ये ८६ वटाले यो वर्षको हिउँदमा चरम सुख्खाको स्थिति निम्तिएको अर्थात् सरदरको ३० प्रतिशतभन्दा थोरै पानी परेको देखाएका थिए। देशभरिका कुनै स्टेशनले पनि हिउँदमा सरदरजति वा त्यसको छेउछाउ समेत वर्षा भएको देखाएनन्। सबैभन्दा धेरै बाजुराको मार्तडीमा ९०.७ मिलिमिटर पानी परेको थियो, त्यो सरदरको ५९.५ प्रतिशत मात्रै हो।
दमौली, गोरखा, हेटौंडा, नुवाकोट, तानसेन लगायतका स्थानका मौसम स्टेशनले त्यस क्षेत्रमा एक थोपो पनि पानी परेको रेकर्ड गरेनन्।
यो वर्षको हिउँदमा देशको दक्षिणी भागमा विगतको सरदरको तुलनामा अधिकत तापक्रम न्यून भए पनि अन्य भागमा भने सरदर वा सोभन्दा बढी रेकर्ड भएको छ। यसले हिउँद पनि न्यायो भइरहेको संकेत गर्छ।
देशभरिका १११ मौसम स्टेशनमध्ये ३२ वटाले यो वर्ष विगतको तुलनामा अधिकतम तापक्रम धेरै रेकर्ड गरेका थिए। जसमध्ये सबैभन्दा धेरै गौरमा विगतको सरदरको तुलनामा यो वर्षको हिउँदमा अधिकतम तापक्रम ४ डिग्री सेल्सियससम्म बढी देखाएको छ। विगतभन्दा धुलिखेलमा ३.६ डिग्री सेल्सियस, धुनिबेसीमा ३ डिग्री सेल्सियस अधिकतम तापक्रम बढी देखिएको छ।
सुदुरपश्चिम र गण्डकीको दक्षिणी भाग, लुम्बिनी र मधेश प्रदेश, बागमतीको दक्षिणी र पूर्वी भाग तथा कोशीको मध्य र दक्षिणी भागमा विगतको तुलनामा यो वर्ष न्यूनतम तापक्रम समेत सरदरमा धेरै देखिएको छ। यसले ती क्षेत्रमा जाडोका महीना धेरै चिसो हुन नपाएको देखाउँछ। इलामको कन्याममा विगतको सरदर न्यूनतम तापक्रमको तुलनामा यो वर्ष ३ डिग्री सेल्सियस बढी न्यूनतम तापक्रम रेकर्ड भएको छ।